मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फुटपाथ व्यापारीबाट जफत गरेर टेकुमा राखिएका सामान । तस्बिर : नयाँ पत्रिका
शिवहरि घिमिरे काठमाडाैं
२०७९ असोज ३० आइतबार ०७:०६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विपन्नको सामान खोसेर चार महिनामा काठमाडौं महानगरले गर्‍यो ९० लाख आम्दानी   

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ असोज ३० आइतबार ०७:०६:००

सडकपेटी, साइकल तथा ठेलागाडामा बेच्न राखेको फलफूल, लत्ताकपडा र खाद्य सामग्री जफत कार्यलाई तीव्रता

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारीहरूबाट पछिल्लो चार महिनामा दैनिक झन्डै चार सय बोरा उपभोग्य वस्तु जफत गरेको छ । असार, साउन, भदौ र असोजमा ९० लाख मूल्यबराबरको फलफूल, चटपटे, तरकारी र दैनिक उपभोग्य वस्तु नगर प्रहरीले सडक व्यापारीबाट जफत गरेको हो ।

नगर प्रहरीले यस अवधिमा दुई सय हाराहारी ठेलागाडा र साइकल पनि जफत गरेको छ । ठेलागाडादेखि दैनिक उपभोग्य वस्तुको न्यूनतम मूल्य जोड्दा झन्डै एक करोड हाराहारीको सामान महानगरले जफत गरेको छ । यी सबै सामग्री तल्लो तहका व्यापारीबाट जफत गरिएको हो । 

पछिल्लो समय नगर प्रहरीले सडकपेटी, साइकल तथा ठेलागाडामा बेच्न राखेको फलफूल, लत्ताकपडा र खाद्य सामग्री जफत कार्यलाई तीव्रता दिएको छ । बालेन्द्र साह मेयरमा निर्वाचित भएर आएपछि नगर प्रहरी फुुटपाथ व्यापारीमाथि निर्मम बनेको छ । महानगरभित्रको फुटपाथ र सडक–किनारमा साना व्यापारीले बेच्न राखेका सामान नगर प्रहरी खोसेर टेकुमा संकलन गर्ने गरेको छ । जफत गरिएका सबैजसो सामान टेकुस्थित आन्तरिक प्रशासन तथा जरिवाना एकाइमा राखिएको छ । जफत गरिएका सामानले इकाइपरिसर भरिभराउ छ । पछिल्लो समय नगर प्रहरीले कडाइ गरेर ती सामान जफत गरेको महानगर नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले बताए । उनका अनुसार सडक तथा फुटपाथबाट बरामद गरिएका सामान फिर्ता दिइँदैन । त्यसलाई महानगरले लिलामी प्रक्रियाबाट बेच्छ । फलफूल तथा तरिकारी भने टेकुमै कुहिन्छ । कतिपय व्यापारीलाई चार हजार रुपैयाँसम्म जरिवाना तिराएर तरकारी र फलफूल फिर्ता पनि दिइन्छ । तर, उक्त तरकारी र फलफूल बेच्न राखेको ठेलागाडा र साइकल जफत हुन्छ । 

जरिवाना चर्को तथा ठेलागाडा र साइकल जफत हुने भएपछि अधिकांश सडक व्यापारी महानगरले खोसेको सामान लिन टेकु जाँदैनन् । ‘सडक तथा फुटपाथमा राखिएका साइकल, दैनिक उपभोग्य वस्तु, ठेलागाडालगायत सामान नगर प्रहरीले उठाउँछ,’ कार्कीले भने, ‘दैनिक उपभोग्य वस्तु लिलामी प्रक्रियाबाट हामीले बेच्छौँ ।’

उनका अनुसार बरामद गरिएका उपभोग्य वस्तु टेकुमा थुप्रिएकाले लिलामी प्रक्रिया अघि बढाइएको छ । लिलामी गर्न फलामजन्य, फर्र्निचरजन्य र दैनिक उपभोग्य वस्तु छुट्याइएको छ । महानगरको केन्द्रीय लिलाम समितिले उक्त सामान लिलाम गर्छ । समितिले एउटा दररेट तोकेर टेन्डर प्रक्रियाद्वारा सामान लिलाम गर्दै आइरहेको छ । हाल थुप्रिएका सामानको दररेट तोक्ने कार्य भइरहेको नगर प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । समितिले टिसर्टको मूल्य एक सय ५०, सर्टको एक सय ५०, मखमल पछ्यौरीको तीन सय, जिन्स पाइन्टको १२ सयदेखि २५ सयससम्म, ठेलागाडाको पाँच हजारदेखि १२ हजार, साइकलको दुई हजारदेखि आठ हजारलगायत सामानअनुसारको मूल्य तोकेको छ । त्यस्तै, अन्य भाँडाकुँडा तथा फलामजन्य वस्तुको पनि दररेट महानगर समितिले तोक्छ । दररेट तोकेपछि लिलामी प्रक्रिया अघि बढाइन्छ ।

०७६ फागुनमा काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बोर्ड बैठकले फुटपाथमा बेच्न राखिएका सामान जफत गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार महानगर प्रहरीले निर्मम तरिकाले सडक व्यापारीका सामानहरू खोस्ने गरेको छ । खोसेको सामान फिर्ता दिन नमिल्ने नियम नै बनाएकाले नगर प्रहरीले सोहीअनुसार कारबाही गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । 

यसबारे स्थानीय शासनविज्ञ खिमलाल देवकोटाले महानगरले फुटपाथ खाली गराउने नाममा अमानवीय व्यवहार गर्न नहुने बताए । साना व्यापारीको हितमा पनि काम गर्नुपर्नेमा जोड दिँदै उनले बरु सबैलाई करको दायरामा ल्याउनुपर्ने धारणा राखे । ‘महानगरले फुटपाथलाई व्यवस्थित पार्नुपर्छ, तर साना व्यापारीलाई अमानवीय व्यवहार गर्न पाइन्न,’ उनले भने, ‘बरु, उनीहरूबाट कर उठाएरै भए पनि गरिखाने ठाउँ तोकिदिनुपर्छ ।’

एक सय ५५ वटा साइकल जफत
फुटपाथ तथा सडकका गल्ली–गल्लीमा साइकल डुलाएर पेट पाल्नेमाथि पछिल्लो समय महानगर निर्मम बनेको छ । नगर प्रहरीले उनीहरूले बेच्न राखेका सामान मात्रै जफत गरेको छैन, गरिखाने भाँडो साइकल नै खोस्ने गरेको छ । साउनयता नगर प्रहरीले फुटपाथ र सडक व्यापारीबाट एक सय ५५ वटा साइकल खोसेको छ । त्यस्तै, तीन सयवटा तरकारी तथा फलफूल राख्ने क्रेट बरामद गरेको छ । पछिल्लो तीन महिनामा १७ वटा ठेलागाडा, आठवटा आइसक्रिम बेच्ने गाडा नगर प्रहरीले जफत गरेको छ । त्यस्तै, तीन सय बोरा खाद्यान्न र फलामजन्य वस्तु जफत गरेको छ । यति मात्रै होइन, सामान्य व्यापारीले गरिखाने भाँडा नै खोसेको नगर प्रहरीले उल्टै पाँच सय रुपैयाँ जरिवानासमेत तिराउने गरेको छ । सडकमा अवरोध हुने गरी व्यापार थापेको भन्दै नगर प्रहरीले फुटपाथ व्यापारीलाई थप हर्जानासमेत तिराउने गरेको हो ।