१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बार्बारा सेरा
२०७९ असोज ११ मंगलबार ०८:२६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इटलीमा फासीवाद अझै किन जीवित छ ?

Read Time : > 2 मिनेट
बार्बारा सेरा
२०७९ असोज ११ मंगलबार ०८:२६:००

इटलीको फासीवाद र तानाशाह बेनिटो मुसोलिनीबारे वृत्तचित्र निर्माण गर्नेले मुसोलिनीको जन्मस्थान एवं समाधिस्थल प्रेडापियो नपुगे अपूरो हुन्छ । यो ठाउँ इटलीको अन्धकारयुक्त समयमा रोमाञ्चित हुनेका लागि तीर्थस्थल नै हो । हामी सन् २०१९ को सेप्टेम्बरमा यो क्षेत्रमा ‘फासीवाद इन द फेमिली’को छायांकनका लागि पुगेको थियौँ । यहाँ म आफ्नो हजुरबुबाको कथा नियालिरहेकी थिएँ । मेरा हजुरबुबा मुसोलिनीकालका फासीवादी मेयर थिए ।

हामी फासीवादी इतिहासका कारण प्रेडापियो पुगेका होइनौँ, बरु हामी आठ दशक पुरानो फासीवादको भाष्य अँगालेर वर्तमानमा उदाइरहेको इटलीको उग्र–दक्षिणपन्थका कारण पुगेका हौँ । दोस्रो विश्वयुद्धलगत्तै मुसोलिनी सत्ताका पूर्वसदस्यले स्थापना गरेको नव–फासीवादी ‘मोभिमेन्टो सोसल इटालियानो’ (एमएसआई) सँग जोडिएका ब्रदर्स अफ इटली पार्टीका जर्जिया मेलोनी र अन्य सदस्य आइतबार दसौँ लाख मत पाएर निर्वाचनमा विजयी हुने अनुमान गरिएको छ । आजका दिनमा पनि ब्रदर्स अफ इटलीले एमएसआईले प्रयोग गरेको इटलीको झन्डा झल्काउने आगोको लप्काजस्तो देखिने प्रतीकलाई प्रयोग गर्छ । 

म प्रेडापियो पुगेका दिन मेलोनी इटलीकी प्रधानमन्त्री बन्छिन् भन्ने सोचेकी थिइनँ । तर, ती संकेतबारे थाहा पाएकी थिएँ, जसले उनलाई प्रधानमन्त्री बनाउनेछ । मुसोलिनीको समाधिवरिपरि केही युवाले पुष्पगुच्छा र एक सन्देशबाहक कार्ड छाडेका थिए, जहाँ उनलाई इटलीले वर्षौंदेखि ‘घात’ गरेको भनेर दुःख व्यक्त गरिएको थियो । हामीले ती युवालाई यहाँ किन आउनुभएको भनेर प्रश्न गरेका थियौँ । तिनले ‘हामी इटलीका महान् नेता मुसोलिनीप्रति सम्मान व्यक्त गर्न आएका हौँ । हो, उनले हिटलरसँग साझेदारी गर्नु र हलोकस्ट (यहुदी नरसंहार) मा भूमिका निर्वाह गर्नु गल्ती थियो । तर, त्यसअघि उनले इटलीका लागि धेरै काम गरेका थिए’ भन्ने जवाफ दिएका थिए । 

फ्रान्सको फासीवादी इतिहासबारे कुराकानी हुँदा ‘मुसोलिनीले इटलीका लागि धेरै ठूला काम गरेका थिए’ जस्ता अभिव्यक्ति सामान्य नै हुन् । इटलीका इतिहासकार फ्रान्सेस्को फिलिपी यस्ता अभिव्यक्तिलाई मुसोलिनी सत्ताबारे व्यक्त गरिएका मिथक ठान्छन् । यस्ता मिथक अस्तित्वमा किन आउँछन् भन्ने प्रश्न महत्वपूर्ण छ । फिलिपी यसको कारण युद्धको कसरी अन्त्य भयो भन्नेले प्रस्ट्याउँछ भन्ने बताउँछन् । ‘जर्मनीमा नाजी र हिटलरलाई एलाइज (शक्तिराष्ट्र अमेरिका, बेलायत र सोभियत संघसहितको युद्ध गठबन्धन) ले पराजित गरेर नाजी–शुद्धीकरण (डिनाजिफिकेसन) गरेका थिए । तर, इटलीमा सन् १९४३ मै फासीवादी पार्टीमा भएको विद्रोहले मुसोलिनीलाई सत्ताच्यूत गरेको थियो । त्यही समयदेखि मुसोलिनीको भाष्य र राष्ट्रमा कायम वर्चस्व कमजोर हुँदै गयो,’ फिलिप थप्छन् ।

अमेरिका र बेलायतले इटलीको कम्युनिस्ट पार्टीलाई नियन्त्रण गर्न पूर्वफासीवादी शक्तिलाई निसाना नबनाउनुको नतिजा फासीवाद जीवित रह्यो

