मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २९ शनिबार ०६:१९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मंसिर मसान्तसम्म थपियो चार वस्तुको आयात प्रतिबन्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २९ शनिबार ०६:१९:००

सरकारले चार प्रकारका वस्तुको आयातमा लगाएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सबै प्रकारका मदिरा, तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोन, जिप, कार, भ्यान र एक सय ५० सिसी क्षमताभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको छ । सरकारले देशभित्र मदिरा उत्पादनका लागि ल्याइने कच्चा पदार्थमा भने प्रतिबन्ध लगाएको छैन । यस्तै, एम्बुलेन्स र शववाहन गाडी आयातमा पनि प्रतिबन्ध लगाइएको छैन । गाडी व्यवसायीले गाडी आयात खुलाउन लबिङ गर्दै आइरहे पनि सरकारले प्रतिबन्धलाई निरन्तरता दिएको हो ।

नेपालस्थित कूटनीतिक नियोग, कूटनीतिक सुविधाप्राप्त अन्तर्राष्ट्रिय संघ–संस्था तथा संस्थामा कार्यरत कूटनीतिक सुविधाप्राप्त विदेशी कर्मचारीको निजी प्रयोगका लागि गाडी आयातमा बाधा नपर्ने बताइएको छ । यस्तै, ०७९ साउन १ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भइसकेका एक सय ५० देखि दुई सय ५० सिसीसम्मका मोटरसाइकल र तीन सयदेखि ६ सय अमेरिकी डलरसम्म मूल्य भएका स्मार्ट फोन आयातमा पनि प्रतिबन्ध लागू हुनेछैन । ०७९ वैशाख १३ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भइसकेका जिप, कार र भ्यान, मोटरसाइकल, सबै प्रकारका मदिरा र स्मार्ट फोन आयात गर्ने सम्बन्धमा पनि यो व्यवस्था लागू नहुने बताइएको छ ।

सरकारले आयात अस्वाभाविक रूपमा बढ्दा विदेशी मुद्राको सञ्चिति घट्दै गइरहेको भन्दै १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर, १४ भदौमा चुरोट तथा सुर्तीजन्य वस्तु, हीरा, ३२ इन्चभन्दा माथिको टेलिभिजन, कुरकुरे, लेज र तासमा लगाएको प्रतिबन्ध खुलाएको थियो । पछिल्लो समय २८ असोजसम्मका लागि भनेर आयातमा प्रतिबन्ध गरिए पनि विदेशी मुद्राको सञ्चितिमा खासै सुधार नभएको ठहर गर्दै सरकारले आयात प्रतिबन्ध थप दुई महिना लम्ब्याएको हो ।