१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ असोज २३ आइतबार १७:४७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिकट नपाएपछि एमाले मोरङमा विद्रोह, पार्टी त्यागेर उम्मेदवारी दर्ता

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ असोज २३ आइतबार १७:४७:००

अन्तिम समयमा टिकट नपाएपछि मोरङको क्षेत्र नम्बर ५ मा एमालेका दुई नेताले पार्टीबाट विद्रोह गर्दै उम्मेदवारी दर्ता गराएका छन्।

एमाले मोरङबाट प्रतिनिधिसभाको उम्मेदवारमा नाम टुंगो लागिसकेका योगेन्द्र मण्डलले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी, एमालेकी पूर्वप्रदेश सभा सदस्य वसन्तीदेवी यादवले पनि पार्टी त्यागेर हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छिन्।

पार्टीले जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेपछि पहिलेदेखि नै चुनावी अभियानमा होमिएका मण्डल अन्तिम समयमा टिकट पाउनबाट वञ्चित भए। उनको ठाउँमा जसपाका राजकुमार यादवले टिकट पाएका छन्।

यता पार्टीले एक नम्बरमा आफ्नो नाम समानुपातिक सूचीमा सिफारिस गरे पनि अन्तिम समयमा काटिदिएको भन्दै असन्तुष्ट वसन्तीदेवी यादवले पार्टीबाट विद्रोह गरेको बताएकी छिन्। टिकट वितरणमा विभेद भएको भन्दै मोरङमा एमाले नेताहरूले धमाधम पार्टी परित्याग गरिरहेका छन्।

एमाले प्रदेश १ समिति सचिवालय सदस्य डिल्लीप्रसाद शर्मा अधिकारीले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरेका छन्। उनी मोरङको १ नम्बर निर्वाचन क्षेत्रको (ख)बाट प्रदेश सभा सदस्य उम्मेदवारका आकांक्षी थिए। उनीसँगै केराबारी गाउँपालिकाका एमाले अध्यक्षसहित २० कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। अधिकारीको ठाउँमा एमालेले खड्ग बस्नेतलाई टिकट दिएको छ।

यसैगरी, टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडा र सचिवालय सदस्य मेघराज कट्टेलले पनि पार्टी परित्याग गरेका छन्। सचिव खतिवडा मोरङ १ (क)बाट र सदस्य कट्टेले २ (क)बाट प्रदेश सभा सदस्य उम्मेदवारका अकांक्षी थिए। तर, एमालेले खतिवडाको ठाउँमा उमाकान्त गौतम र कट्टेलको ठाउँमा म्यानपावर व्यवसायी डिबी कार्कीलाई टिकट दिएको छ।

सहमति उल्लंघन गर्दै घिमिरे र पर्शुरामलाई टिकट
जसपासँग चुनावी गठबन्धन गरेको एमालेले अन्तिम समयमा सहमति उल्लंघन गर्दै आफ्नै कार्यकर्तालाई टिकट दिएको छ। एमालेले मोरङ ४ (ख)मा पूर्वप्रदेशमन्त्री जीवन घिमिरे र ६ (ख) पर्शुराम बस्नेतलाई प्रदेश सभा सदस्य उम्मेदवारको टिकट दिएको हो। जसपासँग भएको सहमतिअनुसार ४ (ख)मा जसपाका सञ्जयकुमार सिंहले र ६ (ख)मा राजेन्द्रकुमार गुप्ताले टिकट पाउने निश्चित थियो।