१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज ३ सोमबार १०:४९:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अछाम पहिरो : मृतक २२ जनाकै सनाखत

Read Time : > 1 मिनेट
२०७९ असोज ३ सोमबार १०:४९:००

अछाममा पहिरोमा परी ज्यान गुमाएका २२ जनाकै सनाखत भएको छ । शुक्रबार राति चार ठाउँमा पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा तुर्माखाँद– ५ नाडाकाँडाचौरमा नौजनाको मृत्यु भएको थियो । कमलबजार– ६ ठाँटीखाँदमा सात, वडा नम्बर ८ डुंगालामा पाँच र ढकारी– ६ ढुंगाचाल्नामा एकजनाको ज्यान गएको हो । राति सुतेको वेला पहिरो आएपछि काँडाचौरमा तीन परिवारका नौ, ठाँटीखाँदमा एकै परिवारका सात र डुंगालामा एकै परिवारका पाँचजनाले ज्यान गुमाएका छन् ।

मृतक सबैको सनाखतपछि पोस्टमार्टम गरिएको छ । घटनामा घाइते भएका ढुंगाचाल्नाका ६५ वर्षीय हर्कबहादुर बुढाको कोहलपुर मेडिकल कलेज बाँके र उनकी बुहारी २५ वर्षीया चन्द्रा बुढा र ११ वर्षीय नाति धर्म बुढाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ । खोलाले बगाएर बेपत्ता भएका ढकारी गाउँपालिका– १ का ४२ वर्षीया मोती बुढाको अवस्था भने अझै अज्ञात छ । उनको खोजी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले बताए । 

 श्रममन्त्रीले गरे प्रभावित क्षेत्रको निरीक्षण 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनी पहिरोले क्षति गरेका चारवटै स्थानमा पुगेका छन् । मन्त्री कुँवर पहिरो प्रभावित क्षेत्र जिल्लाको तुर्माखाँद गाउँपालिका– ५ नाडा, कमलबजार नगरपालिका–६ ठाँटीखाँद, कलबजार– ८ डुंगाला र ढकारी गाउँपालिका– १ ढुंगाचाल्ना पुगेका थिए ।

मन्त्री कुँवरले आफ्नो व्यक्तिगततर्फबाट किरिया खर्चबापत सबै मृतकका नाममा १०–१० हजारका दरले दुई लाख ३० हजार रूपैयाँ सहयोग गरेका छन् । पीडित परिवारका लागि तत्काल वास व्यवस्थापन गर्न ३८ थान त्रिपाल र ७५ थान कम्बलसमेत दिइएको छ । सो क्रममा पहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई गृह मन्त्रालयमार्फत राहतस्वरूप एक–एक लाख रूपैयाँका दरले सात परिवारलाई सात लाख हस्तान्तरण गरिएको छ ।  पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि नयाँ पत्रिकासँग कुरा गर्दै श्रममन्त्री कुँवरले खाद्यान्न, लत्ताकपडा र विस्थापितको व्यवस्थापनका लागि उचित पहल गरिने बताए ।