१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज ३ सोमबार १४:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनशनरत केसीलाई विशिष्टिकृत अस्पताल लैजान सेती अस्पतालको आग्रह

Read Time : < 1 मिनेट
२०७९ असोज ३ सोमबार १४:११:००

सेती प्रादेशिक अस्पतालले अनशनरत डा. गोविन्द केसीलाई विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आग्रह गरेको छ।

केसीको पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको आशंका गर्दै अस्पतालले थप जटिलता बढ्न सक्ने भएकाले विशिष्टिकृत अस्पताल लैजान भनेको हो।

उनको शरीरमा मांशपेशी सुक्दै गएको र अल्सर भइ रक्तश्रावको शंका भएकाले ज्यानमा थप जटिलता आउनसक्ने र जोखिम हुनसक्ने भएकाले विशिष्टिकृत अस्पतालमा लैजान सल्लाह दिइएको उनको उपचारमा संलग्न डा. शेरबहादुर कमरले जानकारी दिए। 

डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र थप जटिलता आउनसक्ने भएकाले उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पताल लैजान मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय, प्रदेशको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी पठाएको अस्पतालले जनाएको छ। 

डा. कमरका अनुसार डा. केसीमा पेट दुख्ने, दिसा कालो भएको, कमजोरी, टाउको दुख्ने, रिंगटा लाग्ने, थकान लाग्ने, सास फेर्न गाह्राे हुने, छाती दुख्ने, मांशपेशी बाउडिनेजस्ता समस्या देखिएका छन्। अनसनको आठौँ दिन सोमबारसम्म उनको तौल २.७ किलो घटेको अस्पतालले जनाएको छ।

स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै धनगढी पुगेर २७ भदाैदेखि अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

 

तस्बिर : तेजराज भट्ट/धनगढी