मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ७ शुक्रबार १७:३९:००
Read Time : > 4 मिनेट
समाचार डिजिटल संस्करण

आरजुले किन छाडिन् कैलाली ?

Read Time : > 4 मिनेट
२०७९ असोज ७ शुक्रबार १७:३९:००

आरजुले समानुपातिक रोजेपछि कांग्रेसबाट अब को उम्मेदवार बन्ला भन्ने आकलनहरु हुन थालेका छन् । सँगै समानुपातिक रोज्नुको कारणबारे विभिन्न अड्कलबाजी हुन थालेको छ ।

कैलाली क्षेत्र नम्बर ५ बाट २०७४ सालको निर्वाचनमा पराजित भएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा यो क्षेत्र आउन छोडिनन्। बरु यहाँ हुने सामाजिक र पार्टीका गतिविधिमा निरन्तर सहभागी भइरहिन्। त्यसबेला पार्टीभित्रैको अन्तर्घातका कारण हार व्यहोरेको निष्कर्ष निकालेका कांग्रेसका नेताहरु आगामी मंसिरमा हुने निर्वाचन नजिकिँदै गर्दा पार्टीभित्र र बाहिर आरजुको पक्षमा ‘माहोल’ बनाउन सक्रिय थिए।

आरजुकै चाहनामा यहाँ रहेका पार्टी केन्द्रीय सदस्यदेखि जिल्ला नेतृत्वले असन्तुष्टहरुलाई मनाउन भेटघाट र छलफललाई तीब्रता दिइरहेका बेला कांग्रेस समानुपातिक सांसदका उम्मेदवारको सूचीमा आरजुको नाम पनि बाहिरिएपछि यहाँको राजनीति तरङ्गित बनेको छ। आरजुले समानुपातिक रोजेपछि कांग्रेसबाट अब को उम्मेदवार बन्ला भन्ने आकलनहरु हुन थालेका छन्। सँगै समानुपातिक रोज्नुको कारणबारे विभिन्न अड्कलबाजी हुन थालेको छ।

आरजुले चाहे कैलाली ५ मा उनी कांग्रेसबाट निर्विकल्प उम्मेदवार हुन्। उनकै चाहनामा पार्टीको क्षेत्रीय कमिटीले उनको नाम उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस पनि गरेको छ। आरजुले चाहना राखेपछि कांग्रेसका कुनै पनि नेताले दावी गरेनन्। तर, माहोल बनाउन नेताहरुले बढाएको सक्रियता र कतिपय कार्यकर्ताले प्रचार सुरु गरिसकेको अवस्थामा आरजु किन पछि हटिन् भन्ने धेरैको चासोको विषय बनेको छ। यद्यपि कांग्रेस नेताहरु आरजु यो क्षेत्रबाट चुनाव लड्ने सम्भावना अझै रहेको बताउँछन्।

चुनाव जित्ने सुनिश्चितता नदेखेपछि उनले समानुपातिकको सहज बाटो रोजेको यहाँका स्थानीयको बुझाइ छ। कतिपय कांग्रेस नेता, कार्यकर्ताकै बुझाइमा आफ्नो पक्षमा माहोल राम्रो नदेखेपछि आरजु ‘ब्याक’ भएकी हुन्। ‘यहाँ पार्टीमा आफ्नो पकड बलियो बनाउन एउटै जिल्लाबाट सात/सात जनालाई पार्टी केन्द्रीय सदस्य बनाइन्। आफूले चाहेका व्यक्तिलाई स्थानीय तहमा टिकट दिइन्। नचाहेका व्यक्तिको टिकट खोसिन्।’ कांग्रेस संस्थापनइतरका एक नेताले भने, ‘त्यति गर्दा पनि ब्याक हुनु भनेको आफ्नो जित सुनिश्चित नदेखेरै हो भन्ने प्रष्ट छ।’

