मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज १५ शनिबार ०९:५७:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युवराज दीपेन्द्रलाई बक्सिङ सिकाएका बक्सर जसले नेपाललाई दोस्रो अन्तर्राष्ट्रिय पदक दिलाए

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज १५ शनिबार ०९:५७:००

उमेश मास्के अर्थात् आफ्नो समयका चर्चित नेपाली बक्सर । नेपाली बक्सिङमा मास्केको नाममा केही कीर्तिमान छन् । उनी देशलाई  दोस्रो अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी हुन् । सन् १९८० मा भारतमा आयोजना भएको एसियन एमेच्योर बक्सिङ च्याम्पियनसिपमा उनले नेपाललाई बक्सिङबाट कांस्य पदक दिलाएका थिए । यो नै नेपालको दोस्रो अन्तर्राष्ट्रिय पदक थियो । यसअघि सन् १९७४ मा जितबहादुर केसीले फिलिपिन्सको मनिलामा भएको म्याराथनबाट नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । 

०३२ सालदेखि राष्ट्रिय च्याम्पियन बनेका मास्केको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता सन् १९७९ को प्रि–ओलम्पिक हो । खेल जीवन छाडेपछि बक्सिङ संघको अध्यक्ष हुने पहिलो व्यक्ति हुन् । उनले आठ वर्ष बक्सिङ संघ हाँके । उनकै भाषामा भन्दा ‘नेपाली बक्सरमध्ये रिङमा आधिकारिक जुत्ता लगाउने पहिलो खेलाडी उनी नै थिए ।’ काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै निवासमा मास्केले नेपालको दोस्रो अन्तर्राष्ट्रिय पदक दिलाएको क्षणलाई नयाँ पत्रिकाकर्मी रमेश सुवेदीलाई यसरी सुनाए । 

 कोरियनसँग पराजित भएपछि कांस्य पदक
ओलम्पिकबाट भर्खर प्रतिस्पर्धा गरी फर्केर आएको थिएँ । ओलम्पिकको अनुभव भारतमा आयोजित एसियन एमेच्योर प्रतियोगितामा मज्जाले प्रयोग गरेँ । एसियनस्तरको प्रतिस्पर्धामा केही गर्छु भन्ने हुटहुटी थियो । पहिलो चरणमा मंगोलियन खेलाडी प्रतिद्वन्द्वी थिए । उनी खेल्न आएनन् । म सहजै दोस्रो चरणमा पुगेँ । दोस्रो चरणमा दक्षिण कोरियाका किङ डन थिए । अनुभवी कोरियन खेलाडीविरुद्ध राम्रो गर्न सकिनँ । कोरियनसँग पराजित हुँदा स्वर्ण जित्ने सपना पूरा हुन पाएन । सेमिफाइनल लिस्टमा दुईजना खेलाडीलाई संयुक्त रूपमा कांस्य दिने प्रावधान थियो । नेपाली बक्सिङ इतिहासकै पहिलो तथा नेपालकै दोस्रो अन्तर्राष्ट्रिय पदक त्यही नै थियो । 


सन् १९७९ मस्कोमा भएको प्रि–ओलम्पिक खेल पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । पहिलो खेलमै धेरै कुटाइ खाएँ । विपक्षीको पन्च जिउभरि लागेको थियो । अनुहार सुन्निएर राम्ररी चस्मासमेत लगाउन नमिल्ने भएको थियो ।

सेमिफाइनलमा कोरियन खेलाडीबाट धेरै मुक्का खाएँ । प्रतिस्पर्धा दौरानमा नै मेरा आँखाबाट रगत बगेको थियो । आँखा पूरा फुटेका थिए । आँखाका वरिपरि रगतैरगत थियो । युवा अवस्थामै यस्तो भएपछि कसले विवाह गर्छ ? अन्धोसँग कसले विवाह गर्छ भनेर डर लाग्यो । आँखामा पट्टी लगाएपछि चस्मा पनि लगाउन नमिल्ने भयो । ऐनामा आफ्नो अनुहार हेर्दा हुनै हिन्दी फिलिमको भिलेनजस्तो देखियो ।

