मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०७:२७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालमै सम्भव छ टाउको नचिरी मस्तिष्कघातको उपचार

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०७:२७:००

मस्तिष्कघात भएको ६ घन्टाभित्र अस्पताल पुग्न सके ९९ प्रतिशत उपचार सम्भव, चारदेखि सात लाखसम्म खर्च लाग्ने 

रक्तनली जाम भएर वा फुटेर हुने मस्तिष्कघातको आधुनिक उपचार नेपालमै सम्भव भएको छ । नेपालमा न्युरो इन्टरभेन्सन विधि (टाउको नचिरी गरिने मस्तिष्कको उपचार)बाट यसको उपचार हुँदै आइरहेको छ । तर, धेरैले यो उपचार विधिबारे थाहा नपाउँदा ब्रेन हेमोरेजबाट मृत्यु र पक्षघात व्यहोरिरहेका छन् । 

बाँसबारीस्थित उपेन्द्र देवकोटा न्युरो अस्पतालले न्युरो इन्टरभेन्सन उपचार विधिबाट ब्रेन हेमोरेजको उपचार गर्दै आइरहेको छ । यो विधिमा खुट्टा तथा हातको नसाबाट एस्पिरेसन क्याथेटर (तार) छिराएर मस्तिष्कघात र मस्तिष्कसम्बन्धी रोगको उपचार गरिन्छ । 

नयाँ विधिबाट उपचार सुरु गर्दा धेरैले मलाई पत्याएनन् : डा. सुवास फुँयाल, न्युरो इन्टरभेन्सनिस्ट
यो विधिबाट उपचार सुरु गर्दा धेरैले मलाई पत्याएनन् । कतिलाई असम्भव पनि लागेको थियो । तर, मैले भारतको एम्स अस्पतालबाट यो उपचारमा विज्ञता हासिल गरेर नेपाल फर्किएकाले यसबारे उपचार सेवा दिन लागेँ । अब सरकारी अस्पतालहरूले पनि यो उपचार विधि अपनाउनुपर्छ । 

अस्पतालका न्युरो इन्टरभेन्सन विशेषज्ञ डा. सुवास फुँयालले यो उपचार विधिबारे धेरैलाई जानकारी नहुँदा बे्रन हेमोरेज भएर मृत्यु हुने बढिरहेको बताए । उनका अनुसार नेपालमा ०७६ सालदेखि नै न्युरो इन्टरभेन्सन विधिबाट उपचार सुरु भएको हो । तीन वर्षमा रक्तनली रोकिएका मस्तिष्कघात भएका एक सय ३० जनाको उपचार अस्पतालले गरिसकेको छ । नसा फुटेर मस्तिष्कघात भएका एक सय ४० जनाले उपचार सेवा पाएका छन् । मस्तिष्कघात भएर समयमै अस्पताल आएका ९८ प्रतिशत बिरामी निको भएका छन् । ‘नेपालका लागि यो उपचार विधि नौलो हो, धेरैलाई जानकारी नै छैन, जानकारी भएकाहरू पनि चिरेर उपचार गर्ने अस्पतालमा जान्छन्,’ डा. फुँयालले भने, ‘जसका कारण उनीहरूको समयमै उपचार हुन पाउँदैन र प्यारालाइसिस तथा मृत्यु पनि हुन सक्छ ।’

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुने बिरामीमध्ये तेस्रो र चौथो नम्बरमा मस्तिष्कघातका बिरामी छन् । पछिल्लो एक वर्षमा देशभर मस्तिष्कघात भएर मृत्यु हुनेको संख्या तीन सय हाराहारी छ । त्यस्तै, विकसित देशहरूमा मस्तिष्कघातबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । 

नेपालमा न्युरो इन्टरभेन्सन उपचार विधि नयाँ हो । न्युरो इन्टरभेन्सनमा डिएम गरेर आउने पहिलो विशेषज्ञ डा. फुँयाल हुन् । भारतको एम्स अस्पतालबाट न्युरो इन्टरभेन्सनमा डिएम गरेर ०७६ सालमा नेपाल फर्केका फुँयालले ग्रान्डी अस्पताबाट यो उपचार विधि सुरु गरेका थिए । तर, त्यसको केही महिनापछि उनी उपेन्द्र देवकोटा न्युरो अस्पताल आएर सेवा सुरु गरेका थिए । ‘न्युरो इन्टरभेन्सन विधिबाट उपचार सुरु गर्दा धेरैले मलाई पत्याएनन्, कतिलाई असम्भव पनि लागेको थियो,’ उनले भने, ‘तर, मैले भारतको एम्स अस्पतालबाट विज्ञता हासिल गरेर नेपाल फर्किएकाले यसबारे उपचार सेवा दिन लागेँ ।’

