१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक ४ शुक्रबार ०९:१९:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फुटबलमा एपिएफलाई स्वर्ण

पुरुषतर्फको फाइनलमा एपिएफले आर्मीलाई टाइब्रेकरमा र महिलातर्फ पुलिसलाई २–१ ले हराउँदै स्वर्ण हात पा¥यो

Read Time : > 1 मिनेट
२०७९ कार्तिक ४ शुक्रबार ०९:१९:००

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपिएफ क्लबले भित्रुवन आर्मीलाई सडन डेथमा हराउँदै स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । एपिएफको जितमा गोरक्षक राजु नगरकोटी नायक बने । उनले दुई पेनाल्टी बचाउ गर्दै टोलीलाई स्वर्ण दिलाएका हुन् । 

एपिएफका लागि नवीन लामा, आवास लामिछाने, सुदिल सिर्खाकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे । सनिश श्रेष्ठको प्रहार बाहिरियो । आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सीमान्त थापा, विवेक बस्नेत र विकास खवासले गोल गरे । सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपिएफका राजुले बचाउ गरे ।

पहिलो तथा दोस्रो हाफ गोलरहित
पुरुषतर्फको स्वर्ण भिडन्तमा आर्मी र एपिएफका खेलाडीले दुवै हाफमा गोलका लागि प्रयास गरेका थिए । यद्यपि, दुवै क्लबका गोलरक्षकले उत्कृष्ट बचाउ गर्दा खेलको छिनोफानो टाइब्रेकरबाट भयो । ३३औँ मिनेटमा एपिएफका मनी लामाले गरेको उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथूले उत्कृष्ट बचाउ गरे । ३५औँ मिनेटमा आर्मीका सुमन अर्यालले डी–एरिया क्षेत्रमा गल्ती गर्दा एपिएफका प्रदीप लामा गोल गर्नबाट चुके । ४९औँ मिनेटमा दिनेश हेन्जनको कर्नरमा विकास तामाङको हेडर एपिएफका गोलरक्षक राजुले बचाउ गरे । ५८औँ मिनेटमा आर्मीका गोलरक्षक विकेश अघि बढ्दै बचाउ गर्न खोजेको अवस्थामा एपिएफका नवीनले गोल गर्न सकेनन् । 

६६औँ मिनेटमा प्रिन्सको कर्नरमा सेसेहाङ आङ्देम्बेको ओभरहेड किक प्रहारमा सुदिल राईको हेड बाहिरियो । ७०औँ मिनेटमा नवयुगको पासमा प्रिन्सको प्रहार पहिलो बारनजिकैबाट बाहिरियो । निर्धारित ९० मिनेटको समाप्तिपछि थप गरिएको चार मिनेटमा एपिएफका सनिश श्रेष्ठले सुदिललाई लडाएपछि डी–एरियानजिकै फ्रिकिकको अवसर प्राप्त गर्‍यो । प्रिन्स कार्कीले उत्कृष्ट फ्रिकिक प्रहार गरे पनि गोलरक्षक नगरकोटीले बचाए । 

महिलामा पनि एपिएफ च्याम्पियन
महिला फुटबल प्रतियोगितामा एपिएफले स्वर्ण जितेको छ । वालिङ खेलमैदानमा बिहीबार नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै एपिएफले स्वर्ण जितेको हो । खेलको १०औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले १–० को अग्रता दिलाइन् । खेलको ५२ मिनेटमा सावित्राले पुनः अर्को गोल गर्दै टोलीलाई २–० को स्थितिमा राखिन् । ७६औँ मिनेटमा पुलिस क्लबकी निरु थापाले एक गोल गर्दै जितको सम्भावना जीवित राखिन् ।