१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज २५ मंगलबार ११:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका पर्यटकीय गाउँमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

Read Time : < 1 मिनेट
२०७९ असोज २५ मंगलबार ११:१५:००

लमजुङका पर्यटकीय गाउँहरूमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पछिल्लो समय होमस्टे घुम्न गएर बिदा मनाउने आन्तरिक पर्यटकको संख्या पनि बढेकाले पर्यटकीय गाउँमा चहलपहल बढेको हो । 

दसैँ र तिहार बिदालाई घुमघामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टेतिर जाने गरेका हुन् । घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार बिदा मनाउन दैनिक  ५० देखि सयजनासम्म पर्यटक घलेगाउँ आएका छन् ।  

पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकको व्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक विष्णु गुरुङ बताउँछिन् । उनी भिन्छिन्, ‘पर्यटक आएसँगै पर्यटकको स्वागत–सत्कारमा व्यस्त छु ।’ यस्तै लमजुङको उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा रहेको गाउँसहरको काउलेपानी होमस्टेमा पनि पर्यटक आगमन बढेको छ । 

अहिले दैनिक पारिवारिक एवं समूहगत रूपमा पाहुना आउन थालेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । पर्यटकहरूको आगमन बढेपछि होमस्टे व्यवसायी उत्साहित भएका छन् । 

होमस्टे व्यवसायी पर्यटकको स्वागत–सत्कार, सांस्कृतिक कार्यक्रम, पाहुनाको व्यवस्थापन, बिदाइलगायतका काममा व्यस्त हुन थालेका छन् ।  पछिल्लो समय लमजुङ ग्रामीण पर्यटनको हबसमेत बन्दै गएको छ । सुखी गाउँ, घलेगाउँ, काउलेपानी होमस्टे, राइनासकोट होमस्टे, बेसीँसहरको खासुर, खुदीको सिउरुङ, मर्स्याङ्दीको हर्सिङडाँडा, घेर्मुको रकगार्डेनलगायतका गाउँमा यतिवेला पर्यटक पुगेका छन् ।