मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कैलालीको भजनीस्थित हुलाकी राजमार्गमा त्रिपाल टाँगेर बसेका बाढीपीडित । घर डुबानमा परेकाले अधिकांश फर्कन सकेका छैनन् । तस्बिर : नयाँ पत्रिका
२०७९ असोज २६ बुधबार ०८:३८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बाढीपीडित भोकभोकै

Read Time : > 1 मिनेट
२०७९ असोज २६ बुधबार ०८:३८:००

बाढीले घर डुबानमा परेपछि विस्थापित भएका परिवारलाई खान र बस्नको समस्या भएको छ । सडक र विद्यालयमा आश्रय लिएर बसिरहेका कतिपय विस्थापित भोकभोकै बसेका छन् । बाढीले लुगाफाटो बगाएपछि शरीरमा लगाएको लुगासमेत फेर्न नपाएको उनीहरूको गुनासो छ ।

अविरल वर्षासँगै विभिन्न नदी तथा खोलाहरूमा आएको बाढी बस्ती पस्दा विस्थापित भएका कैलालीका एक हजार तीन सय परिवारमध्ये अधिकांश घर फर्कन सकेका छैनन् । दाउरा, भाँडाकुँडाको अभावले सडकमा खाना बनाएर खाने अवस्था नरहेको विस्थापित भएर हुलाकी राजमार्गमा बसिरहेका भजनी नगरपालिका– ८ खल्ला टोलका राजेश चौधरीले बताए । ‘बिहान मेसमा खान पाइएको थियो । बेलुकी खाना सकियो भनेपछि भोकै फर्केर आयौँ । आज भोकै बस्नुपरेको छ,’ मंगलबार अबेर राति नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘न खान पाइएको छ, न राम्ररी सुत्न ।’

विस्थापितलाई खुवाउन नगरपालिकाले केही ठाउँमा मेस सञ्चालन गरेको छ । तर, विस्थापितको संख्या धेरै भएकाले सबैले खाना पाउन नसकेको पीडितको गुनासो छ । ‘भोक लागेको वेला खान पाएका छैनौँ, विस्थापित हुँदा लगाएको लुगा फेर्न पाएका छैनौँ । ओढ्ने, ओछ्याउने लुगा छैन,’ भजनी– ८ कै पदम धमलाले भने, ‘पानी र चाउचाउको भरमा बस्नुपरेको छ ।’ 

भजनीकै विस्थापित जिदल चौधरीले बालबालिकासहित सडकमा पालमुनि बस्न कठिन भएको बताए । भजनी नगरपालिकामा मात्रै करिब चार सय परिवार बाढीले घर डुबानमा परेपछि विस्थापित भएका छन् । विस्थापित करिब तीन सय परिवार हुलाकी राजमार्गमा त्रिपाल टाँगेर आश्रय लिइरहेका भजनीका मेयर केवल चौधरीले बताए । वस्तुभाउसमेत लिएर विस्थापितहरू हुलाकी राजमार्ग, विद्यालय र सामुदायिक भवनहरूमा बसिरहेका छन् । बाढीबाट टीकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ । 

टीकापुरमा मात्रै करिब आठ सय परिवार सोमबार विस्थापित भएका थिए । टीकापुरका मेयर रामलाल डगौरा थारूले विस्थापितलाई तत्काल खाद्यान्न, त्रिपाल, झुललगायतको व्यवस्थापन भइरहेको बताए । विस्थापितको बसोवास तथा खानपानको व्यवस्थापन मिलाउने कोसिस भइरहेको उनले बताए । धेरै परिवार अहिले पनि घर फर्कने अवस्था नरहेको उनले बताए ।  

यही असोजको पहिलो साता अविरल वर्षाका कारण आएको बाढीले भजनीमा मात्रै दर्जनौँ परिवार विस्थापित भएका थिए । सात–आठ दिनसम्म विस्थापित भएर घर फर्केका पीडित परिवार डुबान हुँदा पुनः हुलाकी राजमार्गमा आउनुपरेको छ ।