Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असोज १३ बिहीबार ०७:५९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर घटेपछि प्रिमियर लिगका फुटबलरको आम्दानी बढ्यो

म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद सलाहले प्रतिवर्ष १० लाख ३० हजार पाउन्ड बचत गर्ने 

Read Time : > 1 मिनेट
२०७९ असोज १३ बिहीबार ०७:५९:००

बेलायती सरकारले वार्षिक आम्दानीमाथि लगाएको करको दर घटाएपछि इंग्लिस प्रिमियर लिगमा आबद्ध खेलाडीहरूको पारिश्रमिक बढाएको छ । बेलायती सरकारले नेसनल इन्सुरेन्समा लगाइएको उच्च कर रेट घटाएको हो । सरकारका अनुसार प्रतिसयमा ४५–४० प्रतिशतले कर घटेको छ । यो निर्णयसँगै म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहमद सलाहले प्रतिवर्ष १० लाख ३० हजार पाउन्ड बचत गरेका छन् । अघिल्लो वर्षसम्म प्रिमियर लिग खेल्ने खेलाडीले सरकारलाई चार मिलियन पाउन्ड अतिरिक्त कर बुझाएका थिए । 

द टाइम्सले प्रिमियर लिगमा आबद्ध स्टार खेलाडीलाई प्रत्यक्ष फाइदामा पुगेको जनाएको छ । ‘सरकारले यस वर्षदेखि उच्च कर घटाएको छ, यसले स्टार खेलाडीले आफ्नो आम्दानीमा उल्लेखनीय वृद्धि गर्नेछन्,’ टाइम्सले भनेको छ । स्टार खेलाडी मात्र होइन, मध्यम खेलाडी पनि फाइदाजनक स्थितिमा पुगेका छन् । युनाइटेडका रोनाल्डोले प्रतिसाता चार लाख पाउन्ड पारिश्रमिकका रूपमा लिन्छन् । फुटबलका फाइनान्सविज्ञ किरान मागुरेका अनुसार पोर्चुगलका कप्तानसमेत रहेका रोनाल्डोले प्रतिवर्ष अब १.३ मिलियन पाउन्ड आर्जन गर्नेछन् । 

लिभरपुलका सलाहले पनि रोनाल्डोजत्तिकै प्रतिसाता पारिश्रमिक बुझ्छन् । उनको पनि आम्दानी रोनाल्डोको जत्तिकै हुनेछ । प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुनेले प्रतिसाता तीन लाख ८५ हजार पाउन्ड लिने गर्छन् । अब नयाँ नियमअनुसार उनले वार्षिक नौ लाख २४ हजार पाउन्ड बचत गर्नेछन् । सिटीमा यसै सिजनमा आबद्ध भएका हाल्यान्ड र गोलरक्षक डेभिड डे जिएका प्रतिसाता पारिश्रमिक तीन लाख ७५ हजार पाउन्ड बुझ्छन् । ४० प्रतिशत कर छुट दिँदा हल्यान्ड र डेभिडले वार्षिक नौ लाख पाउन्ड थप गर्नेछन् । 

यसैगरी, टोटनह्यामका स्ट्राइकर ह्यारी केनले यो वर्षदेखि चार लाख ४० हजार पाउन्ड थप पाउनेछन् । उनको प्रतिसाता पारिश्रमिक दुई लाख पाउन्ड हो । द टाइम्सका अनुसार औसत खेलाडीले वार्षिक दुई लाख ४० हजार पाउन्ड बचत गर्नेछन् ।

खेलाडीले तिरे ट्याक्समा एक अर्ब

एक रिपोर्टअनुसार सन् २०१९–०२० को सिजनमा इंग्लिस प्रिमियर लिगमा आबद्ध सबै खेलाडीले बेलायती सरकारलाई समग्रमा एक अर्ब ४० करोड पाउन्ड कर बुझाएका थिए । कर घटेपछि सरकारको आम्दानीमा ७० मिलियन पाउन्ड घट्ने द टाइम्सले जनाएको छ ।

युरोपियन फुटबलमा इंग्लिस प्रिमियर लिग सर्वाधिक महँगो मानिन्छ । यहाँ आबद्ध खेलाडीको औसत पारिश्रमिक नै दुई लाख पाउन्डभन्दा माथि छ । इटालीले पनि दुई वर्षदेखि खेलाडीमाथिको करमा ५० प्रतिशत घटाउँदै आएको छ । यसैगरी, फ्रान्सले प्रतिवर्ष २७ प्रतिशत कर घटाएको छ । कोभिडका कारण आर्थिक संकटमा परेको स्पेनको ला लिगाका खेलाडीले यस वर्षदेखि ४७ प्रतिशत कर छुट पाएका छन् । जर्मनीले ४५ प्रतिशत कर छुट दिने भएको छ । युरोपियन फुटबलका एजेन्ट सैफ रुबिएले विभिन्न देशमा कर घटाउँदा त्यसको प्रत्यक्ष फाइदा खेलाडीले उठाएको बताएका छन् । यसमा पनि इंग्लिस प्रिमियर लिगमा आबद्ध खेलाडीको वार्षिक आम्दानी वृद्धि हुने उनको भनाइ छ । 

‘पछिल्लो निर्णयअनुसार प्रिमियर लिगका खेलाडी मालामाल भएका छन्,’ सैफले भने, ‘यद्यपि, बेलायतको तुलनामा फ्रान्स र इटालीमा खेल्ने खेलाडीको पारिश्रमिक धेरै छैन, यसै कारण त्यहाँ आबद्ध खेलाडीले सोचेजस्तो वार्षिक आम्दानी वृद्धि गर्न सकेका छैनन् ।’