कैलालीमा पार्टीको जिल्ला नेतृत्व चयनदेखि स्थानीय तहको टिकट वितरणमा आरजुले प्रत्यक्ष हस्तक्षेप गरिन्। क्षेत्र र जिल्लामा आफ्नो पकड बलियो बनाउन उनले स्थानीय तह निर्वाचन र पार्टी अधिवेशनमा वडाध्यक्षसम्मको टिकट वितरणमा हस्तक्षेप गरेको आरोप लागेको थियो। आरजुकै जोडबलमा कैलालीबाट पहिलोपटक पार्टीमा सातजना केन्द्रीय सदस्य भए। क्षेत्र नम्बर ५ पर्ने धनगढीबाट मात्रै आरजुको जोडबलमा केन्द्रीय समितिमा तीनजना छन्। अघिल्लो पटक चुनाव जित्नकै लागि उनले धनगढीमा घर किनिन्।

बाहिर स्वास्थ्यका कारण समानुपातिकमा बसेको भनेपनि मुख्य कारण आफ्नो ‘पोजिसन’ राम्रो नदेख्नु नै रहेको धेरैको विश्लेषण छ। ‘पार्टी र नागरिकस्तरबाट के प्रतिक्रिया आउँछ भनेर पनि हेर्न खोजिएको हुनसक्छ,’ कांग्रेसकै अर्का नेताले भने, ‘किनकी समानुपातिकमा नाम फेरबदल गर्ने समय अझै बाँकी छ। त्यतिबेलासम्म आफू निकट नेताहरुलाई दबाब बढाउन लगाएर समानुपातिकको फिर्ता लिई प्रत्यक्ष लड्न खोजेको पनि हुनसक्छ।’  कांग्रेसका एक नेताका अनुसार आरजुका भतिजा प्रकाश धनगढीमा एक साता बसेर केही दिनअघि फर्केका छन्। ‘यहाँको चुनावी माहोलबारे उनले पनि रिपोर्ट आरजुलाई दिए होलान्,’ कांग्रेस स्रोतले भन्यो।

नेतृत्वको नजरमा नपर्ने भयले बाहिर नबोले पनि क्षेत्र बाहिरकालाई नभई स्थानीय नेताहरुलाई नै टिकट दिनुपर्ने आवाज कांग्रेसमा बलियो छ। त्यो बुझेर पनि आरजु ब्याक भएको हुनसक्ने कतिपयको अनुमान छ।

अघिल्लो निर्वाचनमा तत्कालीन बाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग करिब पाँच हजार मतान्तरले आरजु पराजित भएकी थिइन्। त्यसबेला कांग्रेस नेता, पूर्वसांसद पुष्करनाथ ओझा समूहले उनलाई सहयोग गरेन। आफू पनि उम्मेदवारका आकांक्षी ओझाले टिकट नपाएपछि चुनावमा आरजुलाई सहयोग गरेनन्। चुनावमा आरजुलाई असहयोग गरेको अभियोगमा कांग्रेसले ओझालाई पार्टीको साधारण सदस्यबाट निस्कासन ग¥यो। उक्त कारबाही अहिले पनि फुकुवा भएको छैन।

ओझाले अहिले पनि आफ्नो कारबाही फुकुवा गरेर पार्टीले टिकट देओस् भन्ने चाहेका छन्। नभए स्वतन्त्रबाट चुनाव लड्ने उनको तयारी छ। त्यस्तो अवस्थामा पार्टीभित्रैको एउटा तहले ओझालाई सहयोग गर्ने र आफू अफ्ठेरोमा पर्ने बुझाइ आरजुको रहेको कांग्रेस नेताहरु बताउँछन्। कारबाहीमा परेका ओझाको यो क्षेत्रमा बलियो पकड रहेको छ। गत स्थानीय तह निर्वाचनमा पनि कांग्रेस नेताहरुले पार्टीका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए, तर उनी मौन बसे। स्थानीय तहको चुनावको बेला धनगढी आएका प्रधानमन्त्री देउवाले भेट्न चाहे पनि ओझाले भेट्न मानेका थिएनन्।

कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले आफूहरु अहिले पनि आरजु धनगढीबाटै चुनाव लड्नुपर्छ भन्ने पक्षमा रहेको बताए। उनले आरजुलाई यो क्षेत्रमा चुनाव लडाउन आफूहरुले पहल गर्ने बताए। ‘आरजुले किन समानुपातिक रोज्नुभयो मेरो कुरा हुन पाएको छैन, तर उहाँ नै लड्नुपर्छ भनेर हामी जोड गर्छौँ,’ सभापति भट्टले भने, ‘प्रत्यक्ष चुनाव लड्नुपर्छ भनेर अनुरोध गर्छौँ। आरजुलाई यहाँ जितका लागि कुनै गाह्रो छैन।’

