मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विश्वकपअन्तर्गत सुपर–१२ मा अस्ट्रेलियाविरुद्ध चौका प्रहार गर्दै न्युजिल्यान्डका बायाँहाते ब्याट्सम्यान डेभोन कोन्वे । तस्बिर : एजेन्सी
एजेन्सी सिड्नी
२०७९ कार्तिक ६ आइतबार ०७:१२:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप क्रिकेट : विश्व च्याम्पियन अस्ट्रेलिया ८९ रनले पराजित

Read Time : > 2 मिनेट
एजेन्सी सिड्नी
२०७९ कार्तिक ६ आइतबार ०७:१२:००

दुई सय एक रन पछ्याएको साबिक विजेता अस्ट्रेलिया १७.१ ओभरमा एक सय ११ रनमा समेटियो

साबिक विजेता अस्ट्रेलिया आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पराजित भएको छ । प्रतियोगिताअन्तर्गत सुपर १२ को समूह १ मा पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा तीन विकेट गुमाएर दुई सय रन बनाएको थियो । प्रत्युत्तरमा घरेलु टोली अस्ट्रेलिया १७.१ ओभरमा एक सय ११ रनमा अलआउट हुँदा न्युजिल्यान्ड ८९ रनले विजयी भयो । अस्ट्रेलियामाथि सानदार जित निकाल्दा न्युजिल्यान्डका डेभोन कोन्वेले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा ५८ बलमा ९२ रन तथा फिल्डिङमा दुई क्याच लिए । यसै अलराउन्ड प्रदर्शनका आधारमा उनी खेलकै म्यान अफ दी म्याच भए । 

बलियो साझेदारी
सिड्नी मैदानमा न्युजिल्यान्डले सुरुदेखि नै विस्फोटक ब्याटिङ गर्‍यो । फिन एलेन र डेभोनबीच पहिलो विकेटका लागि ४.१ ओभरमा ५६ रनको साझेदारी भयो । फिनले १६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४२ रन जोडे । फिनको स्ट्राइक रेट दुई सय ६२ रहेको थियो । त्यसपछि डेभोनले कप्तान केन विलियम्ससँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे । केनले २३ बलमा समान एक छक्का र चौका प्रहार गरी २३ रन बटुले । ग्लेन फिलिप्सले १० बलमा १२ रन बनाए । न्युजिल्यान्डले पावर प्लेमा एक विकेट गुमाएर ६५ रन बनाएको थियो । 

डेभोनको विस्फोटक इनिङ्स
अस्ट्रेलियालाई बलियो चुनौती दिने क्रममा न्युजिल्यान्डका ओपनर डेभोनले विस्फोटक ब्याटिङ गरे । उनले पहिलोदेखि चौथो विकेटसम्म गतिलो साझेदारी गरे । डेभोनले जेम्स निसिमसँग चौथो विकेटका लागि ५८ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई २० ओभरमा दुई सय रनको योगफलमा पुर्‍याए । डेभोनले आफ्नो म्याच विनिङ प्रदर्शनमा सात चौका र दुई छक्का प्रहार गरेका थिए । निसिमले १३ बलमा दुई छक्काको सहयोगमा २६ रन बनाए । बलिङमा जोस हेजलउडले ४१ रन खर्चेर एक विकेट हात पारे । एडम जाम्पाले एक विकेट लिए । 

साउथी र सान्टनरको घातक बलिङ
घरेलु मैदानमा अस्ट्रेलिया सुरुदेखि नै दबाबमा परेको थियो । फास्ट बलर टिम साउथी र मिचेल सान्टनरले अस्ट्रेलियन ब्याट्सम्यानहरूलाई रन बनाउन दिएनन् । दुवैले समान तीन विकेट लिँदा अस्ट्रेलियाको शीर्ष तथा मध्यक्रम ब्याटिङ लाइनअप कमजोर भयो । साउथीले २.१ ओभरमा ६ रन खर्चेर तीन विकेट लिए । सान्टनरले ३१ रनमा तीन विकेट हात पारे । यसैगरी, ट्रेन्ट बोल्टले २४ रन खर्चेर पुछारका दुई ब्याट्सम्यानलाई सिकार गरे । न्युजिल्यान्डका लागि इस सोधी र लुकिए फर्गुसनले समान एक विकेट हात पारे । 

