मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज ४ मंगलबार ११:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुराडाँडा-बाख्रेजगत् जोड्ने कालोपत्रे सडकको शिलान्यास

Read Time : < 1 मिनेट
२०७९ असोज ४ मंगलबार ११:५८:००

संघीय सहरी विकासमन्त्री  मेटमणि चौधरीले सोमबार लमजुङको दुराडाँडामा सत्रसय–अर्चल्यानी–दुराडाँडा–तुर्लुङकोट–पुरानकोट–बाख्रेजगत् सडक स्तरोन्नति (कालोपत्रे) कार्यको शिलान्यास गरेका छन् । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीको आयोजनामा भएको उक्त कार्यक्रमको सुन्दरबजार नगरपालिकाको समन्वय रहेको छ । 

यसैगरी सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सडक स्तरोन्नतिको कार्य अबको एक महिनाभित्रै टेन्डर आह्वान गरी डेढ महिनाभित्र सुरु हुने बताए । सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले सडक जिरो किलोमिटरबाट शिलान्यास भई कालोपत्रे हुन लागेको ऐतिहासिक सडकमा जति किलोमिटर सम्म बजेटले पुग्छ त्यति लम्बाइलाई कालोपत्रे गर्दै जाँदा विकास दिगो हुने बताए । 

एकीकृत समाजवादी, लमजुङका अध्यक्ष रामबाबु अधिकारीले उक्त बाटो स्तरोन्नतिको शिलान्यास कार्यक्रमबाट दुराडाँडामा सडक कालोपत्रेको युग सुरुवात भएको बताए । अधिकारीले सडक स्तरोन्नतिका लागि छुट्याइएको रकमलाई बढाएर बहुवर्षीय योजनाअन्तर्गत काम गर्न आफू लागिपरेको र सोहीअनुसार सफल  भएको बताए । सडक निर्माण गर्दा स्तरीयतामा प्रमुख ध्यान दिने भन्दै सचिव सिंहले अहिले ६ करोड रुपैयाँबराबरको टेन्डर हुने र बाँकी बहुवर्षीय योजनाअन्तर्गत काम हुँदै जाने बताए । 

संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका अनु्सार सुन्दरबजार नगरपालिका र बेँसीसहरका केही वडा छुने उक्त सडकको लम्बाइ डिपिआरअनुसार १५.२ किलोमिटर रहेको छ । डिपिआरअनुसार कुल ५१ करोड ९५ लाख ९३ हजार रुपैयाँ लागत लाग्नेछ । सडकखण्डले दुई हजार घरधुरीका नौ हजार पाँच सय ८७ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्ने बताइएको छ ।