१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असोज ३ सोमबार १०:५३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुम्बईबाट १० बालकको उद्धार

Read Time : > 1 मिनेट
२०७९ असोज ३ सोमबार १०:५३:००

नेपालबाट बालिका मात्रै होइन, बालकसमेत भारतका सहरमा तस्कर हुने गरेको खुलेको छ । मुम्बईको श्रम बजारबाट १० बालकको उद्धार गरिएपछि घटना पुष्टि भएको हो । मानव बेचबिखन नियन्त्रण ब्युरोको अनुसार रौतहट, मोरङ र सिराहाबाट ११ देखि १७ वर्षका बालक तस्कर गरी मुम्बईको श्रम बजारमा पुर्‍याइएका थिए । भारतीय प्रहरी र सामाजिक संस्था ‘साथसाथ’सँगको सहकार्यमा ब्युरोले बालकको उद्धार गरेको थियो । 

करिब दुई महिनाको प्रयासपछि बालकहरूको उद्धार गरिएको ब्युरोका प्रवक्ता एसपी दानबहादुर मल्लले बताए । ‘भारतीय श्रम बजारमा बालिकाहरू तस्करी हुने गरेकोमा कतिलाई उद्धार गरेका छौँ । तर, पछिल्लो समय बालकसमेत तस्करी हुने गरेको खुलेको छ । मुम्बईबाट दुई महिनाको प्रयासपछि उद्धार गरेर ल्याएका छौँ,’ उनले भने । प्रहरीका अनुसार उद्धार गरिएकामध्ये रौतहटका आठ, मोरङ र सिराहाको एक–एकजना छन् । उद्धारपछि उनीहरूलाई ३१ भदौमा परिवारसँग पुनर्मिलन गराइएको छ । उनीहरू मुम्बईस्थित ब्याग फ्याक्ट्रीमा मजदुरका रूपमा काम गर्थे । उनीहरूले प्रतिमहिना दुई सय भारु पाउँदै आएका थिए । 

१० देखि १२ घन्टा कडा ड्युटीमा खटिनुपर्दा उनीहरूको शरीर दयनीय अवस्था पुगेको उद्धारका क्रममा मुम्बई पुगेकी साथसाथकी रिसोर्स एक्जुकेटिभ कविता शाहले बताइन् । ‘मुम्बईको श्रम बजारमा नेपाली बालक रहेको जानकारी हामीकहाँ आयो । नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा हामी घटनास्थल पुग्यौँ । बालकहरूको अवस्था नाजुक देखिन्थ्यो । थोरै मूल्यमा उनीहरूलाई धेरै श्रम गर्न लगाइएको थियो । हामीले उनीहरूलाई उद्धार गरेर नेपाल ल्यायौँ । अहिले परिवारको जिम्मा लगाइसकिएको छ,’ उनले भनिन् ।

प्रहरीका अनुसार उनीहरूलाई चार महिनाअघि भारतीय ‘गल्लावाला’ले नेपालबाट लिएर गएका थिए । जसमध्ये केही बालक अभिभावकको स्वीकृतिपछि लगिएका थिए । केहीलाई भने विनास्वीकृति लगिएको थियो । यसक्रममा उच्च शिक्षा दिने र राम्रो कमाइ हुने प्रलोभन उनीहरूलाई दिइएको थियो । सोही प्रलोभनपछि उनीहरू ‘गल्लावाला’सँगै मुम्बई पुगेका थिए । ‘गल्लावाला’ले पछि ब्याग फ्याक्ट्रीका मालिकलाई जिम्मा लगाएका थिए । पीडित बालकहरू सबै मुस्लिम समुदायका र अनपढ रहेको प्रहरीको भनाइ छ । ‘गल्लावाल भारतबाटै आएको हो । भारतीय नागरिक भएकाले उसको बारेमा अनुसन्धान हुन सकेको छैन । तर, पीडित बालकहरूसँग बुझ्दा उसले पढाउने र कमाउने प्रलोभन दिएको देखिन्छ । त्यसैमा भुलिएर उनीहरू मुम्बई पुगेको देखिन्छ,’ मल्लले भने ।