मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ३ सोमबार १७:००:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कात्तिकबाट बागमतीमा सफा पानी बग्ने

धाप परियोजनाको काम ९८ प्रतिशत सकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ३ सोमबार १७:००:००

बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ। गोकर्णेश्वर नगरपालिका– १ मा पर्ने बागमती धाप परियोजनामा जम्मा गरिएको पानी आगामी असोज २९ गतेपछि बागमतीमा पठाउने तयारी भइरहेको छ।

समुद्री सतहबाट करिब दुई हजार ८० मिटरको उचाइमा मानवनिर्मित यति ठूलो पोखरी नेपालमै पहिलो भएकाले पनि यसलाई आकर्षक मानिएको छ। यो नेपालमै पहिलो सिएफआरडी ड्याम पनि हो। उपत्यकाको उत्तरपश्चिम चुचुरो मूलखर्क गाउँको सिरानमा बनिरहेको एक सय ५८ रोपनीमा फैलिएको यो ताल निर्माणको लागत ४५ करोड रुपैयाँ रहेको आयोजनाका प्रमुख इन्जिनियर निश्चल छतकुलीले जानकारी दिए।

धापमा २४ मिटर अग्लो बाँध हुनेछ। प्रमुख इन्जिनियर छतकुलीका अनुसार निर्माण हुँदै गरेको धाप बाँधले सुक्खायाममा प्रतिसेकेन्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोड्न मिल्नेछ। ढलको व्यवस्थापन प्रभावकारी हुन सके र सँगसँगै फोहोर व्यवस्थापन भएको खण्डमा त्यसले बागमतीको शिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ।

हालसम्म आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छतकुलीले बताए। धापबाट बागमतीमा पानी पठाइसकेपछि पनि नुहाउनयोग्य बनाउन चार सय ५० लिटरजति सफा पानी मिसाउनुपर्ने जाइकाको अध्ययनले देखाएको छ। ‘परियोजनाको ९८ प्रतिशत काम सकिएको छ। यसको मुख्य ड्याम र सहायक ड्यामहरू पनि निर्माण भई पानी जम्मा गर्न सुरु गरिएको छ,’ छतकुलीले भने।

मुख्य ड्याम र सहायक ड्यामहरू पनि निर्माण भई पानी जम्मा गर्न सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुमा आठ लाख ५० हजार घनमिटरजति पानी जम्मा गर्न सकिन्छ भने पनि अहिले त्योभन्दा धेरै मात्रामा जम्मा गर्न सकिने कुरा अध्ययनले देखाएको छ।

आठ महिना ४० लिटर पानी बगाउन सक्ने अनुमान गरेर धाप निर्माण गरे पनि नागमती धाप निर्माण नहुँदासम्म योजनाअनुसारको पानी प्रवाह गर्न नसकिने छतकुलीको भनाइ छ। ड्याम नजिकै शिवपुरी निकुञ्ज क्षेत्रमा अर्को बाँधको अध्ययन र विस्तृत डिजाइन वातावरणीय अध्ययन भइरहेको छ। धाप ड्याममा जम्मा भएको पानी नागमतीको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोड्दै जाँदा बागमतीमा मिसिन्छ । यो पानीबाट विद्युत् निकाल्ने उद्देश्य रहेको छ भने बागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ।

परियोजना सम्पन्न हुने चरणमा पुगेसँगै जनप्रतिनिधिसमेत उत्साहित बनेका छन्। गत साता ड्यामको अवलोकन गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले योजनाले मूर्तरूप पाउन लागेकोमा खुसी व्यक्त गरे। ड्याम निर्माणको प्रगतिबारे बुझ्न गत आइतबार नेता  सिंह, प्रदेश सांसद छिरिङ दोर्जे लामा र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाललगायतको टोलीसँग धाप पुगेका थिए।

प्रस्तावित नागमती बाँध ९० मिटर अग्लो हुनेछ। यसले ८० लाख घनमिटर पानी जम्मा गर्ने क्षमता राख्ने आयोजनाले जनाएको छ। यो बाँधबाट चार मेगावाट विद्युत् उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिनमुनिको पानी पुनः भरण (रिचार्ज) गर्न ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ।