मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३० आइतबार ०७:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा घटेसँगै बजारमा रगत अभाव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३० आइतबार ०७:१४:००

मागको ५० प्रतिशत मात्र रगत उपलब्ध, खानेकुरामा ध्यान दिन चिकित्सकको सुझाव 

डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा घट्दा बजारमा रगतको अभाव देखिन थालेको छ । डेंगुबाट गम्भीर भएका अधिकांश बिरामीमा प्लेटलेट्स चढाउनुपर्ने हुँदा रगतको अभाव देखिएको हो । 

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका अनुसार हाल दैनिक सय युनिटसम्म प्लेटलेट्सको माग छ । तर, केन्द्रले दैनिक ५० प्रतिशत मात्रै प्लेटलेट्स पूर्ति गर्छ । अन्य प्लेटलेट्स निजी तथा समुदायस्तरबाट संकलन भएको रगतबाट पूर्ति भइरहेको छ । रेडक्रस सोसाइटी, निजी अस्पताल, नागरिक समाजलगायतले यो रगत संकलन गरी त्यसबाट प्लेटलेट्स छुट्याएर बिरामीकहाँ पुर्‍याउँछन् । केन्द्रका जनसम्पर्क अधिकृत राम श्रेष्ठले रक्तदान वा संकलित रगत सकिएमा बिरामी आफन्तलाई रक्तदान गर्न लगाएर कम्पोनेन्ट सेपरेसन विधिबाट प्लेटलेट्स छुट्याएर बिरामीलाई दिइने गरेको बताए । ‘सामान्य रगतबाट प्लेटलेट्स फिल्टर गर्नुपर्छ, त्यसैले यसको मात्रा पूर्ति गर्न निकै कठिन हुन्छ,’ उनले भने, ‘हामीले मात्रै यसको माग पूर्ति गर्न सक्दैनौँ, अन्य समुदायस्तर र निजी अस्पतालले पनि रगत संकलन गर्नुभएको छ ।’ 

प्लेटलेट्सको मात्रा घट्नुको कारण खानाको सन्तुलन नमिल्नु पनि हो : डा. शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ
डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा घट्नुको कारण खानाको सन्तुलन नमिल्नु पनि हो । कतिपयले लक्षणको दुखाइ बढी भएपछि खाना खान चटक्कै छाड्छन् । त्यसले शरीर कमजोर पार्छ र रगतमा प्लेटलेट्सको मात्रा घट्छ । 

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यका अनुसार सरकारले रगत र त्यसबाट छुट्याइएको सेतो रगत प्लेटलेट्सको व्यवस्थापन नगर्दा बिरामीहरू भौँतारिनुपर्ने अवस्था छ । ‘अहिले प्लेटलेट्स तथा अन्य रगत संकलनमा सरकार जिम्मेवार छैन, सरकारी संस्थामा ब्लडको कमी भइरहेका वेला हामीले पूर्ति गरिरहेका छौैँ,’ उनले भने । कर्माचार्यका अनुसार प्लेटलेट्समा ए, बी, ओ, एबीमध्ये जुन आवश्यकता छ, त्यही ग्रुपको रगत चढाउनुपर्छ ।

डेंगुका बिरामीलाई किन चाहिन्छ प्लेटलेट्स ? 
डेंगु संक्रमणबाट गम्भीर बिरामीलाई प्लेटलेट्सको खाँचो पर्छ । त्यस्तै, अन्य कुनै रोग लागेर रक्तस्राव भएको छ, शरीर कमजोर भएको छ भने पनि रगतमा प्लेटलेट्सको मात्रा घट्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगुका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा कमी भएको भेटिएको छ । सो अवस्थामा उनीहरूलाई प्लेटलेट्स चढाउनुपर्ने हुन्छ । ‘अहिले डेंगुका बिरामीको संख्या बढिरहेको छ, यसबाट गम्भीर भएका बिरामीको रगतमा प्लेटलेट्सको मात्रा कमी भएकाले उनीहरूलाई प्लेटलेट्स दिनुपरेको हो,’ उनले भने, ‘अस्पताल भर्ना भएकामध्ये करिब ३० प्रतिशतको रगतमा प्लेटलेट्सको मात्रा कम भएको पाइन्छ ।’ उनका अनुसार सामान्य अवस्थामा व्यक्तिको रगतमा प्लेटलेट्सको मात्रा डेढ लाखदेखि पाँच लाखसम्म चाहिन्छ । तर, त्योभन्दा कम भएमा प्लेटलेट्स चढाउनुपर्ने हुन्छ । हाल देशभर डेंगु संक्रमण भयावह छ । डेंगुबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरका स्वास्थ्य संस्थामा करिब चार सयजना डेंगुका बिरामी उपचाररत छन् । उनीहरूमध्ये ३० प्रतिशतको रगतमा प्लेटलेट्सको मात्रा घटेको पाइएको छ । 

के हो प्लेटलेट्स ? 
प्लेटलेट्स सामान्य रगतमा हुने एक प्रकारको रगत नै हो । यसलाई सामान्यतया सेतो रगत पनि भनिन्छ । अहिले डेंगुका बिरामीलाई प्लेटलेट्स चाहिएको छ । यो रगत संकलन निकै कम हुन्छ । यो रगतलाई मल्टिपल ब्यागमा संकलन गरिन्छ । सामान्य रगत संकलन गरेपछि प्रयोगशालामा लगेर प्लाज्मा र प्लेटलेट्स छुट्याइन्छ । त्यसपछि कुनको आवश्यकता छ, त्यसलाई प्रयोग गरिन्छ । केन्द्रले हाल यो रगत निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै, अन्य निजीस्तरबाट संकलन भएको प्लेटलेट्समा सर्वसाधारणले पैसा तिर्नुनपर्ने जनसम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए ।