१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सीमावर्ती भारतीय बजार वनगावामा किनमेल गर्न पुगेका नेपाली । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका
तेजराज भट्ट काठमाडाैं
२०७९ असोज १५ शनिबार ०९:५५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको घुइँचो

Read Time : > 1 मिनेट
तेजराज भट्ट, काठमाडाैं
२०७९ असोज १५ शनिबार ०९:५५:००

नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैँ सुरु भइसक्दा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी र आसपासका बजारमा ग्राहकको उतिसारो भिड छैन । तर, सीमावर्ती भारतीय बजारमा भने नेपाली उपभोक्ताको घुइँचोले खुट्टा राख्ने ठाउँ छैन ।यहाँभन्दा सस्तो सामान पाइने भन्दै अधिकांश उपभोक्ता किनमेलका लागि धनगढीबाट नजिक पर्ने सीमावर्ती बजार वनगावा पुग्ने गरेका छन् । कतिपय स्थानीय धनगढीबाट करिब ४५ किलोमिटरको दूरीमा रहेको पलियासमेत पुग्ने गरेका छन् । चिनी, दाल, सोडा, साबुन, तेललगायत उपभोग्य वस्तु किनमेलका लागि नेपालीबाट दैनिक सयौँ स्थानीय वनगावा गइरहेका छन् । पलिया र वनगावामा किनमेल गर्न दैनिक साढे तीन हजारदेखि चार हजारजना गइरहेका त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीले बताएका छन् । 

चाडपर्व नजिकिएसँगै सीमावर्ती बजारमा नेपाली उपभोक्ताको घुइँचो लाग्न थालेको हो । अरू वेला पनि सीमावर्ती बजारमा किनमेलका लागि जानेको संख्या उत्तीकै हुन्छ । तर, दसैँका वेला यो संख्या बढी देखिएको सुरक्षाकर्मी बताउँछन् । वनगावा बजारमा भेटिएकी धनगढीकी सरस्वती रावलले धनगढीभन्दा केही सस्तो पर्ने भएकाले टोलका चार–पाँचजना सँगै किनमेलका लागि आएको बताइन् । ‘चाडबाडका लागि धेरै सामान किन्नुपर्छ । चिनी, दालहरू केही सस्तो पाइने भएकाले दुई–चार रुपैयाँ जोगिएको भनेर यहाँ आएकी हुँ ।’ उनले भनिन्, ‘अरू वेला पनि कहिलेकाहीँ सामान किन्न आइन्छ ।’

उपभोग्य सामानसँगै महिलाहरू लुगा किन्न पनि पलिया र वनगावा जाने गरेका छन् । वनगावाका व्यापारी विनोद गुप्ताले दसैँ नजिकिएसँगै ग्राहकको भिड बढेको बताए । आराध्या साडी एन्ड सुट सेन्टरका सञ्चालक गुप्ताले नेपाली ग्राहकले वनगावा बजारको व्यापार फस्टाएको बताए ।

सीमावर्ती भारतीय बजारमा नेपालीको घुइँचो हुँदा धनगढीमा भने चाडपर्वका वेला पनि व्यापार नबढेको यहाँका व्यवसायी बताउँछन् । धनगढीका किराना व्यवसायी श्याम महराले दसैँ सुरु भइसक्दा विगतका वर्षजति पनि कारोबार नबढेको बताए । ६० प्रतिशतभन्दा बढी उपभोक्ता किनमेलका लागि सीमावर्ती भारतीय बजार जाने गरेको उनको अनुमान छ । ‘चाडपर्वका वेला उपभोग्य वस्तुको व्यापार बढ्नुपर्ने हो, तर अहिले मुस्किलले अरू वेलाजत्तिकै कारोबार हुन्छ ।’ महराले भने, ‘सीमावर्ती बजारले धनगढीको व्यवसायलाई ठूलो असर गरेको छ ।’ 

किराना व्यवसायी संघ धनगढीका अध्यक्ष लक्ष्मण पन्तले भने, ‘थोरै सामानका लागि जाँदा झन् फाइदाभन्दा घाटा नै हुन्छ ।’ चिनी, दाललगायत केही वस्तुको मूल्यमा यहाँ र सीमावर्ती भारतीय बजारमा केही फरक रहेको उनले बताए । उपभोक्ताहरू भारतीय बजार जान थालेपछि धनगढीको व्यापार सुक्न लागेको पन्तले बताए । 
सामान सस्तो पाइने भन्दै दैनिक सयौँ उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जान थालेपछि दिनमै लाखौँ रुपैयाँ बाहिरिन थालेको छ । नाकामा खटिएका प्रहरीका अनुसार त्रिनगर नाकाबाट मात्रै हिजोआज दैनिक तीन–चार हजारजना किनमेलका लागि सीमावर्ती बजार गइरहेका छन् । भारतबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा नेपाली भन्सारमा प्रज्ञापनपत्र भरेर नियमानुसार राजस्व तिर्नुपर्ने व्यवस्था छ । तर, सीमावर्ती बजारमा सामान किनेर ल्याउनेको संख्याको तुलनामा प्रज्ञापनपत्र भर्नेको संख्या भने नगण्य छ । 

नाकामा खटिएका भन्सारका कर्मचारीले हिजोआज दैनिक चार–पाँच जनासम्मले प्रज्ञापनपत्र भराउने गरेका छन् । अरू वेला प्रायः प्रज्ञापत्र भरिँदैन । घरायसी प्रयोजनका लागि ल्याइने सामान व्यावहारिक रूपमा भन्दै प्रज्ञापनपत्र नभराएरै छोड्ने गरिएको छ । त्रिनगर भन्सार कार्यालयका भन्सार अधिकृत पदमराज पन्तले जाँचकी कर्मचारी र सहयोगीले सामानको मात्रा हेरेर राजस्व तिराउने गरेको बताए । राजस्व नतिरेरै सामान ल्याउन दिइँदा अधिकांश ग्राहक किनमेलका लागि सीमावर्ती बजार जाने भएकाले त्यसको मार नेपाली व्यवसायीले खेप्नुपरिरहेको छ ।