१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज ८ शनिबार ०९:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

टिकट बाँडफाँडमा कांग्रेसभित्र तनाव : आज इतर समूहको भेला

Read Time : > 2 मिनेट
२०७९ असोज ८ शनिबार ०९:१६:००

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट बाँडफाँडलाई लिएर कांग्रेसभित्र तनाव सुरु भएको छ । संस्थापन पक्षले न्यायोचित ढंगले समानुपातिक सूची नबुझाएको भन्दै इतर समूह असन्तुष्ट देखिएको छ । संस्थापन पक्षमाथि दबाब बनाउन इतर समूहले भेला नै आह्वान गरेको छ ।इतर समूह समानुपातिक सूची सच्याउन र प्रत्यक्षतर्फको टिकट वितरणमा सभापति शेरबहादुर देउवालाई दबाब बढाउने रणनीतिमा लागेको छ । यसैका लागि शुक्रबार डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले खबरदारी सभा बोलाएको छ । यो समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राखेको छ ।

 इतर समूहका नेता जगदीश्वरनरसिंह केसीले समान अवसर र न्यायका निम्ति खबरदारी सभा गर्न लागिएको बताए । शुक्रबार स्वयम्भूमा बसेको इतर समूहका दोस्रो तहका नेताको बैठकले भेला बोलाउने निर्णय गरेको थियो । भेला शनिबार दिउँसो १ बजे थापागाउँस्थित बानेश्वर बैंक्वेटमा बोलाइएको छ ।‘बन्दसूची पेस गर्दा संस्थापनइतर समूहको नामावली निर्वाचन आयोगमा बुझाइएको छैन । यसबाट हामी सशंकित भएका छौँ । हाम्रो अहिलेका माग भनेको समान अवसर र न्यायका निम्ति खबरदारी हो,’ केसीले नयाँ पत्रिकासँग भने, ‘भेलामा अन्यायमा परेका देशभरका साथी सहभागी हुनुहुनेछ ।’

भेलाले समानुपातिकको सूची सच्याउन दबाब दिने र प्रत्यक्षतर्फको टिकट वितरणमा आफ्नो समूहलाई समेट्न दबाब बढाउन लागिएको नेताहरूले बताएका छन ्। इतर समूहका नेता तथा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सभापति देउवाले इतर समूहलाई बेवास्ता गरेर अगाडि बढ्ने नीति लिएपछि यसविरुद्ध भेलामार्फत दबाब दिन लागिएको बताए । 

उनले सभापति देउवाले टिकट वितरणमा पार्टीको अर्को समूहलाई बेवास्ता गरेर गठबन्धनका दललाई बढी प्राथमिकतामा राखेको बताए । ‘न्यायोचित टिकट वितरणका लागि दबाब दिन हाम्रो खबरदारी हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘टिकटका लागि गठबन्धनभित्रका अरू दललाई न्याय गर्दै गर्दा पार्टीभित्रको अर्को समूहलाई पनि न्याय गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

भेलामा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तल्लो तहबाट सिफारिस भएका सहभागी हुने बताइएको छ । टिकट सिफारिस भएपछि धेरैजसो आकांक्षी काठमाडौंमै छन् । बन्दसूची पेस गर्ने क्रममा इतर समूहसँग सल्लाह नगरी सभापति देउवा पक्षले एकपक्षीय रूपमा आयोगमा सूची बुझाएको इतरको आरोप छ । इतरले तालमेल गरेर जाँदा कांग्रेसले सय सिटभन्दा कम सिट लिन नहुने र कांग्रेसले पाउने सिटको ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने माग राख्दै आएको छ । ‘समानुपातिकको सूचीमा ठूलो रियाक्सन छ,’ इतर समूहका एक नेताले भने । 

चुनावी गठबन्धनमा जाँदा कांग्रेसले सयभन्दा कम सिट लिन नहुने र कांग्रेसले पाउने सिटको ४० प्रतिशत आफ्नो समूहले पाउनुपर्ने इतर समूहको माग 

इतरले टिकट वितरण न्यायोचित नहुने आशंकासहित १४औँ महाधिवेशनको मतका आधारमा ४० प्रतिशत टिकट आफ्नो पक्षलाई दिनुपर्ने माग राखेको छ । निर्वाचनमा तालमेल गरेर जाने निर्णयपछि अधिकतम सिट आफ्नो पक्षमा पार्न इतर समूहले दबाबमूलक गतिविधि गर्दै आएको छ । १७ असारमा डा. कोइराला र महामन्त्री थापाको उपस्थितिमा इतर समूहले गुट भेला गरेको थियो । भेलाले स्थानीय निर्वाचनको टिकट वितरणमा बेवास्ता गरिएको निष्कर्षसहित र प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकटका लागि दबाब बढाउने रणनीति थालेको थियो । 

