१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ कार्तिक २ बुधबार १९:५७:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

धनुषा-२ : जहाँ भिड्दै छन् तीन पूर्वमन्त्री, कसकाे पल्ला भारी ?

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ कार्तिक २ बुधबार १९:५७:००

धनुषा निर्वाचन क्षेत्र- २ मा तीनजना पूर्वमन्त्री नै चुनावी मैदानमा उत्रेपछि सो क्षेत्रको निर्वाचन रोमाञ्चक बन्न पुगेको छ। 

तीनमध्ये दुईजना सत्तारुढ गठबन्धनकै पूर्वमन्त्री छन्। विपक्षी गठबन्धन (एमाले-जसपा)ले पनि अगल–अलग उम्मेदवार खडा गरेपछि त्यो क्षेत्रको निर्वाचन झन् सबैको चासोको विषय बनेको छ। 
 
सत्तारुढ गठबन्धन दलको नेतृत्व गरिरहेको कांग्रेसले सो क्षेत्रमा पूर्वमन्त्री रामकृष्ण यादवलाई उम्मेदवार बनाएको छ। गठबन्धन दलबाटै नेकपा एकीकृत समाजवादीबाट पूर्वमन्त्री रामचन्द्र झाले उम्मेदवारी दिएका छन्।

त्यसैगरी, एमालेबाट पूर्वमन्त्री उमाशंकर अरगरिया र जसपाकै गंगाराम यादवले उम्मेदवारी दिएका छन्। सो क्षेत्रमा सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवार कांग्रेसका यादव हुन्। कांग्रेसबाट यादवसँग प्रदेश सभा (क) मा लोसपाबाट सञ्जय साह र (ख) मा माओवादी केन्द्रबाट श्यामसुन्दर यादव उम्मेदवार छन्। 

त्यसैगरी, नेकपा एसका उम्मेदवार झाले प्रदेश सभा सदस्यको दुवै क्षेत्रबाट आफ्नै पार्टीका उम्मेदवार खडा गरेका छन्। उम्मेदवार झाले प्रदेश सभा (क) बाट शैलेन्द्र यादव र (ख) बाट रामनारायण साहलाई उम्मेदवार बनाएका छन्। 

चुनावको मुखमा लोसपा छाडेर एमालेमा प्रवेश गरेका पूर्वमन्त्री अरगरिया २०७४ सालको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए। 

पार्टीले टिकट पूर्वमन्त्री अरगरियालाई दिने भएपछि एमालेसँग ४० वर्षे साइनो छाडेर आफ्नो पार्टीमा प्रवेश गरेका गंगाराम यादवलाई जसपाले उम्मेदवार बनाएको छ।

एमालेबाट प्रदेश सभा (क)बाट लखन दास र (ख) बाट संजीव झाले उम्मेदवारी दिएका छन्। जसपाबाट (क)मा शैलेन्द्र यादव र (ख) बाट रामआशिष यादवले उम्मेदवारी दिएका छन्। यादवद्वय २०७४ सालको निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका थिए।

यी दुवैजना तत्कालीन संघीय समाजवादी फोरमबाट प्रदेशमा र प्रतिनिधिसभामा अरगरिया निर्वाचित भएका थिए। तत्कालीन फोरम र राजपा मिलेर जसपा भयो। तर, तत्कालीन नेकपाको विभाजनसँगै जसपा पनि विभाजित भयो।  विभाजनको क्रममा अरगरिया लोसपा रोजेर १८ दिनको लागि संघीय मन्त्रीसमेत भए। 

यसरी क्षेत्र नम्बर २ मा तीनजना पूर्वमन्त्री र पदमा नभएर पनि आफ्नो लगानी तथा चन्दा संकलन गरे विद्यालय, अस्पताल बनाएर सो क्षेत्रमा आफ्नो राम्रो छवि बनाएका गंगाराम यादवबीच चुनावी प्रतिस्पर्धा पनि रोचक हुने अनुमान गरिएको छ। 

स्थानीय तहको मतदान र पार्टीहरूको संगठनलाई आधार मान्ने हो भने सो क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार यादव बलिया देखिन्छन् भने दोस्रोमा एमाले र तेस्रोमा जसपाका उम्मेदवार। 