धनगढीमा कांग्रेस चुनाव हार्ने सम्भावना नरहेको दावी गर्दै उनले यहाँ कांग्रेसको अवस्था कमजोर छ भन्ने रिपोर्ट पनि नगएको बताए। ‘समानुपातिकको नाम फेरबदल गर्ने समय अझै केही दिन बाँकी छ। हामी समानुपातिकबाट नाम फिर्ता लिएर उहाँलाई प्रत्यक्ष लड्न आग्रह गर्ने तयारीमा छौँ,’ भट्टले भने।

क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाका दुई वडा पर्छन्। गत स्थानीय तह निर्वाचनमा उपमहानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नृपबहादुर वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजित भएका थिए। आरजुकै जोडबलमा वड मेयरमा दोहोरिन खोजेका थिए। वडामा भने कांग्रेसको वर्चश्व छ।

कांग्रेसबाट को बन्ला उम्मेदवार ?
आरजु चुनाव नलडे यो क्षेत्रमा कांग्रेसबाट उम्मेदवार को बन्ला भन्ने अड्कलबाजी हुन थालेको छ। गठबन्धनमा माओवादी र एकीकृत समाजवादीले यहाँ संघतर्फ दावी गरेका छैनन्। आरजु समानुपातिकमा बसेको अवस्थामा कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह र नेता सुनिलकुमार भण्डारी टिकटका बलिया दावेदार हुन्। भण्डारीले क्षेत्र नम्बर ४ मा पनि दावी गरेका छन्। यी दुई नेतामध्ये एक उम्मेदवार हुने सम्भावना रहेको कांग्रेस नेताहरु बताउँछन्।

कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर, केन्द्रीय सदस्य नैनसिंह महर र सुशासन विज्ञ बाजुराका अंगराज तिमिल्सिना उम्मेदवार बन्ने चर्चा पनि छ। एउटै क्षेत्र रहेको डोटीमा समाजवादीलाई दिने लगभग सहमति भइसकेकाले प्रदेश सभापति बलायरलाई कैलाली क्षेत्र नम्बर ४ या ५ बाट चुनाव लडाउनुपर्ने कांग्रेसका कतिपय नेताको मत छ। यी दुवै क्षेत्रमा डोटेली मतदाताको बाहुल्यता छ।

सभापति भट्ट भने आरजुले छोडेको अवस्थामा कसलाई उम्मेदवार बनाउने भन्ने तयारी नै नरहेको बताउँछन्। आरजु चुनाव लड्ने भनेपछि कुनै नेताले उम्मेदवारमा दावी र निर्वाचनको तयारी नगरेको उनको भनाइ छ।

यस्तो छ स्थानीय तहमा प्राप्त मत
क्षेत्र नम्बर ५ मा एमालेले पोलिटब्यूरो सदस्य नारदमुनि रानालाई नै अघि सार्ने तयारी गरेको छ। यो क्षेत्रमा धेरै मतदाता रहेको रानाथारु समुदायमा उनको बलियो पकड रहेको छ। अघिल्लो निर्वाचनमा २७ हजार २०२ मत पाएर राना विजयी हुँदा आरजुले २२ हजार ३२२ मत ल्याएकी थिइन्।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा भने कांग्रेस अगाडि देखिन्छ। वडाध्यक्षमा कांग्रेसले २२ हजार ७७९, एमालेले १७ हजार ४२०, माओवादीले सात हजार ८१५ र एकीकृत समाजवादीले दुई हजार मत पाएको थियो। मतपरिणामका आधारमा गठबन्धन अगाडि देखिए पनि पार्टीभित्रको असन्तुष्टि, समुदायगत आदि कारणले चुनावको नतिजामा प्रभाव नपार्ला भन्न सकिन्न। यस क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीबाट थारु नेता लक्ष्मण चौधरीसमेत चुनाव लड्ने तयारीमा छन्।