 समान अवसरका निम्ति खबरदारी गर्दै छौँ
जगदीश्वरनरसिंह केसी, इतर समूहका नेता 

बन्दसूची पेस गर्दा संस्थापनइतर समूहको नामावली निर्वाचन आयोगमा बुझाइएको छैन । यसबाट हामी सशंकित भएका छौँ । हाम्रो अहिलेका माग भनेको समान अवसर र न्यायका निम्ति खबरदारी हो । भेलामा अन्यायमा परेका देशभरका साथी सहभागी हुनुहुनेछ ।

कांग्रेसले माग्यो घोषणपत्रका लागि सुझाव 
ह्वाट्स एप, भाइबर, इमोमार्फत  सुझाव दिन सकिने

कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र तयार गर्न सुझाव मागेको छ । महामन्त्री विश्वप्रकाश शर्मा संयोजकत्वको ‘नेपाली कांग्रेस घोषणापत्र तयारी समिति, २०७९’ ले शुक्रबार सार्वजनिक सूचनामार्फत सुझाव माग गरेको हो । कांग्रेसले ह्वाट्सएप, भाइबर, ट्विटर र इमेलमार्फत घोषणापत्रका लागि सुझाव दिन सकिने जनाएको छ ।

घोषणापत्र तयारी समितिका सचिव डा. प्रदीप पराजुलीका अनुसार जनभावना संकलन गर्ने क्रममा प्रविधिमार्फत सुझावका लागि कांग्रेसको घोषणापत्र तयारी समितिले सार्वजनिक अपिल गरेको हो । उनले कांग्रेसको घोषणापत्र निर्माणका क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सुरु गरिसकिएको जानकारी दिए । यसका लागि प्रत्यक्ष रूपमा मोबाइल नम्बर ९८८०२२३३५५ मा सम्पर्क गरेर वा ९७४१६७३४१८ मा ह्वाट्स एप, भाइबर, इमोमार्फत सम्पर्क गर्न सकिनेछ । 

‘यस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’ भनेर विविध धारणा राख्नुहुने सबैको सुझाव लिने निर्णय घोषणापत्र तयारी समितिले गरेको छ,’ सार्वजनिक आह्वानमा भनिएको छ, ‘अतः स्वदेश र विदेशमा रहनुहुने नेपाली कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक र आलोचक एवं समस्त नेपाली दिदीबहिनी दाजुभाइले प्रविधिको माध्यमबाट सुझाव पठाउन सक्नुहुनेछ ।’

शेखर–गगन समूहले कहिले के गरे ?
- १७ असार : कोइराला र महामन्त्री थापाको उपस्थितिमा इतर गुट भेला, स्थानीय निर्वाचनको टिकट वितरणमा बेवास्ता गरिएको निष्कर्ष 
- २५ र २६ असार : शेखर–गगन समूहको भेला, नेतृत्वविरुद्ध दबाबको राजनीति सुरु गर्ने निर्णय 
- २७ असारदेखि २ साउन : केन्द्रीय कार्यसमिति बैठकमा कोइराला, महामन्त्री थापासहित इतर समूहका केन्द्रीय सदस्यले पार्टीको अर्को समूहलाई समेट्न दबाब
- २ साउन : निर्वाचनमा गठबन्धन गरेर जाने कार्यसमितिको निर्णय 
- २० साउन : गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदल गठन, समितिमा कांग्रेसबाट महामन्त्री थापासहित संयोजक कृष्ण सिटौला र ज्ञानेन्द्र कार्की 
- २८ साउन : इतरका दोस्रो तहका नेताहरूको भेला, निर्वाचनमा न्यायोचित वा ४० प्रतिशत टिकट आफ्नो पक्षलाई दिनुपर्ने माग 
- २९ साउन : देउवा–शेखर भेटवार्ता
- २९ साउन : महिला संघको अध्यक्षमा मनोनयन
- ३१ साउन : शेखर समूहका दुईजनासहित १० महिला केन्द्रीय सदस्य मनोनयन
- १ भदौ : शेखर पक्षका भ्रातृ संस्थाको खबरदारी सभा