१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काठमाडौं
२०७९ कार्तिक ४ शुक्रबार १५:२६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दुई महिनामा व्यापार घाटा दुई खर्ब ४४ अर्ब ९३ करोड

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ कार्तिक ४ शुक्रबार १५:२६:००

आर्थिक वर्ष ०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु. दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा नेपालले कुल रु. दुई खर्ब ७३ अर्ब ६० करोडबराबरको  सामान आयात गरेको छ भने रु. २८ अर्ब ६८ करोडबराबरको सामान निर्यात गरेको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा सामान निर्यात ३४.९ प्रतिशतले घटेको छ भने आयात पनि १३ प्रतिशतले घटेको छ। गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यातमा क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमी आएको छ। अन्य मुलुकतर्फको निर्यात १३.२ प्रतिशतले बढेको छ।

जिंक सिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोसाक, आयुर्वेदिक औषधिलगायत वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, अलैँची, दन्त मञ्जनलगायत वस्तुको निर्यात घटेको छ।

त्यसैगरी, पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, औषधि, हवाईजहाज तथा त्यसका पार्टपुर्जालगायत वस्तुको आयात बढेको छ भने सवारीसाधन र त्यसका पार्टपुर्जा, चाँदी, कच्चा सोयाबिन तेल, हट रोल्ड सिट इन क्वाइल, एमएस ब्लेटलगायत वस्तुको आयात घटेको छ।

निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेक प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्फ सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानीबाहेक अन्य प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।