१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज ८ शनिबार १७:०९:००
Read Time : > 2 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘ऐना झ्यालको पुतली’ र म

Read Time : > 2 मिनेट
२०७९ असोज ८ शनिबार १७:०९:००

खरको छानो । चर्किएका माटोका भित्ता। धुलाम्य दलिन। दलिन छेउको कुनामा अधवैँशे महिला। 

दिदी र भाइ सिसाभित्र थुनेर राखिएको पुतलीलाई हेरिरहन्छन्। सिसाभित्र पुतली बाहिर निस्कने अनेक प्रयत्न गर्छे। तर, उसका सामु पहाड बनेको छ बिर्को। 

चिउँडोमा हात राखेर रोमाञ्चित मानिरहेका दिदी–भाइ झुसुलीको लाब्राबाट कसरी सुन्दर पुतली बन्यो बन्दै आश्चर्यचकित हुन्छन्। जसै पुतली बलवान् बिर्कोसामु विद्रोह गर्न लाग्छे, विद्या आफूलाई उकुसमुकुस भएको अनुभूति गर्छे। 

भाइको विद्रोहका बीच विद्याले सिसाभित्र बन्द पुतलीलाई खुला आकाशमा फुरर उडाइदिन्छे। 

फिल्मीको कथा यहीँबाट बग्छ, जब जब लेखक सुजित बिडारी कथा बगाउँदै जान्छन् पात्रलाई, जुन जहाँसम्मको यात्रा हो त्यहाँ पुगेर चट्क्कै छाडिदिन्छन्। पात्रलाई छाडेर पनि सबै पात्रलाई उत्तिकै न्याय गरेका छन् लेखकले। 

फिल्मीमा हरेक पात्रको कथा छ ,ती कथाभित्र व्यथा छ, व्यथाभित्र लुकेका अनगिन्ती सपना छन् , तिनै सपनाको खोजीमा लेखक दौडिँदा दौडिँदै फिल्मको जोबन रित्तिएको पत्तै पाउँदैनन्।

 लेखकले  फिल्मिको सुरुवातमै देखाएका छन् पुतली र विद्या ।सुरुवातमा लेखकले देखाएको दमदार भाव सिसाभित्र थुनेर राखिएको पुतली होर पुतलीलाई स्वतन्त्र छाडिदिने विद्या।

तर, गरिबीको जन्जालभित्र थुनिएकी विद्यालाई पुतलीझैँ स्वतन्त्र छाड्न कोही आएनन्। फुर्र उड्ने रहरको बिर्कोलाई उघारिदिने आँट कसैले गरेनन्। संघर्ष गर्दागर्दैै, सपना देख्दा देख्दै उनका सपना धुमिल हुँदै उनीबाट टाढा भए। 

फिल्मको नाममा झैँ झ्यालमा पुतली बसेकी छैन । तर, कथाकी मुख्य पात्र आफैँ पुतली हो भनेर बुझ्न पूरै फिल्म हेर्नुपर्छ।

फिल्म छोटो बनाएकामा लेखक सुरेश बिडारीसँग मलाइ रिस उठेको छ। अनि प्रश्न गर्न मन छ–सर अब आकाशको के हुन्छ? विद्याको जीवनमा उनको खुसी फर्किन्छ कि फर्किँदैन? उनको पुतली बनेर खुला आकाशमा विचरण हुने सपना अधुरै रहन्छ कि? पूरा हुन्छ? यसको अर्को भाग कहिले आउला ? प्रश्नै प्रश्न छाडेका छन् लेखकले। 

जब फिल्मको यात्रा हुन्छ, म एकाएक घरको पिँढीमा पुग्छु। जसरी फिल्मअघि बढ्दै जान्छ म त्यसैगरी लम्किँदै जान्छु, उही खरले छाएको छानो। उही दलान। उही मकै दराल्ने जाँतो । उही दूध चलाउने डाडु। अनि फिल्मको बालपात्र वसन्त र उसले खान मरिहत्ते गरेको बटुके थाल। फिल्ममा उसले रिसले चुर हुँदै दिदीको बटुके थालमा खाना खान्छ। उसलाई मन परेको थालमध्येको थाल हो बटुके थाल।