  उपचारका लागि एक हप्ताभन्दा बढी समय भारतमै बसेँ । रगत रोकिएपछि नेपाल फर्किएँ । यसअघि एकजना जापानिजले हौसला दिएका थिए । चार दिनसम्म पनि निको नभए उनले मलाई जापान लगेर उपचार गराउने वाचा गरेका थिए । उनलाई मैले भगवान्सरह मानेँ । 

 मरिचमानले गरे स्वागत 
घाइते अवस्थामै मैले नेपाललाई कांस्य पदक दिलाएँ । नेपाल फर्किंदा त्रिभुवन विमानस्थलमा कुन किसिमले स्वागत हुन्छ ? यस्तै विचार गरिरहेको थिएँ । विमानस्थलमा स्वयं मरिचमान सिंह आउँदा विश्वास नै लागेन । उहाँ मलाई स्वागत गर्न आउनुभएको रहेछ । भारतमा भएको खेलका बारेमा नेपाली विभिन्न पत्रपत्रिकामा मेरो सामाचार पूरै छाएको रहेछ । त्यही समाचार सुनेर र पढेका कारण नै मलाई स्वागत गर्न आउनुभयो । पदकपछि मलाई राखेपले ११ हजार पुरस्कारको घोषणा गरेको थियो । त्यसवेला त्यो रकम निकै ठूलो थियो । 

 जापानिजले दिएको खेलाडीको जुत्ता
मस्कोमा भएको प्रि–ओलम्पिकमा दुई सय चार देशका खेलाडीले भाग लिएका थिए । मस्को ओलम्पिकका लागि एथ्लेटिक्स, बक्सिङ, भारोत्तोलनका खेलाडी र पदाधिकारी गएका थियौँ । खेलको अघिल्लो दिन रिपोर्ट गर्नुपर्ने नियम छ । रिपोर्टिङमा तौल धेरै वा कम भन्ने हेरिन्छ । मैले प्रतिस्पर्धा गर्ने तौल समूहमा मेरो रिपोर्टिङ सबै ठीक थियो । आर्मीको हरियो जुत्ता लगाएर खेल्न रिङमा गएँ । तर, म्याच रेफ्रीले मेरो जुत्तालाई मान्यता दिएन । अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीको हरियो रङको जुत्ता लगाएर खेल्न नमिल्ने रहेछ । रेफ्रीले मलाई ‘अफिसियल बुट खोइ भनी सोधे ?’ 

एसियन एमेच्योर बक्सिङको सेमिफाइनलमा कोरियन खेलाडीबाट धेरै मुक्का खाएँ । मेरा आँखाबाट रगत बगेको थियो । खेलाडी नै देख्न छाडेको थिएँ । यद्यपि, त्यो खेलमा पराजित भए पनि नेपालका लागि दोस्रो अन्तर्राष्ट्रिय पदक जित्न सफल भएँ । 

उनलाई मैले जुत्ता छैन भनी उत्तर फर्काएँ । रेफ्रीले तत्काल मलाई रिङबाट निकाले । ओलम्पिक खेल्न गएको खेलाडीसँग रिङमा लगाउने आधिकारिक जुत्ता नहुँदा लाज पनि लाग्यो । फेरि खेलबाट बाहिर पठाउने डर पनि लागेको थियो । खेल्दै नखेरी घर फर्किंदा नेपालको इज्जत धमिलो बनाएको आरोप लाग्न सक्ने डर थियो । त्यो अवस्थामा काठमाडौं बस्न नसकिने कल्पना गरेको थिएँ । रिङमै म रुन थालेँ । 

त्यही वेला नै जापान बक्सिङ संघका एक पदाधिकारीले मलाई जुत्ता तत्कालै मिलाइदिए । उनले मेरो जुत्ताको साइज सोधे । मैले सात–आठ नम्बरको जुत्ता हो भनेँ । ती जापानिज अधिकारीले हातले नापेर अर्कै जापानिज खेलाडीको जुत्ता मलाई दिए । अरूले दिएको भए पनि अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा अफिसियल जुत्ता लगाउने पहिलो नेपाली बक्सर म हुँ । त्यसपछि खेल सुरु हुने भयो । 

दक्षिण कोरियाका खेलाडी ‘किङ डनकिल’सँग पहिलो चरणमै हारेँ । उनी एसियाकै नम्बर एक खेलाडी थिए । पहिलो अन्तर्राष्ट्रिय बक्सिङ खेलमै धेरै कुटाइ खाएँ । उसको पन्च जिउभरि लागेको थयो । अनुहार सुन्निएर राम्ररी चस्मासमेत लगाउन नमिल्ने भएको थियो । त्यसवेला मलाई कसैले देखेको भए आफन्तले पनि चिन्दैनथे । पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामै मेरो होस उड्यो । बक्सिङ नखेल्ने निर्णयमा पुगेँ । बरु टेनिस खेल्ने सोच बनाएँ । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव शरदचन्द्र शाहले बोलाएर सम्झाए । 

 ओलम्पिकमा वैकुण्ठ मानन्धर प्रशिक्षक
त्यसवेला अहिलेजस्तो ओलम्पिकमा सहभागी हुन छनोट खेल्नुपर्ने प्रावधान थिएन । सरकारले नाम पठाएपछि सीधै सहभागी हुन पाइन्थ्यो । नेपालबाट सन् १९७९ मा मस्को ओलम्पिकमा २२ सदस्यीय टोली पुगेको थियो । हामी मस्कोमै प्रि–ओलम्पिकमा सहभागी भयौँ । सरकारले मेरो नाम बक्सिङ खेलमा राखेको थियो । ओलम्पिकमा मेरो अफिसियल प्रशिक्षक थिएनन् । मस्कोमै दौडन आएका वैकुण्ठ मानन्धर र अर्जुन पण्डित मेरो प्रशिक्षक बनेका थिए । बक्सिङ खेलमा प्रशिक्षकको भूमिका सधैँ महत्वपूर्ण हुन्छ । रिङभित्र खेलाडीले खेल्ने हो । होसियारीपूर्वक विपक्षीलाई प्रहार गर्ने योजना बनाउनुपर्छ । त्यसबाहेक रिङबाहिर प्रशिक्षकको निर्देशनमा खेल्ने हो । रिङमा भित्र प्रतिस्पर्धा गरिरहँदा दुवै कान नै प्रशिक्षकतर्फ मोडिएका हुन्छन् । 

 दुई वर्ष दीपेन्द्रलाई बक्सिङ सिकाएँ
मास्को ओलम्पिकपछि मैले खेलबाट सन्न्यास लिएँ । त्यसैवेला बक्सिङ संघको सदस्य बनेँ । संयोग कस्तो रह्यो भने मैले तत्कालीन युवराज दीपेन्द्रलाई बक्सिङ सिकाउने मौका पाएँ । मसँगै बक्सिङ खेलेका रविराज थापा दीपेन्द्रका सुरक्षागार्ड थिए । म रविकै सम्पर्कमा युवराज दीपेन्द्रलाई बक्सिङ सिकाउन नियुक्त भएँ । मलाई अहिले सम्झना भएसम्म दीपेन्द्रलाई हरेक शुक्रबार बुढानीलकण्ठ स्कुल गएर बक्सिङ सिकाउँथेँ । खेलमा युवराज भन्ने हुन्न । स्पाइरिङ र किक हान्ने सबै हुन्थ्यो । दीपेन्द्र निकै ध्यानपूर्वक बक्सिङ सिक्थे । दीपेन्द्रलाई दुई वर्षसम्म सिकाएँ ।