मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असोज २५ मंगलबार ०८:०४:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीत्रयलाई

Read Time : > 2 मिनेट
२०७९ असोज २५ मंगलबार ०८:०४:००

अमेरिकी अर्थशास्त्रीत्रय बेन वर्नान्के, डगलस डायमन्ड र फिलिप डिवभिगलाई यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुुरस्कार प्रदान गरिएको छ । विश्वले आर्थिक एवं वित्तीय कठिनाइ गरिरहेको समयमा ‘स्भेरिग्स रिक्स बैंक’ नामक अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बैंक तथा वित्तीय संकटबारेको खोजले प्राप्त गरेको छ । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले सअल्फ्रेड नोबेलको सम्झनामा प्रत्येक वर्ष विभिन्न विद्यामा नोबेल पुरस्कार प्रदान गर्ने गर्छ । ब्रुकिङ्स इन्स्टिच्युट वासिंगटनका प्राध्यापक बर्नान्के अमेरिकाको केन्द्रीय बैंकका पूर्वअध्यक्ष हुन् भने डायमन्ड सिकागो विश्वविद्यालय र डिवभिग वासिंगटन विश्वविद्यालयका प्राध्यापक हुन् । 

 के हो उनीहरूको योगदान ?
उनीहरूको खोजले अर्थतन्त्रमा विशेषगरी वित्तीय संकटको समयमा बैंक एवं वित्तीय संस्थाहरूको भूमिकाबारे महत्वपूर्ण अन्तज्र्ञान प्रदान गरेको र त्यसले समाजको संकटसँग जुझ्ने सामथ्र्य उल्लेख्य स्तरमा बढाएको रोयल स्विडिस एकेडेमी अफ साइन्सेसको विज्ञप्तिमा उल्लेख छ । उनीहरूको खोजले संकटमा बैंकहरूलाई धराशयी हुनबाट बचाउनु महत्वपूर्ण हुने देखाएको छ । बैंक धराशयी हुनबाट किन बच्नुपर्छ भन्ने नै उनीहरूको अनुसन्धानको मुख्य खोज हो ।

 ‘बैकिङसम्बन्धी आधुनिक अनुसन्धानहरूले हामीसँग बैंक किन छन् ? वित्तीय संकटमा वित्तीय क्षेत्रको जोखिमलाई कसरी कम गर्न सकिन्छ ? संकटमा बैंक धराशयी हुँदा त्यसले संकटलाई कसरी बढाउँछ भन्ने विषयलाई स्पष्ट पारेका छन् । यो अनुसन्धानको जग बेन वर्नान्के, डगलस डायमन्ड र फिलिप डिवभिगले सन् १९८० को दशकमा बसालेका थिए,’ नोबेल समितिले भनेको छ, ‘उनीहरूको विश्लेषणको वित्तीय बजारको नियमन र वित्तीय संकटसँग जुझ्ने सवालमा निकै ठूलो व्यावहारिक महत्व छ ।’

सन् २००८ को विश्वव्यापी वित्तीय संकटको समयमा अमेरिकी केन्द्रीय बैंकको नेतृत्व गरेका बर्नान्केलाई ‘महामन्दी’मा बैंकको भूमिकामाथि गरेको अनुसन्धानका लागि पुरस्कृत गरिएको हो । वर्नान्केले आधुनिक इतिहासको सबैभन्दा खराब आर्थिक संकट सन् १९३० को दशकको महामन्दीको विश्लेषण गरेका छन् । उनले कसरी बैंकहरू यो संकटको निर्णायक कारक भए र उक्त संकट त्यति गहिरो र लामो हुनमा वित्तीय क्षेत्रको भूमिका कस्तो रह्यो भन्ने देखाएका छन् । बैंकहरू धराशयी बन्दा ऋणीहरूको मूल्यवान् जानकारी हराउँदा बचतलाई उत्पादनशील लगानीमा परिचालन गर्ने समाजको क्षमता घटेको तथ्यलाई उनले उजागर गरे । ‘यी नोबेल विजेताहरूको अन्तज्र्ञानले गम्भीर संकट र महँगो उद्धार दुवैबाट बच्ने हाम्रो क्षमता बढाएको छ,’ अर्थशास्त्रको नोबेल पुरस्कार सिफारिस गर्ने समितिका अध्यक्ष टोर इलिंसेनले भनेका छन् । 

बेन वर्नान्के, डगलस डायमन्ड र फिलिप डिवभिगले वित्तीय संकट र बैंकको भूमिकाबारे गरेको उल्लेख्य खोजलाई नोबेल पुुरस्कार प्रदान गरिएको हो

