मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ असोज २७ बिहीबार ०८:२१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नयाँ लगानीका लागि प्रदेश १ मा १२ खर्बका योजना

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ असोज २७ बिहीबार ०८:२१:००

प्रदेश १ को लगानी प्राधिकरणले नयाँ लगानी वृद्धि गराउन १२ खर्ब रुपैयाँबराबरको नयाँ योजना तयार पारेको छ । प्रदेश १ सरकारको लगानी प्राधिकरणले  कृषि र उद्योगमा ५३, पर्यटनमा २१, वाणिज्यमा २, सहरी पूर्वाधारमा ४ र १७ वटा अन्य विभिन्न क्षेत्रसहित जम्मा ९६ वटा ठूला योजना तयार पारेको हो । 

हालसम्म निर्माण भएका योजना कहाँ–कहाँका लागि र कस्ता–कस्ता छन् भन्नेबारे केही महिनापछि लगानी सम्मेलन गरेर सार्वजनिक गरिने लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । निर्देशक कोइरालाका अनुसार प्राधिकरणले तयार गरेका ९६ वटा योजना सबै निजी क्षेत्रलाई बिक्री गरिनेछन् । ती सबै योजना कार्यान्वयनमा आए प्रदेशमा करिब १२ खर्बको नयाँ लगानी भित्रिने उनको भनाइ छ । 

तयार भएका ९६ योजनामध्ये कृषि र उद्योगमा ११, पर्यटनमा नौ र सहरी पूर्वाधारका चार योजना चाँडै विस्तृत अध्ययनमा लाने प्राधिकरणको तयारी छ । 
प्राधिकरणले प्रदेश १ का पहाडी जिल्लाबाट ६ र तराईका जिल्लाबाट आठवटाका दरले योजना छनोट गरेको छ । 

फोहोरमैला र पार्किङका लागि पनि कार्यक्रम
प्राधिकरणले प्रदेश १ का सातवटा सरहको पार्किङ समस्या पनि हल गर्ने गरी योजना निर्माण गरिसकेको छ । यस्तै, फोहोर व्यवस्थापनका लागि पनि विभिन्न योजना तयार गरिएका छन् । प्राधिकरणले निर्माण गरेको योजनामध्ये धनकुटाको भेडेटारमा सार्वजनिक निजी साझेदारी मोडलमा २० करोड लगानीमा ५५ मिटर लामो र अढाई मिटर चौडाइ भएको स्काई वाक(सिसाको पुल) निर्माण भइरहेको छ । 

यस्तै, विराटनगरको ‘बि प्लट’मा २५ तले बहुउद्देश्यीय भवन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने काम पनि अगाडि बढेको छ । सुनसरीको बर्जुतालमा पूर्वाधार निर्माण गर्ने र सोलुखुम्बुमा सगरमाथा केबलकार निर्माण गर्नका लागि अध्ययन पनि भइरहेको कार्यकारी निर्देशक कोइरालाले बताए । प्रदेश १ सरकारले ०७६ मा प्रदेश सभाबाट कानुन निर्माण गरी सोही वर्षको माघमा लगानी प्राधिकरण गठन गरेको थियो ।