मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस काठमाडौं
२०७९ असोज १२ बुधबार १८:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चाडपर्वमा यात्रु ठग्ने ३३ जना पक्राउ

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
२०७९ असोज १२ बुधबार १८:३२:००

काठमाडौं उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना पक्राउ परेका छन्। 

यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको छ। 

यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिए। 

कार्यालयले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ। 

खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको प्रवक्ता भट्टले जानकारी दिए। 

आजसम्मको सवारीसाधन खराब अवस्थामा सञ्चालन गर्ने ९८ लाई कारबाही गरिएको छ। कतिपय सवारीसाधनमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पाङ्ग्रा खराब अवस्थामा पाइएको उनले बताए। उनले भने, ‘पाङ्ग्रा नै प्वाल पर्न लागेको अवस्थामा समेत चलाएको पाइएको छ।’

कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष  स्थापना गरेको छ। 

आज बिहानसम्म दुईजना यात्रुको मात्रै गुनासो आएको प्रवक्ता भट्टले बताए। लामो दूरी लक्षित गरी कलंकी, थानकोट, हलचोक, माछापोखरी, चाबहिल, सातदोबाटो, बल्खु, कोटेश्वर, पुरानो बसपार्कमा यात्रु सहायता कक्ष छन्। 

उपत्यकाको विभिन्न स्थानमा नियमित ३६ स्थानमा जाँच गरिँदै आएकामा अहिले चाडपर्वमा लक्षित गरेर ३५ स्थान थप गरिएको कार्यालयले जनाएको छ। 

उपत्यकामा धेरै एकैपटक बाहिरिएर सडक चाप कम हुँदा तीव्रगतिमा र मादक चलाउने हुँदा त्यो नियन्त्रणका लागि जाँच बढाउन लागिएको हो।  

काठमाडौ‌ं उपत्यकाबाट बाहिरिने नाकाहरूको सवारीसाधन जाँचमा कडाइ गरिएको कार्यालयले जनाएको छ। 

उपत्यकाबाट बाहिरिने स्थानमा सिट क्षमताका आधारमा यात्रु राखेको वा नराखेको, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाएको वा नचलाएको, दुईजना चालक राखेकाे वा नराखेको, सवारीसाधनको बिमा गरेको वा नगरेको र सवारीसाधनको अवस्था कस्तो छ भनेर जाँच गरिरहेको उहाँले जानकारी दिए। 

दैनिक एउटा-एउटा गरी नाकामा लागुपदार्थ सेवनसम्बन्धी जाँच गरिएको प्रवक्ता भट्टले जानकारी दिए। 

आज तीनजना चालक फेला परेर कारबाही अघि बढाइएको छ। तीव्रगतिमा सवारीसाधन चलाएको जाँच भइरहेको छ। क्षमताभन्दा बढी संख्या यात्रुलाई बोक्ने गर्ने वा छतमा यात्रु राख्ने सवारीसाधनलाई कारबाहीका लागि ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ। 

कार्यालयले बढी किनमेल बजार क्षेत्रमा सवारीसाधनको चापलाई विचार गरेर थप ट्राफिक प्रहरी खटाएर व्यवस्थापन सुरु गरिसकेको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए। 

कार्यालयले उपत्यकाबाट बाहिर जाने सवारीसाधलाई पनि मादक पदार्थ सेवन र लागुपदार्थ सेवनको जाँच गरिरहेको छ। 

चाडपर्वको समयमा मेला लाग्ने गुहेश्वरी, कमलपोखरी बागमती किनार, बल्खु दोभानलगायत स्थानमा सवारीसाधन डाइभर्ट गरिएको छ भने त्यहाँ आउने सवारीसाधनलाई पार्किङको व्यवस्था मिलाइने भट्टले बताए। 

उपत्यका र उपत्यकाबाहिर सञ्चालन हुने सवारीसाधनलाई समेत लक्षित गरेर जाँच बढाउन लागिएको कार्यालयले जनाएको छ। 

उपत्यकामा पनि विगतका वर्षहरूमा दसैँमा धेरै सवारीसाधन बाहिरिएर सडक खुकुलो हुँदा चालकहरूले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटना बढी हुने गरेको थियो। 

चाडपर्वका समयमा एकैपटक धेरै सवारीसाधन बाहिरिने हुँदा दुर्घटनाको जोखिम छ। 

कार्यालयले उपत्यकामा सवारीसाधन व्यवस्थापन गर्ने र उपत्यकाबाहिर प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गर्छ। 

चाडपर्वको समयमा अरू समयभन्दा बढी जनशक्ति घटाएर सवारी जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको कार्यालयले जनाएको छ। सडकमा सवारीसाधन व्यवस्थापनकै लागि धेरै ट्राफिक प्रहरी दसैँ, तिहारलगायत चाडका समयमा ड्युटी गर्दै आएका छन्।