१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पश्चिमले युक्रेनी सेनालाई हतियार उपलब्ध गराएर मस्कोमाथि हमला गर्न किभलाई प्रोत्साहित गर्‍यो : पुटिन
२०७९ असोज ७ शुक्रबार १०:२२:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

रुस–पश्चिमा तनाव : आणविक हतियार प्रयोग गर्ने पुटिनको धम्की

Read Time : > 2 मिनेट
२०७९ असोज ७ शुक्रबार १०:२२:००

बुधबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आक्रमण भएको अवस्थामा ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने चेतावनी दिँदै आंशिक परिचालनको आदेश दिए । पहिल्यै रेकर्ड गरिएको उक्त मन्तव्य–भाषणमा पुटिनले पश्चिमा देशलाई युक्रेनी सेनालाई हतियार उपलब्ध गराएको र मस्कोमाथि हमला गर्न किभलाई प्रोत्साहन गरेको आरोप लगाए । 

‘हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा परेको अवस्थामा र रुस तथा हाम्रा जनताको रक्षा गर्न हामी उपलब्ध हतियार प्रणाली निश्चय नै प्रयोग गर्नेछौँ,’ उनले भने, ‘यो जालझेल होइन । आणविक हतियारले हामीलाई ब्ल्याकमेल गर्नेले यो बुुझ्नुुपर्छ कि तीर तिनीहरूतिर नै फर्किन सक्छ ।’ अमेरिका र युक्रेनका पश्चिमी सहयोगीहरूले रुसले ओगटेको युक्रेनी क्षेत्रमा नियोजित विलय गराउने जनमत संग्रहलगायत मस्कोको पछिल्लो कदमले रुसी अभियान विफल भएको देखाएको बताएका छन् ।

युक्रेनमा परम्परागत युद्धमा रुस असफल हुँदै गएकाले पुटिनको आणविक हतियार प्रयोगको धम्की यथार्थमा बदलिन सक्ने हो कि भन्ने आशंका बढेको छ । रुसले युक्रेन युद्धमा यस्तो हतियारको प्रयोग गरे त्यसले विश्वलाई थप अशान्त बनाउने र अकल्पनीय स्थिति सिर्जना हुन सक्ने आकलन गरिएको छ । 

विश्वको ९० प्रतिशत आणविक अस्त्र रुस र अमेरिकासँग
अमेरिकी वैज्ञानिक संघको अनुुमानअनुसार सन् २०२२ को सुरुसम्ममा नौवटा देशसँग करिब १२ हजार सात सय वारहेड छन् । विश्वमा सबैभन्दा धेरै आणविक अस्त्र भएको मुलुक रुस र अमेरिकाबीच सन् १९९१ जुलाई ३१ मा हस्ताक्षर भएको ‘स्ट्याटेजी आर्म रिडक्सन ट्रिटी(स्टार्ट–१)’ अनुरूप यी मुलुकलाई ६ हजारभन्दा बढी आणविक अस्त्र संग्रह राख्न बन्देज छ । सम्झौताले यी दुई मुलुकलाई बढीमा १६ सय अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल(आइसिबिएम) राख्ने अनुमति दिएको छ ।

 स्टार्ट–१ कार्यान्वयन गर्ने क्रममा सन् १९९४ डिसेम्बरदेखि २००१ बीच तत्कालीन समयमा अस्तित्वमा रहेका ८० प्रतिशत रणनीतिक आणविक हतियार नष्ट गरिएका थिए । सन् २००९ मा यसको समयावधि सकिएपछि सन् २०१० मा त्यसलाई प्रतिस्थापन गर्ने ‘न्यु स्टार्ट’ सम्झौता भयो । न्यु स्टार्ट सन् २०२६ फेब्रुअरीसम्म कार्यान्वयनमा रहनेछ । स्टार्ट–१ अनुरूप रुस र अमेरिकाले आफ्ना हजारौँ आणविक अस्त्र नष्ट गरे पनि अहिले पनि विश्वमा भएका कुल आणविक हतियारको ९० प्रतिशत उनीहरूसँगै छ । सन् १९८६ मा यी दुई मुलुकसँग कुल ६५ हजार आणविक हतियार पुगेको थियो । शीतयुद्धकालमा यी प्रतिद्वन्द्वी मुलुकबीच अस्त्र थप्ने होडबाजी नै चलेको थियो । त्यसले गर्दा मानिसहरू आणविक युद्धको त्रासमा बाँच्नुपरेको थियो ।

