मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०६:२१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इमर्जेन्सीमा बिरामीलाई दिइने तीन औषधि दुई महिनादेखि अभाव

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०६:२१:००

मिर्गौलाले काम गर्न छोडेसँगै रगतमा एसिडको मात्रा घटबढ हुँदा दिइने सोडियम बायोकार्बोनेट इन्जेक्सन, रगतमा ग्लुकोजको मात्रा घटबढ हुँदा दिइने इन्जेक्सन डेक्सट्रोस र मुटुको चाल गडबड हुँदा दिइने इन्जेक्सन एमिओडारोन अभाव तर, दुई महिनासम्म पनि औषधि व्यवस्था विभागले आपूर्तिमा चासो देखाएको छैन । 

...                                           ...

इमर्जेन्सीका बिरामीलाई क्रिटिकल केयरका क्रममा दिइने तीन औषधिको दुई महिनादेखि अभाव भएको छ । मिर्गौलाले काम गर्न छोडेसँगै रगतमा एसिडको मात्रा घटबढ हुँदा दिइने सोडियम बायोकार्बोनेट इन्जेक्सन, रगतमा ग्लुकोजको मात्रा घटबढ हुँदा दिइने इन्जेक्सन डेक्सट्रोस र मुटुको चाल गडबड हुँदा दिइने इन्जेक्सन एमिओडारोन अभाव भएको हो । 
यी औषधिको अभावले गम्भीर बिरामीको ज्यानै जाने अवस्था देखिन थालेको भन्दै चिकित्सकले चिन्ता जनाएका छन् । तर, दुई महिनासम्म पनि औषधि व्यवस्था विभागले आपूर्तिमा चासो देखाएको छैन । 

त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार यी औषधि समयमै बिरामीमा प्रयोग गर्न सकिएन भने ज्यानै जाने जोखिम उच्च रहन्छ । ‘यी औषधिविना मुटुको शल्यक्रिया सम्भव हुँदैन,’ उनले भने, ‘खासगरी आइसियूमा राखिएका बिरामीको ज्यान जोगाउन सोडियम बायोकार्बोनेट इन्जेक्सनजस्ता औषधि अति आवश्यक हुन्छन् ।’ 

यी औषधिविना मुटुको शल्यक्रिया सम्भव हुँदैन : डा. सुवास आचार्य, क्रिटिकल केयर विभाग प्रमुख, शिक्षण अस्पताल
यी औषधि समयमै बिरामीमा प्रयोग गर्न सकिएन भने ज्यानै जाने जोखिम उच्च रहन्छ । यी औषधिविना मुटुको शल्यक्रिया सम्भव हुँदैन । खासगरी आइसियूमा राखिएका बिरामीको ज्यान जोगाउन सोडियम बायोकार्बोनेट इन्जेक्सनजस्ता औषधि अति आवश्यक हुन्छन् ।

इमर्जेन्सीमा प्रयोग हुने औषधि आयात खुला राख्नुपर्ने भए पनि औषधि व्यवस्था विभागले सहज स्वीकृति नदिँदा आयातमा समस्या भएको औषधि सप्लायर्स कम्पनीहरूको गुनासो छ । विभागका अनुसार हाल सोडियम बायोकार्बोनेट इन्जेक्सन जम्मा दुई कम्पनीले मात्रै आयात गरिरहेका छन् । त्यस्तै, इन्जेक्सन डेक्सट्रोस र इन्जेक्सन एमिओडारोनको उत्पादन भने अन्तर्राष्ट्रियस्तरमै सीमित हुँदा नेपालमा सहज आपूर्ति हुन नसकेको औषधि सप्लायर्स कम्पनी फर्माकम मेडिसेल्सका निर्देशक राजु चापागाईंले बताए ।

‘औषधि व्यवस्था विभागले इन्जेक्सनयुक्त औषधि आयातको स्वीकृतिमा कडाइ गरेका कारण समस्या भइरहेको छ । एकपटक मात्रै अनुमतिको समयावधिसमेत जम्मा चार महिना हुने भएकाले आवश्यकताअनुसार आयात गर्न सकिएको छैन,’ उनले भने ।

