मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज ५ बुधबार ०८:१२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भोट हाल्न चार दिन हिँड्नुपर्ने बाध्यता हट्यो

Read Time : > 1 मिनेट
२०७९ असोज ५ बुधबार ०८:१२:००

०७४ मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हुम्लाको ताजाँकोट गाउँपालिका– ३ मासपुरका ७७ वर्षीय दलवीर रोकाया तीन दिन हिँडेर भोट हाले । गत वैशाखको स्थानीय तह निर्वाचनमा ८२ वर्ष पुगेका दलवीरलाई मतदान केन्द्र पुग्न चार दिन लाग्यो । आफ्नो जनप्रतिनिधि आफैँले चुन्न सचेत दलवीरहरूका लागि यो बाध्यता असाध्यै कष्टपूर्ण थियो । तर, अवस्था फेरिएको छ । यसपटक मासपुरमै केन्द्र तोकिएको छ । दलवीरजस्ता ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका सबै मतदाताको बाध्यता हटेको छ । 

राष्ट्रिय जनगणना भएको ३१ वर्षपछि मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको हो । गाउँमै मतदान केन्द्र राखिएको खबर दलवीरलाई सपनाजस्तै लागेको छ । उनी भन्छन्, ‘०७४ को निर्वाचनमा तीन दिन हिँडेर भोट हाल्न छप्रेला पुगेको थिएँ । गत वैशाखमा चार दिन लागेको थियो । गाउँमै केन्द्र आएपछि अब सहजै भोट हाल्न पाउने भएँ ।’ 

स्थानीय केशबहादुर रोकायाका अनुसार पहिले–पहिले धेरै मतदाता मत खसाल्न जाने गरेका थिएनन् । अब सबैले मत हाल्ने अवस्था बनेको उनको भनाइ छ । ‘यसअघिका निर्वाचनमा मतदान गर्न ताजाँकोटकै छप्रेला जान्थ्यौँ । तीन दिन लगाएर मतदान गथ्र्यौँ । आउँदा–जाँदा खानाका लागि रासनपानी बोकेर जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब त्यो हटेको छ ।’ यसअघि महिलाहरू दुधेबालक र पुरुषहरू रासन बोकेर तीन–चार दिनको समय लगाएर मतदान गर्न जान्थे । यस्तो दुःखपूर्ण दौडधुप गर्नुपर्दा रोकायालाई यो सबै मतदाता नामावली बनाउँदा सजाय पाएजस्तो लाग्थ्यो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार साबिक मतदानस्थल ४६ कायम भएका छन् । ठाउँसारी कायम चारवटा र सातवटा नयाँ थपसमेत गरी ५७ वटा मतदानस्थल पुगेका छन् । हुम्लाको मासपुरमा २३ पुरुष र २७ महिला गरी ५० मतदाता रहेको रानाले जानकारी दिए । २३ घरधुरी रहेको मासपुरको कुल जनसंख्या एक सय तीन रहेको छ ।