मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक ५ शनिबार १७:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपैडिहा नाकामा किनमेल गरेर फर्किने नेपालीको थामी नसक्नु भिड 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ५ शनिबार १७:३३:००

भारतीय सीमावर्ती बजार रुपैडिहामा किनमेलका लागि शनिबार मात्र करिब ४० हजार नेपाली गएको अनुमान गरिएको छ। नेपालगन्ज, कोहलपुर बजार छाडेर नेपालीहरू तिहारको सामग्री किनमेल गर्न रुपैडिहा गएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक माधवप्रसाद रिजालले बताए।

दसैँभन्दा तिहारमा किनमेल गर्न भारतीय बजार जानेको संख्या बढी भएको उनले बताए। तिहार लागेदेखि नै किनमेलका लागि भारतीय बजार जानेको संख्या बढे पनि शनिबार जानेको संख्या अत्यधिक भएको बताए। 

‘किनमेल गरेर फर्किनेको दिउँसो थामिनसक्ने भिड थियो। एकछिन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भिड व्यवस्थापन गर्न हम्मे–हम्मे पर्यो,’ उनले भन, ‘भिडका कारण राम्रोसँग चेकजाँच गर्नसमेत सकस भयो।’

पटाका तथा पटाकाजन्य वस्तु ल्याउन नदिन कडाइ गरिएको बताए। दुई–चारवटा पटाका ल्याएको फेला पर्नेबित्तिकै जफत गरेर जिल्ला प्रहरी कार्यालय पठाउने गरिएको उनको भनाइ छ। उनले दैनिक उपभोग्यका सामान ल्याउन सर्वसाधारण रुपैडिहा जाने गरेको बताए। 

‘तिहारमा आवश्यक पर्ने खाद्यान्न, भाइ मसला, लुगा किनेर ल्याएको देखिन्छ,’ उनले भने। 

शनिबार मात्र रुपैडिहामा पाँच करोडको कारोबार भएको उनले अनुमान लगाए। बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसम्मका सर्वसाधारण किनमेल गर्न रुपैडिहा गएको उनले बताए।