इमर्जेन्सी औषधिमा अनावश्यक नियम लगाउँदा उपचारमा बाधा पुगिरहेको बताउँछन् डा. सुवास आचार्य । ‘औषधिको अभावमा बिरामीको ज्यान जान सक्छ । विभाग सक्रिय भएर कम्पनीहरूलाई इमर्जेन्सीका औषधि आयात गर्न लगाउनुपर्ने हो । तर, दैनिक हजारौँको संख्यामा आउने इमर्जेन्सी केसहरूमा प्रयोग हुने सोडियम बायोकार्बोनेटजस्ता औषधि आपूर्तिमा विभागले नै लापरबाही गरिरहेको छ,’ उनले भने । 

तर, विभागले भने कम्पनीहरूलाई आवश्यकताअनुसार आयात गर्ने छुट दिइएको बताएको छ । विभागका प्रवक्ता सन्तोष केसीले अस्पतालहरूको मागअनुसार सप्लायर्स कम्पनीहरूले औषधि ल्याएर बिक्री–वितरण गर्न सक्ने बताए । ‘हामीकहाँ दर्ता भएका कम्पनी पनि अहिले कम छन् । तर, हामीले आयातमा कुनै रोकतोक गरेका हुँदैनौँ । कम्पनीहरूले समयमा ल्याउन नसक्दा समस्या भएको हुन सक्छ,’ उनले भने । 

बजारमा अभाव भइरहन्छन् यी औषधि
विदेशबाट आयात गरिने मात्र नभई नेपालमै उत्पादन गरिने औषधिको सधैँ अभाव हुने गरेको छ । सामान्य बिराममा प्रयोग गरिने पारासिटामोल, मेट्रिनाटोल, स्लाइन, ओआरएस (जीवनजल), हाइड्रोजन सोडा, पोटासियम, क्याल्सियम, अल्बेन्डाजोल (जुकाको औषधि)जस्ता औषधिको समेत बजारमा नियमित अभाव भइरहन्छ । 

सिटामोल र स्लाइनजस्ता औषधि नेपालमै उत्पादन हुने भए पनि निरन्तर अभाव हुँदा आममानिस सधैँ मर्कामा परेका छन् । बाहिरबाट आयात गर्दा महँगो पर्ने र कच्चा पदार्थको मूल्यअनुसार औषधिको मूल्य समायोजन नहुँदा बजार मागअनुसार पूर्ति हुन नसकेको औषधि उत्पादकहरूले बताउँदै आएका छन् । महामारीको समयमा सधैँ अभाव हुने पारासिटामोल नेपालमा मात्रै हाल २१ कम्पनीले उत्पादन गर्ने गरेका छन् ।

सिटामोल पनि नेपालमै प्रतिवर्ष सात करोड ट्याबलेट उत्पादन भइरहेको छ । यसले खपतको ठूलो हिस्सा ओगट्ने गरेको छ । तैपनि संक्रामक रोगको संक्रमणदर बढेसँगै प्रत्येक सिजनमा बजारमा सिटामोल अभाव हुँदै आएको छ । त्यस्तै, ०.९ प्रतिशत मात्रै सोडियम क्लोराइड हुने नर्मल स्लाइन र डिएनएसजस्ता स्लाइनसमेत बजारमा निरन्तर अभाव हुने गरेका छन् । अस्पतालहरूमा अत्यधिक रूपमा प्रयोगमा आउने स्लाइनसमेत नेपालमा उत्पादन हुने गरेका छन् ।

न्यून मूल्य पर्ने यस्ता औषधि आयात कम हुने र बजार भाउसमेत न्यून हुने भएकाले नेपाली उत्पादन कम्पनी उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारी । ‘सिटामोलजस्ता औषधि बजारमा बारम्बार अभाव हुनुको कारण मूल्यवृद्धि नहुनु नै हो ।

जस्तै, सिटामोल चक्की आयात गर्दा एक रुपैयाँ २० पैसाजति पर्छ, तर बजारमा ७० देखि ८० पैसामा बेच्नुपर्ने हुन्छ । झन्डै २० कम्पनीले आयातका लागि अनुमति पाए पनि बजारमा सधैँ अभाव छ,’ उनले भने, ‘स्लाइनजस्ता औषधिको माग पनि अत्यधिक हुँदा कच्चा पदार्थको मूल्य बढेको छ, तर औषधिको मूल्य वर्षौँदेखि एउटै हुँदा सधैँ अभाव हुन्छ ।’ अत्यधिक खपत हुने यस्ता औषधि नेपाली उत्पादन कम्पनीले माग धाने पनि उत्पादनअनुसार मूल्य समायोजन नहुँदा समस्या भएको उत्पादन कम्पनीहरू बताउँछन् ।