म्याक्सवेल मात्र टिके
अस्ट्रेलियाको कमजोर ब्याटिङ प्रदर्शनमा अलराउन्डर ग्लेन म्याक्सवेलले मात्र क्रिजमा न्युजिल्यान्डका बलरविरुद्ध डटेर प्रदर्शन गरेका थिए । यद्यपि, उनले टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । म्याक्सवेल आउट हुँदा अस्ट्रेलिया १३.३ ओभरमा ८९–७ को कमजोर अवस्थामा थियो । उनले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २८ रन बनाए । यसैगरी, प्याट क्युमिन्सले १८ बलमा दुई चौका र एक छक्काको सहयोगमा २१ रन बनाए । अस्ट्रेलियाका सात ब्याट्सम्यानले दोहोरो रन  बनाउन सकेनन् । 

खेल रद्द हुँदा नौ अर्ब २९ करोड घाटा हुने
टी–२० विश्वकप क्रिकेटअन्तर्गत आइतबार चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारतबीच खेल हुँदै छ । यो खेल मेलबर्नमा हुनेछ । मौसमविद्का अनुसार भारत र पाकिस्तानबीचको खेलमा ७०–८० प्रतिशत पानी पर्ने सम्भावना छ । वर्षाका कारण खेल रद्द भए अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नौ अर्ब २९ करोड ६० लाख रुपैयाँ घाटा बेर्होनुपर्छ । विश्वकपमा पुनः एकपटक एकै समूहमा परेपछि भारत र पाकिस्तानबीच खेलको टिकट बिक्री भएको केही घन्टामै सोल्डआउट भएको थियो । 

यी दुई टोलीबीच गत वर्ष युएईमा भएको टी–२० विश्वकपमा पाकिस्तानले पहिलोपटक भारतमाथि दश विकेटको सानदार जित निकालेको थियो । अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० खेलमा भारत र पाकिस्तानले एकआपसमा ११ खेल खेलेका छन् । जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेको छ । एक खेल टाई भएको छ । पाकिस्तानले भारतलाई एकदिवसीय विश्वकपमा हराउन सकेको छैन । 

कुरानको पाँच विकेट

आइसिसी टी–२० विश्वकपमा इंग्ल्यान्डका साम कुरान पाँच विकेट लिने पहिलो बलर बनेका छन् । कुरानले सुपर १२ अन्तर्गत अफगानिस्तानविरुद्ध कीर्तिमानी प्रदर्शन गरेका हुन् । म्यान अफ दी म्याच कुरामले ३.४ ओभरमा १० रन खर्चेर पाँच विकेट हात पारे । कुरामको घातक बलिङ प्रदर्शनसामु निरीह बनेको अफगानिस्तानले १९.४ ओभरमा सबै विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । प्रत्युत्तरमा इंग्ल्यान्डले १८.१ ओभरमा पाँच विकेटको क्षतिमा एक सय १३ रन बनायो । लक्ष्य पछ्याएको इनिङ्समा इंग्ल्यान्डले संघर्षपूर्ण ब्याटिङ गरेको थियो । 

ओपनर जोस बटलर र एलेक्स हालेसले पहिलो विकेटका लागि ४.६ ओभरमा ३५ रन बनाएका थिए । बटलरले १९ बलमा तीन चौका प्रहार गरी १८ रन बनाए । ८.४ ओभरमा आउट भएका एलेक्सले २० बलमा १९ रन जोडे । मध्यक्रमका डाविड मालानले ३० बल खेलेर १८ रन जोडे । त्यसपछि लिआम लिभिन्स्टोनले २१ बलमा तीन चौका प्रहार गरी २९ रन जोड्दा इंग्ल्यान्डको जित पक्का भयो । यसअघि ब्याटिङ गरेको अफगानिस्तानको इनिङ्समा इब्राहिम जार्दानले सर्वाधिक ३२ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३२ रन जोडे । यसैगरी, उस्मान घानीले ३० बलमा तीन चौका प्रहार गरी ३० रन जोडे । अफगानिस्तानका सात ब्याट्सम्यानले दोहोरो रन बनाउन सकेनन् ।