मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७९ कार्तिक ५ शनिबार ०६:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तिहारको मुखमा छोइनसक्नु महँगी

Read Time : > 1 मिनेट
२०७९ कार्तिक ५ शनिबार ०६:२६:००

तिहार तथा छठ पर्वको पूर्वसन्ध्यामा दैनिक उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो समय तरकारी, खाद्यान्नलगायत वस्तुको मूल्य बढेको हो । विशेष गरी तरकारीको मूल्य अचाक्ली बढेको छ । कालिमाटी तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय रातो आलुको मूल्य किलोमै २८ रुपैयाँले बढेर प्रतिकिलो ९४ रुपैयाँ पुगेको छ ।

अझ खुद्रा पसलमा त प्रतिकिलो एक सय रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ता बताउँछन् । असोजमा रातो आलुको औसत मूल्य अघिल्लो महिना प्रतिकिलो ६६ रुपैयाँ रहेको थियो । त्यसैगरी, गोलभेँडा अघिल्लो महिना ६३ रुपैयाँ रहेकोमा २० रुपैयाँले बढेर प्रतिकिलो ८३ रुपैयाँ पुगेको छ । थोक मूल्य यो भए पनि उपभोक्ता किलोकै एक सय रुपैयाँभन्दा बढी तिर्न बाध्य छन् । 

त्यसैगरी, एक महिनामै भेडे खुर्सानीको मूल्य दोब्बरभन्दा बढीले बढेको छ । भेडे खुर्सानीको मूूल्य हाल औसत प्रतिकिलो एक सय ३० रुपैयाँसम्म पुगेको छ । यसअघि असोजमा ५४ रुपैयाँ प्रतिकिलो रहेको थियो । त्यसैगरी, तुनेबोडी पनि यसअघि ८७ रुपैयाँ प्रतिकिलो रहेकामा हाल एक सय ३० रुपैयाँसम्म पुगेको छ ।

चामल किलोमै १२ रुपैयाँ बढ्यो
त्यसैगरी, खाद्यान्नमा विशेष गरी चामलको मूल्य बढेको छ । २५ किलो चामलको मूल्य बोरामा तीन सय रुपैयाँले बढेको हो । खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले अघिल्लो महिनाको तुलनामा तीन सय रुपैयाँ बढेर २५ किलोको बोरामा दुई हजार ५० रुपैयाँसम्म पुगेको बताए । उनले भने, ‘यसअघि २५ किलोको बोराको एक हजार सात सय  देखि एक हजार सात सय ५० रुपैयाँ रहेको थियो । भारतले लगाउँदै आएको प्रतिबन्धको असरले नेपालमा चामलको मूल्य बढ्न पुग्यो ।’ 

त्यसैगरी सानो चना, रहरको दालको मूल्य पनि बढेको छ । सानो चनाको मूल्य एक सय पाँच रुपैयाँबाट बढेर एक सय २० रुपैयाँसम्म पुगेको छ । त्यसैगरी, रहर दालको मूल्य एक सय ८० रुपैयाँबाट बढेर एक सय ९० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म पुगेको छ । उपभोक्ता अधिकारवादी ज्योति बानियाँले चाडपर्वका कारणले माग र आपूर्तिमा असन्तुलनमा हुँदा मूल्य बढेको बताए । उनले भने, ‘अहिले आर्थिक मन्दीले व्यवसायीहरू संकटमा छन् भने अर्कोतर्फ राज्यले अनुगमनको दायरा बढाउन नसक्दा मूल्य नियन्त्रण हुन सकेन ।’

 तिहारलक्षित अनुगमन : रेस्टुरेन्ट र मिठाई पसलको भान्सामा समस्या 
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं महानगरपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त टोलीले तिहारलक्षित अनुगमनलाई तीव्रता दिएका छन् । सम्बन्धित निकायका प्रतिनिधिसहितको टोलीले  विशेष गरी मिठाई, खाद्यान्नलगायतका पसलमा अनुगमनलाई तीव्रता दिएका हुन् । अनुगमनका क्रममा मिठाई बनाउने भान्साघरमा सबैभन्दा बढी समस्या देखिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेस्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्सामा स्वच्छता र सफाइको समस्या देखिएको बताए । उनले भने, ‘काठमाडौं महानगरसँगै छुट्टै र विभागको तर्फबाट छुट्टै दुई टोलीले  मिठाई पसलहरूमा अनुगमन गरेका छौँ ।’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार मात्रै १० वटा खाद्य वस्तुहरूमा अनुगमन गरेको थियो । जसमा मूल्यसूची नराखिएकोदेखि खरिद बिल नराखेको पाइएको हो । 

मेनुमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने
होटेल, रेस्टुरेन्ट तथा बार व्यवसायीहरूले अब मेनुमा उल्लेख मूल्यमा सेवा शुल्क र भ्याट रकम जोड्न नपाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विभागले होटेल, रेस्टुरेन्टलाई सचेत गराएको हो ।