त्यस्तै, डायमन्ड र डिवभिगको अनुसन्धानले बैंकहरूका ऋणी र बचतकर्ताबीचको तनाव समाधानमा मद्दत गर्छ । अर्थतन्त्रले काम गर्न बचतलाई लगानीमा लगाउनुपर्ने हुन्छ । बचतकर्ताहरू अप्ठ्यारो परेका बखत आफूले राखेको पैसामा तत्कालै पहुँच चाहन्छन्, जबकि उनीहरूको निक्षेपबाट ऋण प्राप्त गरेका ऋणीहरूचाहिँ सकेसम्म ढिलो तिर्न पाएहुन्थ्यो भन्ने ध्याउन्नमा हुन्छन् । यहाँनेर विपरीत वा द्वन्द्वको स्थिति देखा पर्छ । डाइमन्ड र डिवभिगले बैंकहरूले यो समस्याको सर्वाेत्तम समाधान कसरी प्रदान गर्छन् भनेर देखाएका छन् । यस्तो स्थितिमा बैंकको वित्तीय स्थिति राम्रो नरहेको अफवाह फैलियो भने मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बैंक आफैँ संकटमा धकेलिने तथ्यलाई उनीहरूले नियालेका छन् । 

यी दुई गतिविधिबीच बैंक धराशयी हुँदै छ भन्ने अफवाहले उनीहरूलाई कसरी असुरक्षित बनाउँछ भनेर पनि उनीहरूको विश्लेषणले देखाउँछ । ठूलो संख्यामा बचतकर्ताहरू एकैसाथ बचत निकाल्न गए भने अफवाह यथार्थमा बदलिन बेर नलाग्ने उनीहरूको विश्लेषण छ । यस्तो खतरनाक गतिशीलताबाट बैंकलाई अन्तिम ऋणदाताको रूपमा भूमिका निर्वाह गरेर सरकारले निक्षेप बिमामार्फत बचाउन सक्ने विधि खुट्याउन उनीहरूको अनुसन्धानले मद्दत गरेको थियो ।

सोमबारको पत्रकार सम्मेलनमा जवाफ दिँदै डाइमन्डले बेलायतको हालैको उथलपुुथललाई देखाउँदै विश्वभर ब्याजदरमा देखिएको तीव्र वृद्धिले वित्तीय बजारमा अस्थिरता निम्त्याएको औँल्याए । तर, सन् २००८ को दुर्घटनाबाट सिकेको कठोर पाठका कारण विश्वको वित्तीय प्रणाली पहिलेभन्दा धेरै लचिलो भएको धारणा उनले व्यक्त गरे । ‘त्यस संकटको स्मरणहरू र विश्वभरका नियामकका नीति सुधारले यो प्रणालीलाई कम जोखिमपूर्ण बनाएको छ,’ डायमन्डले भने ।

सन् २००६ देखि २०१४ सम्म फेडको जिम्मेवारी सम्हालेका बर्नान्केले बैंक तथा वित्तीय संस्याहरूको उद्धारमा प्रमुख भूमिका खेलेका थिए । बर्नान्के अमेरिकी केन्द्रीय बैंक (फेड)को अध्यक्ष रहेका समयमा फेडले आर्थिक वृद्धिलाई प्रेरित गर्न बजारबाट ठूलो परिमाणमा ऋणपत्र (सम्पत्ति) खरिद गर्ने उपाय अर्थात् परिमाणात्मक खुकुलोपन (क्वान्टिटेटिभ इजिइङ) प्रयोगमा ल्याएको थियो । 

केन्द्रीय बैंकको सोच र आशयबारे सर्वसाधारणसँगको सञ्चारमा पनि उनले सुधार गरे । अहिले यी उपाय अमेरिकाको केन्द्रीय बैंकको वित्तीय बजारलाई स्थिर बनाउने र अर्थव्यवस्थालाई सहयोग गर्ने नीति उपकरण बनेका छन् । यद्यपि उनको यो नीति लेहम्यान ब्रदर्सको पतनलाई भने जोगाउन असफल भएको थियो । सन् २००८ को सेप्टेम्बरमा लेहम्यानको पतनलाई वित्तीय संकटको विस्तार बिन्दु मानिन्छ । पुरस्कारबापत अर्थशास्त्री त्रयले एक करोड स्विडिस क्रोनर बाँडेर लिनेछन् । अर्थशास्त्रतर्फको पुुरस्कार अल्फ्रेड नोबेल आफँैले स्थापना गरेका भने होइनन्, उनको सम्झनामा स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको हो ।