मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज ३ सोमबार ११:०२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मानव अधिकारको समर्थनमा इंग्ल्यान्ड

Read Time : > 1 मिनेट
२०७९ असोज ३ सोमबार ११:०२:००

 कतार विश्वकप फुटबल प्रतियोगिता आउन दुई महिना बाँकी छ । जति–जति विश्वकप नजिक हुँदै छ, कतारमा मानव अधिकारकर्मीहरूको विरोध त्यतिकै बढिरहेको छ । कतारले विश्वकप आयोजनादेखि रंगशाला निर्माण कार्यसम्म सहभागी भएका कामदारप्रतिको व्यवहार सन्तोषजनक नरहेको दाबी अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीहरूले गरिरहेका छन् । उनीहरूले यसका लागि विभिन्न पक्षसँग वकालत गरिरहेका छन् । यसैबीचमा विश्वकपमा सहभागी हुने इंग्ल्यान्डले आफूहरूको मानव अधिकारवादीहरूले उठाएका विषयमा समर्थन रहेको जनाएको छ । 

इंग्ल्यान्डका प्रशिक्षक गेराथ साउथगेटले कतारमा कार्यरत कामदारप्रति भएका नराम्रो व्यवहार सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने ब्रिटिस मिडियामा बताएका छन् । साथै, इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि विश्वकप प्रतियोगिता दौरान समलिंगी पक्षको वकालत गरेका छन् । कप्तान केनले फुटबल एसोसिएसनका कार्यकारी प्रमुख मार्क बुलिघमसँग कतारमा समलिंगीहरूको पनि स्थान हुनुपर्ने बताएका छन् । 

‘कतारमा मानव अधिकारको हनन भएको हामीले पनि सुनेका थियौँ,’ प्रशिक्षक साउथगेटले भने, ‘प्रतियोगिता दौरान आउने समलिंगी समर्थकले पनि स्थान पाउनुपर्छ ।’ आयोजक कतारले समलिंगी, यौन व्यवसायमा लागेका महिलाहरूमाथि प्रतिबन्ध लगाएको छ । ‘कतारले समलिंगी तथा यौन व्यवसाय गर्ने महिलामाथि प्रतिबन्ध लगाएको छ, विश्वकपमा यस्ता पक्ष रोकिनु राम्रो होइन,’ केनले भने, ‘हामी सहभागी टोलीका कप्तानहरूले पनि मानवीय नाताले पनि यस सम्बन्धमा कुरा राख्नुपर्छ ।’ उनका अनुसार कतारमा मानवअधिकार हनन हुन नदिन तथा तेस्रो लिंगीको पक्षमा इंग्ल्यान्डसँगै जर्मनी तथा स्पेनका कप्तानहरूबीच छलफल हुनेछ । 

अन्तर्राष्ट्रिय खेलाडीहरू क्रिस्टियन एरिक्सन, भर्गिल भान डिक तथा हुगो लोरिसजस्ता खेलाडीबीच पनि छलफल हुने सम्भावना छ । सबै अन्तर्राष्ट्रिय खेलाडीहरूको सामूहिक छलफलपछि एक संयुक्त विज्ञप्ति जारी हुने केनले बताएका छन् । ‘हामी कतारमा भइरहेको तथा हुन सक्ने मानवअधिकार हननबारे संयुक्त विज्ञप्ति निकाली त्यसको विरोध गर्छौं,’ केनको भनाइ छ । 

यसअघि नै युइएफएले कतारमा कामदारमाथि भएका मानव अधिकार हननको सम्बन्धमा आफ्नो भनाइ राखिसकेको छ । युइएफएले कतारमा कार्यरत कामदारको पक्षमा आफूहरू रहेको जनाएको छ । ‘रंगशाला तथा होटेल निर्माणकार्यमा दिनरात काम गरेका कामदारले उचित न्याय पाउन सकेनन्, उनीहरूलाई एक तल्लो स्तरको व्यवहार भएको हामीले पाएका छौँ,’ युइएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्वकपको नीति तथा नियम कुनै पनि पालना भएको देखिँदैन ।’ विश्वकप तयारीका दौरान असंख्य कामदार घाइते हुनुका साथै निधन भएको छ । जसप्रति आयोजक कतारले अहिलेसम्म आधिकारिक रूपमा आफ्नो भनाइ राखेको छैन ।  ‘कामदारहरूको परिवारप्रति सद्भाव छ,’ युइएफएले भनेको छ, ‘यस्तो भयावहको अवस्थामा विश्वकप आयोजना हुनु आफैँमा नराम्रो हो, सबैलाई एकै किसिमको व्यवहार हुनुपर्छ, कामदारले गरेको कामको मूल्यांकन हुनुपर्छ ।’