रुस र अमेरिकाबाहेक पनि सात मुलुकसँग आणविक अस्त्रहरू छन् । रुस र अमेरिकापछि धेरै आणविक वारहेड हुने मुलुकहरू क्रमशः चीन (३५० वारहेड), फ्रान्स (२९०), बेलायत (२२५), पाकिस्तान (१६५), भारत (१६०), इजरायल (९०), उत्तर कोरिया (२०) हुन् । यिनमा इजरायलबाहेक सबैले औपचारिक रूपमा आफूसँग आणविक अस्त्र रहेको घोषणा गरेका छन् । इजरायलसँग आणविक हतियार रहेको सबैको जानकारीमा भए पनि उसले आफूसँग सो अस्त्र रहेको खुलेर बताएको छैन । आणविक हतियार स्वेच्छिक रूपमा त्याग्ने एक मात्र देश दक्षिण अफ्रिका हो । सन् १९८९ मा तत्कालीन सरकारले आफ्ना आणविक हतियार कार्यक्रम रोकेको थियो र अर्काे वर्ष उसले आफूसँग भएका ६ वटा आणविक हतियार नष्ट गरेको थियो । दुई वर्षपछि गैरआणविक राष्ट्रको रूपमा दक्षिण अफ्रिका परमाणु हतियारको अप्रसार सन्धि (एनपिटी)मा सामेल भयो । 

रुसको आणविक कार्यक्रम
रुससँग अनुमानित पाँच हजार नौ सय ७७ आणविक वारहेड छन् । झन्डै एक हजार पाँच सय ८८ अहिले तैनाथीमा छन् । सोभियत रुसले सन् १९४९ को अगस्टमा पहिलो आणविक परीक्षण गरेको थियो । आरडिएस–१ कोडनाम दिइएको उक्त परीक्षण कजाकस्तानको सेमिपलाटिनस्क परीक्षण क्षेत्रमा गरिएको थियो । सन् १९४९ देखि १९९० को बीचमा सोभियत संघले कुल सात सय १५ वटा आणविक परीक्षण गरेको थियो । सन् १९६१ मा सोभियत संघले आर्कटिक सर्कलको उत्तरमा रहेको नोभाया जेम्ल्यामा विश्वको सबैभन्दा ठूलो आणविक विस्फोटको परीक्षण गरेको थियो । उक्त विस्फोट जापानको हिरोसिमामा खसालिएको बमभन्दा ३३ सय टन भारी थियो । 

आणविक अप्रसारसम्बन्धी  सन्धि (एनपिटी)
सन् १९६८ मा स्थापित ‘एनपिटी’ले आणविक हतियारको विस्तारको रोकथाम र आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । अमेरिका, रुस, चीन, बेलायत र फ्रान्सबाहेक अन्य हस्ताक्षरकर्तालाई परमाणु हतियार प्राप्त गर्न यो सन्धिले प्रतिबन्ध लगाएको छ । यो सन्धिमा अहिलेसम्म एक सय ९० देशले हस्ताक्षर गरेका छन् । संयुक्त राष्ट्र संघका सदस्यमध्ये भारत, इजरायल, पाकिस्तान र दक्षिण सुडान मात्र यो सन्धिमा सहभागी छैनन् । उत्तर कोरियाले सन् १९८५ मा सन्धिमा हस्ताक्षर गरे पनि सन् २००३ मा नै फिर्ता भयो । त्यसको तीन वर्षपछि तत्कालीन नेता किम जोङ इलको नेतृत्वमा उत्तर कोरियाले पहिलो आणविक परीक्षण गरेको थियो ।