मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १९ बुधबार ०४:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १९ बुधबार ०४:००:००

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

बडादसैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आमनागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् । 

आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उनको भनाइ छ । प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रम थप प्रभावकारी ढंगले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षाबमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक–सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका छन् । 

‘बहुधार्मिक, बहुजातीय एवं बहुसांस्कृतिक नेपालका सबै जाति र समुदायको भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास गर्दै राष्ट्रिय एकता र सदभावलाई सुदृढ तुल्याउन सरकार प्रतिबद्ध छ,’ सन्देशमा उनले भनेका छन्, ‘सबै जाति, भाषा, संस्कृति र सभ्यताहरूको संरक्षण र विकासबाट मुलुकको राष्ट्रिय एकता थप मजबुत हुन्छ ।’