म त्यो बटुके थालमा पुगेर टक्क अडिन्छु। ओहो मेरो काप्रे थाल! बाको अंशमा परेको थाल । मैले खाने गरेको थाल। बाध्यताले, रहरले देशको राजधानी काठमाडौं उपत्यकाका सडक नापेको धेरै भयो। तर, आज त्यो कोप्रे थाल र त्यसमा खान गरेको संघर्ष एकाएक ताजा भएर आए। 

बाको अंशमा परेको त्यो थालले मेरो भोक मात्रै मेट्दैनथ्यो, तरकारी खेलाएर राख्ने, पकाउँदा छोप्ने र घरमा पाहुना आउँदा चिया टक्र्याउने बहुउपयोगी भोडो थियो।  थालमा भुइँमा झरेको आवाज आमाको कानसम्म सजिलै पुग्थ्यो। बाको अंश आएको त्यही एउटा थाल थियो सायद! आमालाई पनि औधी माया लाग्थ्यो। केटाकेटीले कुच्याउँछन् कि भन्ने ठूलो पिर थियो आमालाई। 

अहिले त्यो कोप्रे थाल बुढो भएको छ मेरा बाजस्तै । नामजस्तै कोप्रिएको छ। खल्डाखुल्डी परेको छ। कोप्रे थालसँग बिछोडिएको धेरै भयो। बाल्यकालका सपनामा अक्कल झुक्कल देखिने कोप्रो थालले अहिले रिसाएर थन्किएको छ कतै।
 
कोप्रे थालमा जुके भैँसीको दूधसित मुछेर खाएको मोटो चामलको भातमा मिसिने स्वादले दिने सन्तुष्टि पाँचतारे होटेलका बुट्टेदार ‘डिनर प्लेट’ मा खाएको कन्टिनेन्टल खानाले कहाँ दिन सक्छ र?

आज मसँग न जुके भैँसी छ, न कोप्रे थाल। दूध दुहुने बेला वसन्तले गाईको झिँगा धपाउँछ र वसन्तेकी आमा दूध दुहुनुहुन्छ। बाले जुके भैँसी दुहुने वेला झिंगा धपाउन दिएको जागिर। वसन्त र आकाशको माध्यमबाट ठूलो पर्दामा मेरै कथा देखाएर लेखकले मलाई चकित पारे। 

वसन्त र आकाशले फिल्म हेर्न पैसा चार्न हात लम्काइरहँदा म बाको भागवत किताबमा हात हाल्न पुगेको सम्झन्छु। फिल्मको कथामा वसन्त र  बांगे जसरी म घरको कुना कन्दरमा पुग्छु। 

सबै पात्रलाई उत्तिकै माया गरेर उर्काएका छन् लेखकले। अन्त्यमा सबै पात्रलाई छाडेर एक्लै आइपुगेका लेखकले विद्यालाई अन्त्यमा निरीह छाडेका छन्। 

विद्या जो पुतलीजस्तै स्वतन्त्र आकाशमा उड्न चाहन्छे, कसैले आहा कस्तो राम्रो पुतली भनेर समाइदियोस्  भन्ने अपेक्षा राख्छे। जीवन रंगीन होस् भन्ने चाहन्छे।

सोह्रशृंगार गरेर मारुनीको तालमा नाच्न चाहन्छे। भित्रभित्रै प्रेम हुर्काउन चाहन्छे। केही बनेर आफ्नो अस्तित्व जोगाउन चाहन्छे। मौनमै कवितालाई शब्द बनाएर विद्रोह गर्छे। वसन्तकी हजुरआमाको कानको मुद्रा लगाइदिएर कविताको शब्द–शब्दमा तुरुक्क आँसु चुहाउँछे। 

सिसाभित्रको पुतली विद्यालाई कसैले त आँट गरोस् खुला आकाशमा स्वतन्त्र छाडिदिने!