१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १६ आइतबार ११:२५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ठूलासहित ३६ दलले बुझाए आयोगमा संशोधित बन्दसूची

आज अन्तिम दिन १२ दललाई समानुपातिकको बन्दसूची सच्याउन समय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १६ आइतबार ११:२५:००

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख दलहरूले शनिबार समानुपातिक प्रणालीतर्फको संशोधित बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । आयोगको आग्रहअनुसार शनिबार ३६ दलले संशोधित सूची बुझाएका हुन्।

सूची पेस गर्दा समानुपातिक र समावेशी सिद्धान्तबमोजिम रित पुगेका आवश्यक कागजात अनिवार्य रूपमा पेस गर्न आयोगले दलहरूलाई पत्राचार गरेको थियो । पत्राचार गरेकामध्ये शनिबार ३६ दलले बन्दसूची पेस गरेको आयोगले जनाएको छ । समानुपातिकतर्फका लागि आयोगमा ४८ दल दर्ता छन्।
 
आयोगका प्रवक्ता गुरु वाग्लेले शनिबार कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा, लोसपा, राप्रपा र नेमकिपालगायत दलले बन्दसूची पेस गरेका छन् । आयोगका अनुसार आइतबार सच्याउने अन्तिम दिन १२ दललाई बन्दसूची पेस गर्न पत्राचार गरिएको छ । यसबाहेकका दलले बन्दसूची सच्याएर बुझाइसकेका थिए। 

आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि ४ देखि ९ असोजसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको थियो । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने समयसीमा थियो। 

संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा १७ असोजको बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने, सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने, २० देखि २२ असोजको ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्काे उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यतालिका छ। 

प्रतिनिधिसभातर्फ ६४ एकल र १२ दलबाट चार संयुक्त निवेदनसहित ७६ दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका थिए । तर, प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४८ दलले बन्दसूची बुझाएका थिए। 

०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनमा समानुपातिकतर्फ ५५ राजनीतिक दलले निवेदन पेस गरेकोमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको ४९ दलले मात्र उम्मेदवारको बन्दसूची पेस गरेका थिए। 

यस्तै, यही २२ असोजमा उम्मेदवारको बन्दसूचीमा सूचना प्रकाशन गर्ने, २३ देखि २९ असोजसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधका लागि निवेदन दिने, ३० असोजमा दाबी विरोधको निवेदनमाथि जाँचबुझ गरी निर्णय लिने, ८ कात्तिकमा बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र ९ कात्तिकमा उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यतालिका छ। 

यस्तो छ प्रत्यक्षतर्फको कार्यतालिका 

आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २३ असोजमा उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ देखि २५ असोजसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ। 

यस्तै, २५ असोजमा उम्मेदवारको नामावली प्रकाशन गर्ने र २६ असोजमा उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।