मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २७ बिहीबार १०:४१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपहिरोले जुम्लाको सिँजाका ५१ घर पूर्ण रूपमा क्षति

Read Time : > 1 मिनेट
२०७९ असोज २७ बिहीबार १०:४१:००

बाढीपहिरोका कारण जुम्लाको सिँजा गाउँपालिकाका ५१ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । १९ देखि २५ असोजसम्म लगातार परेको अविरल वर्षासहित आएको बाढीपहिरोले घर क्षतिग्रस्त भएका हुन् । 

एक सय २० घर जोखिमपूर्ण अवस्थामा रहेको सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।  उनले भने, ‘१० किलोमिटर सडक बाढीपहिरोले अवरुद्ध भएको छ ।’ 

३५ वटा सानाठूला काठेपुल बगायाे

३५ वटा सानाठूला काठेपुल बाढीले बगाउँदा नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा आवत–जावत गर्न अप्ठ्याराे भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकको सिँजा गाउँपालिका क्षेत्रमा १० किलोमिटर सडकमा ६ स्थानमा पहिरो जाँदा एक सातादेखि सडक अवरुद्ध भएको छ ।  

आठ सय रोपनीमा लगाएको धानबाली नस्ट

सिँजा गाउँपालिका वडा नम्बर १, २ र ३ मा खेतीयोग्य जमिन बाढीपहिरोले बगाएपछि आठ सय रोपनीमा लगाएको धानबाली नष्ट भएको पालिका अध्यक्ष धितालले बताए । यस्तै, वडा नम्बर ४, ५ र ६ मा सिमी, आलु मकैलगायतको पाखे बाली पनि वर्षाको कारण सखाप भएको छ । बाढीपहिरोमा परेर ३० पशुचौपाया बेपत्ता भएका छन् । 

१५ वटा विद्यालय भवन र प्रांगणमा आंशिक क्षति

१५ वटा विद्यालय भवन र प्रांगणमा आंशिक क्षति भएको छ । गाउँपालिका भवन डुबानमा परेको र गाउँपालिकाभित्र राखेका ६ वटा मोटरसाइकल र फाइल कागजातसहित बाढीले क्षति गरेको छ ।  

१० वटा सोलार प्यानलसहित गाउँपालिकामा जडान गरिएको सोलार सेट ध्वस्त

पालिकामा रहेका १० वटा सोलार प्यानलसहित गाउँपालिकामा जडान गरिएको सोलार सेट ध्वस्त भएको छ । नराकोट प्रहरी चौकी पनि  क्षतिग्रस्त रहेको छ । नराकोट बजारका २२ वटा पसलका सामानमा क्षति पुगेको छ । पालिकाभर करिब ६ हजार स्याउका बिरुवा पहिरोले पुरिएका छन्  । बाढीपहिरोले पिठो पिस्ने पानीघट्ट बगाएको छ ।

१९ वटा सिँचाइ कुलोका बाँध भत्किए

१९ वटा सिँचाइ कुलोका बाँध भत्केका छन्  । वडा नम्बर २, ३ र ४ मा रहेका चारवटा कुटानी, पिसानी र तेल तथा काठका मिल भत्केका छन् । दैनिक आपूर्ति हुने २० वटा खानेपानीका परियोजना बाढीपहिरोले बगाएपछि खानेपानीको समस्या भएको सिँजा गाउँपालिकाले जनाएको छ । 

पाँचवटा साना लघु जलविद्युत् परियोजना ध्वस्त

पाँचवटा साना लघु जलविद्युत् परियोजना ध्वस्त भएपछि गाउँ अन्धकार भएका छन् । सिँजा गाउँपालिकामा रहेका जोडु, भाडगाउँ  चुलेलगाउँ बस्ती अन्यत्र सार्नुपर्ने अवस्था रहेको सिँजा गाउँपालिकाका अध्यक्ष धितालले बताए ।