युद्धको अन्त्यताका इटली तीन हिस्सामा विभाजित भएको थियो । उत्तरी इटलीलाई नाजीले कब्जा गरेको थियो र त्यहाँ कठपुतलीका रूपमा मुसोलिनीको सरकार थियो । यो इलाका ठूलो मात्रामा फासीवादविरोधी प्रतिरोधको साक्षी बन्यो । सिसिली इलाका एलाइजको कब्जामा थियो । इटलीको बाँकी हिस्सामा एलाइजसँग सहकार्य गरिरहेका पूर्वफासीवादीको सरकार थियो । यस अवस्थामा युद्धको समाप्तिपछि इटलीमा फासीवादविरोधी शक्तिको प्रधानता हुने निश्चित थियो । युद्ध समाप्तिलगत्तै शीतयुद्ध चर्किन थालेको थियो र त्यतिवेला पश्चिम युरोपकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी इटलीमा थियो । यस अवस्थामा अमेरिका र बेलायतले ‘लाल खतरा’लाई नियन्त्रण गर्न पुरातनपन्थी र पूर्वफासीवादी शक्तिलाई निसाना बनाउनु आफ्नो हितअनुकूल नहुने देखे । नतिजा फासीवादको इतिहासबारे सकारात्मक भाष्य निर्माण हुन थाल्यो । एमएसआईको उदय यसै भाष्य निर्माणको उपज हो । 

फेरि एकपटक प्रेडापियोमै फर्किऊँ, मुसोलिनीको समाधिनजिकैको इलाकामा हामी फासीवादी स्मृतिजन्य वस्तु भएको एक पसलमा पुग्यौँ, जहाँ हामीले मुसोलिनीको कास्यको प्रतिमा भएको पायौँ । सो पसलभित्र प्रवेश गर्दा विसंगतिको पराकाष्ठा देखिन्थ्यो । पसलभित्र नाजी ब्याज, टिसर्ट, टोपी, सजाइएका स्वस्तिक चिह्नलगायत वस्तुको व्यापार भइरहेको थियो । यी वस्तुलाई अन्तर्राष्ट्रियस्तरमै अनलाइनबाट खरिद गर्न पनि सकिन्थ्यो । 

यो कसरी स्वीकार्य वा वैध भयो ? जब कि इटलीको संविधानअनुसार फासीवाद अपराध हो । फासीवादविरोधी कानुनले फासीवादी पार्टी पुनर्निर्माण गर्न प्रतिबन्ध लगाए पनि कानुनका अनेकौँ व्याख्या गरिने ठाउँ व्याप्त छन् । नतिजा फासीवादी चिह्न वा सलाम ‘स्मृतिजन्य काम’ हुन पुग्छ । हालै फासीवादी छविलाई गैरकानुनी बनाउने विधेयक संसद्बाट पारित हुन सकेन किनभने दक्षिणपन्थी पार्टीहरूले यसो गर्दा वाक्–स्वतन्त्रतामाथि हमला हुने तर्क गरेका थिए ।   

जब आइतबार संसदीय चुनावमा मेलोनीका पक्षमा मत खस्यो, ती मतमा केही मत मेलोनीको पार्टी नवफासीवादसँग जोडिएका कारण खसे । नवफासीवादसँग जोडिएको भनेर नै सबै मत मेलोनीको पक्षमा खसेका होइनन् । अर्थात् जनताले उग्र–दक्षिणपन्थी सरकारको साटो मध्यम–दक्षिणपन्थी सरकार चाहेका हुन सक्छन् । अन्य केही निराश मतदाताका लागि उनी संसदीय चुनावमा बाँकी रहेकी एक मात्र विकल्प हुन सक्छिन् । मेलोनीको जरो फासीवादसँग जोडिएकै कारण चुनाव जित्न लागेकी होइनन् ।  

 युवा अवस्थामा सन् १९९० ताका मुसोलिनीको प्रशंसा गरेकी मेलोनी फासीवाद इतिहासको कुरो हो भन्ने अभिव्यक्तिका कारण टाढिँदै गएकी थिइन् भन्न सकिन्छ । यद्यपि उनका पार्टी सदस्यले नै खुलमखुल्ला फासीवादप्रति श्रद्धा व्यक्त गरेका प्रमाण नै मौजुद छन् । इटलीका अधिकांश जनता इतिहासभन्दा पनि वर्तमानका आर्थिक संघर्षबारे चिन्तित छन् । यद्यपि ब्रदर्स अफ इटलीको प्रत्यासित सफलताले जनतामाझ ब्रदर्स अफ इटली स्वीकार्य हुने देखाएको छ । 
(सेरा इटालीयन मूलकी बेलायती पत्रकार एवं ब्रोडकास्टर हुन् ।) अलजजिराबाट