१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
छैटौं महिला साफ च्याम्पियनसिपको उपाधि विजेता बंगलादेश खेलाडीहरू ट्रफीकाे साथमा । तस्बिर : संजित परियार/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२०७९ असोज ३ सोमबार १८:४९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बंगलादेश छैटौँ महिला साफ च्याम्पियन

फाइनलमा नेपाल ३ – १ गाेलले पराजित

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०७९ असोज ३ सोमबार १८:४९:००

छैटौं महिला साफ च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३–१ ले हराउँदै बंगलादेशले उपाधि उचालेको हो ।

बंगलादेश महिला साफको नयाँ विजेता हो । यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो । 

गृहमैदानमा करिब १६ हजारभन्दा बढी दर्शकको साथ पाएको नेपालले पहिलोपटक विजेता बन्ने अवसर गुमायो । नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल खान पुग्यो । 

२–० ले अग्रता लिइरहेको बंगलादेशको पोष्टमा नेपालले ७१औँ मिनेटमा गोल फर्काएको थियो । सावित्राको पासमा ७१ औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर, उनको प्रयास पर्याप्त भएन । 

केहीबेरपछि नै डिफेन्डरहरू अगाडि बढेको मौकामा बंगलादेशले अर्को गोल थप्दै खेललाई ३–१ को अवस्थामा पुर्यायो । यसपछि नेपाल खेलमा फर्कन सकेन । 

बंगलादेशको पहिलो गोल निकै आकर्षक थियो । साम सुन्नाहारले खेलको १४औँ मिनेटमा आकर्षक गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । सब्स्टिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेको केही मिनेटभित्रै उनले आफ्नो उपस्थिति प्रमाणित गरिन् । 

यसपछि नेपालले खेलमा बराबरी गर्ने निरन्तर प्रयास गरिरह्यो । तर, ४२औँ मिनेटमा श्रीमोती कृष्ण शंकरले दोस्रो गोल गरिन् । नेपाली डिफेन्डरहरूको कमजोरीको फाइदा उठाउँदै उनले बललाई जाली चुमाइन् ।

दोस्रो हाफमा नेपालले थप आक्रामक फुटबल खेल्ने प्रयास गरे पनि गोल फर्काउन सकेन । दोस्रो हाफमा नेपालले सर्वाधिक सफल सावित्रा भण्डारी साम्बालाई मैदानमा उतारेको थियो । 

डेंगुको कारण अघिल्ला दुई खेल गुमाएकी सावित्राले पनि नेपाललाई उद्दार गर्न सकिनन् । अन्ततः नेपाल इतिहास रच्नबाट बञ्चित रह्यो ।