व्यक्तित्वको हिसाबले सो क्षेत्रका पुराना वामनेता हुन्, पूर्वमन्त्री रामचन्द्र झा। विभिन्न अधिकार प्राप्तिको आन्दोलनमा जेलनेल सहेका नेता झा एकपटक स्थानीय विकासमन्त्रीसमेत भएका थिए। पूर्वी धनुषामा नेता झाले दर्जनौँ कम्युनिस्ट नेताहरू उत्पादन गरेको बताइन्छ। 

एमालेका सचिव रघुवीर महासेठलाई अगाडि ल्याउनुमा नेता झाको ठूलो भूमिका छ। तर, समय परिवर्तनसँगै महासेठले आफ्ना साला उद्योगपति उपेन्द्र महतोको सहयोगमा नेता झालाई एमालेबाट विस्थापित गर्न भूमिका खेलेको झाका निकटवर्तीको आरोप छ। 
 
नेता झा दुईपटक लगातार निर्वाचित भए भने दुईपटक २०७० र २०७४ सालमा लगातार पराजित भए। तर, यो निर्वाचनमा आफ्ना पुराना सहयोगीहरूले साथ दिने आश्वासन दिएपछि उनले पार्टीलाई दबाब दिएरै टिकट हात पारेका हुन्।  

त्यसैगरी, संगठन र स्थानीय तहको मतको आधारमा सो क्षेत्रमा अगाडि रहेका पाँचदलीय गठबन्धनका उम्मेदवार रामकृष्ण यादव दुईपटक मन्त्री र एकपटक सार्वजनिक लेखा समितिका सभापति भएका हुन्। पूर्वमन्त्री यादवले २०७४ सालको निर्वाचनमा अरगरियासँग पराजित भएका थिए। तर, उनी आफूले मन्त्री हुँदा क्षेत्रमा गरेको विकास र गठबन्धनले सहयोगले चुनानमा बाजी मार्ने बताउँदै आएका छन्। 

२०७४ सालको निर्वाचनमा लोकप्रिय मत ल्याएका एमाले उम्मेदवार अरगरिया भने जारी निर्वाचनमा पनि राम्रो मत ल्याएर निर्वाचित हुने विश्वासमा छन्। 

२०७४ सालमा तत्कालीन फोरमबाट उम्मेदवारी दिँदा सो क्षेत्रमा पार्टीको संगठन नरहेको अवस्थामा जनताले अत्यधिक मत ल्याएर जिताए। अरगरियाले भने, ‘यसपालि त सो क्षेत्रमा पार्टीको राम्रो संगठन छ। म १८ दिनको मन्त्री मात्रै भएर होइन, सांसदकै रूपमा धेरै विकासका काम गरेको छु। जुन काम सो क्षेत्रबाट धेरैपटक मन्त्री भएकाहरूले पनि गर्न सकेनन्। जनताले त्यसको मूल्यांकन गरेर मतदान गर्छन्।’ 

तर, सोही क्षेत्रबाट एमालेकै पुराना नेता गंगाराम यादवले जसपाबाट उम्मेदवारी दिएकाले संगठनको मत विभाजन हुने सम्भावना पनि उत्तिकै छ। २०७४ सालको निर्वाचनमा अरगरियाले ३२ हजार ४४ मत ल्याउँदा रामचन्द्र झाले १८ हजार ७१५ र रामकृष्ण यादवले १५ हजार ४४२ मत ल्याएका थिए। 

यता, जसपाका उम्मेदवार यादवले भने, ‘कुनै पदमा नभएर पनि सो क्षेत्रको विकासको लागि धेरै कामहरू गरेको छु, जुन मन्त्रीहरूले पनि गर्न सकेनन्। पदमा हुँदा त्योभन्दा बढी काम गरेर देखाउँछु भनेर जनताको बीचमा गएको छु। जनताले विश्वास गरेर मलाई मतदान गर्छन् भन्नेमा विश्वस्त छु।’ 

एमाले पार्टीले धोका दिएपछि कार्यकर्ताहरूकै सुझाबले जसपाबाट उम्मेदवारी दिएकाले आफूलाई एमाले र जसपाका साथीहरूको भरपुर सहयोग हुनेमा यादव विश्वस्त छन्। 

वर्तमान परिवेशमा जातीय समीकरणले पनि राजनीतिक समीकरणलाई हेरफेर गर्ने गरेको छ। सो क्षेत्रमा यादवहरू बहुसंख्यक छन्। तर, यादव सामुदायकै तीनजना उम्मेदवार रहेकाले नेता झाले त्यसको फाइदा उठाउन सक्ने विश्लेषण पनि हुन थालेको छ।