मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ असोज २४ सोमबार ११:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ताराबारी : छुवाछुतमुक्त समावेशी गाउँ

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ असोज २४ सोमबार ११:५९:००

झापाको मेची नगरपालिका– १० ताराबारी गाउँका पदम विश्वकर्मा र उनकी पत्नी कृष्णमाया हरेक वर्षझैँ यसपालिको दसैँमा पनि सपरिवार  छिमेकी भजुवा र लक्ष्मण उरावकोमा कोसेली लिएर टीका थाप्न गए। मान्यजनबाट हार्दिकतापूर्वक टीका थापेर आशीर्वाद र दक्षिणा मात्र लिएनन्, स्वादिष्ट भोजन पनि ग्रहण गरे।

पदमबहादुरको परिवार मात्र होइन ताराबारीका रतिलाल किसान हरेक सालझैँ यसपालि पनि पदमलालको घरमा एक बोतल घरेलु रक्सी कोसेली बोकेर आए। मान्यजनसँग टीका थापेर नाता–सम्बन्ध प्रगाढ बनाए। सोही गाउँका गोपाल घतानी र टीपक परियारलाई पनि छिमेकीहरूसँग टीका आदान–प्रदान गर्न भ्याइनभ्याई भयो।

संविधान र कानुनले दण्डनीय माने पनि समाजमा अझै जातीय विभेद र छुवाछुत कायमै छ। कथित सानो र ठूलो जातको बहानामा एउटै समाजका छरछिमेकीबीच असहयोग गर्नेेदेखि सामाजिक बहिष्कार गर्नेसम्मका घटना सार्वजनिक भइरहेका छन् । पछिल्लो समय धेरै ठाउँ घोषणाका लागि छुवाछुतमुक्त भनिए पनि व्यवहारमा पूर्ण समावेशी र छुवाछुतमुक्त भइसकेका छैनन्।

तर, मेची– १० को ताराबारी गाउँमा भने छुवाछुत व्यवहारमा नै अन्त्य भइसकेको छ। यहाँका करिब ७० घरपरिवार जातीय छुवाछुत र वर्गीय भेदभावरहित व्यवहारसहित हार्दिकतापूर्वक समावेशी रूपले सांस्कृतिक पर्वहरू मनाउँदै बसोवास गरिरहेका छन्।

वर्षौँदेखि सँगै बस्दै आएकाले मानिस सानो–ठूलो जातको हुन्छ भन्ने आफूहरूले नमान्ने स्थानीय गोपाल विश्वकर्मा बताउँछन्। उनका अनुसार हरेक वर्ष यहाँ बसोवास गर्ने दलित र गैरदलित सबैले दसैँ र तिहारको भाइटीका हार्दिकतापूर्वक मनाउने गरेका छन्। दुर्गा र कालीपूजा धुमधामले संयुक्त रूपले आयोजन गर्ने गरेका छन्।

ताराबारी गाउँमा पहाडी समुदायका विश्वकर्मा, परियार, मिजार, बाहुन, क्षेत्री, राई, लिम्बू अनि आदिवासी र अल्पसंख्यक समुदायका राजवंशी, किसान, बंगाली, उराव, मुन्डा आदि जातका मानिसको बसोवास छ। वर्षौँदेखि ऐलानी जमिनमा बस्दै आएका उनीहरू सबै सकुमबासी छन्। सबैले ज्यालामजदुरी गरेर जीविका चलाउँछन्। कोहीकोही भारत र तेस्रो मुलुक वैदेशिक रोजगारीमा पनि गएका छन्।

स्थानीय अगुवा महिला कृष्णमाया विश्वकर्माका अनुसार सबैको वर्ग समान भएकाले जातीय छुवाछुतमुक्त मात्र नभएर यहाँ धनी र गरिबबीच भेदभाव पनि छैन। अगुवा महिला कृष्णमाया भन्छिन्, ‘हाम्रो गाउँमा जातपातको कुनै तगारो छैन। मर्दापर्दा  एक–आपसमा सबैले सरसहयोग गर्ने गरेका छौँ। सामाजिक कामका लागि क्लब निर्माण गरेर मालवस्तु जोडेका छौँ । सबैखाले कार्यमा निर्धक्क सहयोग आदान–प्रदान गर्छौँ।’ 

स्थानीय अगुवा बन्दन उरावका अनुसार सुकुमबासीहरू बसोवास गर्ने भए पनि आसपासका गाउँका मानिसका लागि ताराबारी गाउँ रोजगारीका लागि जनशक्ति धान्ने र मनोरञ्जनका लागि सांस्कृतिक केन्द्रजस्तै छ। आफैँमा जातीय छुवाछुतमुक्त भए पनि ताराबारीका दलितले आसपासका गाउँमा भने भेदभाव भोग्ने गरेका छन्। यद्यपि, अरूले विभेदपूर्ण व्यवहार गरे पनि यहाँका स्थानीयले गाउँमा विकृति भित्रिन भने दिएका छैनन्। स्थानीय दीपक परियार भन्छन्, ‘यसैले हाम्रो ताराबारी गाउँ छुवाछुतमुक्त मात्र नभएर जातीय सदभावका लागि पनि नमुना गाउँ हो।’