मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
पवन तिमिल्सिना काठमाडाैं
२०७९ असोज ३१ सोमबार ०७:४८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

निक्षेपको ब्याजदर स्थिर, महँगिँदै कर्जा

बैंकहरूको आधार दर ०.६० प्रतिशतको बिन्दुले बढ्ने आकलन

Read Time : > 2 मिनेट
२०७९ असोज ३१ सोमबार ०७:४८:००

कात्तिकमा वाणिज्य बैंकहरूले कर्जाको ब्याजदर बढाउने भएका छन् । असोजमा निक्षेपको ब्याजदर बढाएका बैंकहरूले लागत बढ्ने भएपछि कर्जाको ब्याजदर वृद्धि हुने भएको हो । गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा वित्तीय संस्थाको आधार दर (बेस रेट)मा वृद्धि भएको छ । जसअनुसार कात्तिकदेखि लागू हुने गरी कर्जाको ब्याज बढाउने बैंकहरूले तयारी गरेका छन् । गत असारको तुलनामा असोज मसान्तसम्म बैंकहरूको आधार दर औसत ०.६० प्रतिशत बिन्दुले बढेको एक बैंकरले बताए । उनका अनुसार सोही अनुपातमा कात्तिकदेखि लागू हुने गरी बैंकहरूले नयाँ तथा पुरानो कर्जाको ब्याजदर बढाउने भएका हुन् ।

 निक्षेपको ब्याज स्थिर 
अहिले बढाएको निक्षेपको ब्याजदरले बढेको लागत आउँदो माघदेखि मात्र ब्याजदरमा जोड्न पाइने भएकाले कात्तिकमा ब्याजदर स्थिर राख्ने निष्कर्षमा बैंकहरू पुगेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न बज्राचार्यका अनुसार निक्षेपको ब्याजदर वृद्धिको असरस्वरूप आधार दरसमेत बढ्ने भएकाले कर्जाको ब्याजदर भने बढ्नेछ । उनले भने, ‘लागत वृद्धि भएपछि कर्जाको ब्याज बढ्ने नै भइहाल्यो । कात्तिकमा कर्जाको ब्याज बढ्छ ।’ गत १ असोजबाट लागू हुने गरी बैंकहरूले निक्षेपको ब्याजदर बढाएका थिए । उनीहरूले ११ प्रतिशत रहेको निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशत पुर्‍याएका छन् ।

 ‘प्रतिस्पर्धाको सिद्धान्तबाहिर बैंकहरू’
बैंकहरूले एक–आपसमा प्रतिस्पर्धा गर्नुको साटो भद्र सहमतिलाई नै निरन्तरता दिएका छन् । ग्लोबल आइएमई बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले बैंकहरूले कात्तिकबाट ‘ब्याजदर नबढाउने’ सहमतिलाई प्रतिस्पर्धाको सिद्धान्तविपरीत भएको बताए । उनले भने, ‘एक महिनाअघि मात्रै प्रतिस्पर्धामा जाने सहमति गरेका बैंकहरूले ब्याजदर बढाउँदैनौँ भन्ने सहमति गरे । हामी कोही बजारभन्दा जान्ने छैनौँ । त्यसैले यस्तो किसिमको सहमतिले बजारलाई अनावश्यक नियन्त्रणमा राख्ने काम मात्रै गर्छ ।’ 

बैंकहरूले तीन महिनामा आधार दर परिवर्तन गर्न पाउने राष्ट्र बैंकको नीतिगत व्यवस्था छ । सोही व्यवस्थाअनुरूप बैंकहरूले आधार दर बढाउन लागेका हुन् । बैंकहरूले आफ्नो आधार दरअनुसार त्यसमा निश्चित प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्छन् । बैंकहरूको आधार दर बढेपछि कर्जाको ब्याजदर पनि स्वतः बढ्छ । आधार दर घट्दा कर्जाको ब्याजदर पनि घट्छ ।

अहिले पनि अधिकांश वाणिज्य बैंकहरूको आधार दर दोहोरो अंकमा छ । दोहोरो अंकमा आधार दर भएका बैंकबाट ऋण लिँदा लागत बढी लाग्ने गर्छ । गत चैतदेखि भदौसम्म वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राखेका थिए । जसअनुसार एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर कायम गरिएको थियो । तर, गत भदौमा बैंकहरूले १० प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर बढाएर १२.१३ प्रतिशत बनाउने निर्णय गरे । सोहीअनुसार बैंकहरूले असोजका लागि ब्याजदर पनि प्रकाशित गरेका थिए । 

 ब्याजदर वृद्धिको विरोध
निजी क्षेत्रका व्यवसायीहरूले निक्षेपको ब्याजदर वृद्धिमा विरोध गर्दै आइरहेका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आइतबार नै एक कार्यक्रममा कर्जाको ब्याजदर घटाउनुपर्ने बताएका छन् । उनले स्प्रेड दरलाई ४.४ प्रतिशतबाट १ प्रतिशत घटाएर बैंकहरूको आधार दरलाई न्यूनतम बिन्दुमा कायम गर्नुपर्ने, कर्जाको आधार दरको अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्थाले लिने स्प्रेड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी–व्यवसायी मर्कामा परेको भन्दै उनले अकासिएको ब्याजदरले उपभोक्ता महँगीको मारमा परेको बताए ।

त्यस्तै, नेपाल होटेल संघले पनि कोभिडपछि पनि होटेलहरू तंग्रिन नसकेको भन्दै ब्याज तिर्न नसक्ने घोषणा गरिसकेको छ । निजी क्षेत्रको ब्याजदर वृद्धिको विरोधपछि अर्थ मन्त्रालयले सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा सुझाव समिति बनाएको थियो । समितिले महँगी र आर्थिक वृद्धिलाई ध्यानमा राखेर मात्रै ब्याजदरमा प्रतिस्पर्धा गर्नुपर्ने सुझाव दिएको थियो । त्यस्तै, ब्याजदरलाई घटाउन बैंकदरलाई समेत कम गर्नुपर्ने सुझाव बैंकको थियो ।