के हो न्युरो इन्टरभेन्सन उपचार विधि ?
हात तथा खुट्टाको नसाबाट एस्पिरेसन क्याथेटर (तार) छिराएर गरिने एक प्रकारको उपचार विधिलाई न्युरो इन्टरभेन्सन उपचार विधि भनिन्छ । यो उपचार मस्तिष्कघात भएका र मस्तिष्कसम्बन्धी अन्य समस्याका बिरामीलाई आवश्यक पर्छ । टाउको चिरेर मस्तिष्कघातसम्बन्धी उपचार गरिनेभन्दा यो विधि सजिलो मानिन्छ । टाउको नचिरी उपचार गर्न सकिने भएकाले बिरामी छिटो निको हुन्छ । यो विधिबाट करिब दुई–तीन घन्टाभित्र उपचार हुन्छ । बिरामीलाई धेरै दिन आइसियू वा अस्पताल राख्नुपर्दैन । उपचार गरेको तीन–चार दिनमा डिस्चार्ज हुन मिल्छ । यस्तो खालको उपचार विधि अन्य रोग लागेका बिरामी, वृद्धवृद्धा, दीर्घरोगीलाई सहज हुन्छ । डा. फुँयालका अनुसार यो उपचार विधिका लागि मुख्य दुई कुरा चाहिन्छ– अनुभवी डाक्टर र क्याथ ल्याब । नेपालमा न्युरो इन्टरभेन्सन डेडिकेटेड वाई प्लेन क्याथ ल्याब अभाव छ । यस्तै विशेषज्ञ डाक्टरको पनि अभाव छ । तर, पछिल्लो दुई वर्षयता केही न्युरो इन्टरभेन्सन डेडिकेटेड डाक्टर आएको फुँयालको भनाइ छ । 

सरकारीमा पनि यस्तो विधि अपनाउन पहल गर्छौँ : माधवकुमार श्रेष्ठ, सहायक सूचना अधिकारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सरकारी अस्पतालहरूमा यस्तो प्रकारको उपचार विधि अपनाएको छैन । यो नितान्त आधुनिक विधि हो । सरकारी अस्पतालमा पनि यस्तो उपचार विधि अपनाउन पहल गर्छौँ ।

उपचारमा चारदेखि सात लाखसम्म खर्च 
यो उपचार विधि सहज भए पनि महँगो छ । दुई घन्टामा उपचार सम्भव हुन्छ । एउटा बिरामीले मस्तिष्कघात तथा अन्य मस्तिष्कसम्बन्धी उपचार सेवा लिन कम्तीमा पनि चार लाख तिर्नुपर्छ । उपचारका लागि बिरामीले छुट्टाछुट्टै उपकरण खरिद गर्नुपर्ने भएकाले महँगो पर्ने डा. फुँयाल बताउँछन् । ‘केही महँगो भए पनि सहज र छिटो छ, मस्तिष्कघात तथा मस्तिष्कसम्बन्धी बिरामीहरू समयमै अस्पताल आए भने दुरुस्तै पार्न सकिन्छ,’ उनले भने । समयमै अस्पताल नआउने बिरामीलाई भने उपचार गर्न नसकिने बताए ।

सरकारी अस्पतालमा पनि सुरु गर्न जोड 
सरकारीमा भने सस्तो पर्न सक्छ । सरकारले उपकरण खरिद गरिदिने हो भने सस्तोमा उपचार पाउने डा. फुँयालको भनाइ छ । हाल कुनै पनि सरकारी अस्पतालमा विनाअपरेसन मस्तिष्कघात र मस्तिष्कको उपचार सेवा छैन । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता अस्पतालले टाउको नचिरी उपचार गर्ने विधि अपनाउने  हो भने मस्तिष्कघातबाट मृत्यु हुने र पक्षघात हुनेको संख्या शून्यमा झार्न सकिने फुँयालको दाबी छ । 

६ घन्टाभित्र अस्पताल आए पूर्ण निको 
डाक्टर फुँयालका अनुसार मस्तिष्कघात भएको ६ घन्टाभित्र अस्पताल पुग्न सके ९९ प्रतिशत उपचार सम्भव छ । यस्तै, २४ घन्टाभित्र अस्पताल आएका बिरामीको भने पूर्ण निको नभए पनि केही उपचार सम्भव हुन्छ । तर, २४ घन्टापछि उपचार गर्न आउने बिरामीको उपचार सम्भव हुँदैन । मस्तिष्कघात र नक्तनली फुट्दा त्यस भागका सेलहरू मर्छन् । जति उपचार गरे पनि जिन्दगीभर पक्षघात हुन्छ ।