मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ असोज ३ सोमबार १०:४०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डेंगु संक्रमितको संख्या १६ हजार नाघ्यो, २० जनाको मृत्यु

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ असोज ३ सोमबार १०:४०:००

देशभर डेंगु संक्रमितको संख्या १६ हजार पाँच सय ८७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आइतबारसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा डेंगु देखिएको छ । हालसम्म ललितपुरमा संक्रमितको संख्या चार हजार ६ सय सात पुगेको छ भने काठमाडौंमा चार हजार चार सय ५४ जनालाई डेंगु संक्रमण भएको छ । सबैभन्दा बढी संक्रमित हुने अन्य जिल्लामध्ये मकवानुपरमा एक हजार पाँच सय ९७, दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९ र भक्तपुरमा १३ जनामा डेंगु देखिएको छ ।

 महाशाखाका अनुसार मुस्ताङ र जुम्लाबाहेक देशका ७५ जिल्लामा डेंगु संक्रमण भइसकेको छ । अझ सहरी इलाकामा यसको संक्रमण तीव्र छ । महाशाखाको तथ्यांकअनुसार बागमती प्रदेशमा १२ हजार चार सय एक, लुम्बिनीमा दुई हजार चार सय २२, प्रदेश १ मा पाँच सय चार, मधेस प्रदेशमा दुई सय ८२, गण्डकीमा तीन सय २२, सुदूरपश्चिममा चार सय ९३ र कर्णालीमा दुई सय तीनजना डेंगु संक्रमित भेटिएका छन् ।

डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । निजी तथा सरकारी अस्पतालमा उपचाररत बिरामीको ज्यान गएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्लो २५ दिनयता १६ जनाले डेंगु संक्रमणबाट ज्यान गुमाएका छन् । त्यसमध्ये निसर्ग अस्पताल कैलालीमा ३५ महिला, कान्तिमा तीन वर्षीया बालिका, मेडिसिटी अस्पताल ललितपुरमा ३८ वर्षीय पुरुष र ६३ वर्षीया महिला, चितवन मेडिकल कलेजमा ३३ वर्षीय पुरुष, भेरी अस्पतालमा १२ वर्षीया बालिका, नेपालगन्ज मेडिकल अस्पतालमा २५ वर्षीया महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ ।

त्यस्तै, सुमेरु अस्पताल ललितपुरमा ६६ वर्षीय पुरुष, ग्रान्डी अस्पतालमा ५६ पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा २७ वर्षीया महिला, ३५ वर्षीय पुरुष, नर्भिक अस्पतालमा ३७ वर्षीया महिला, शुभेच्छा इन्टरनेसनल हस्पिटल काठमाडौंमा १२ वर्षीय पुरुष, ओम अस्पतालमा २३ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये तीनजना डेंगु र कोभिड– १९ दुवैबाट संक्रमित थिए । 

 डेंगु बढिरहेको छ, तर स्थानीय सरकारको ध्यान अन्तै 
स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या बढेपछि स्थानीय सरकारलाई यसको रोकथाममा सहयोगी भूमिका निभाउन एक महिनाअघि नै आग्रह गरेको थियो । तर, देशकै राजधानीका स्थानीयले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकतामा राखेका छैनन् । काठमाडौं महानगरपालिका यतिवेला अनधिकृत संरचना हटाउने कार्यमा व्यस्त छ । नगरपालिकाको स्वास्थ्य विभागले सामान्य माइकिङबाहेकको अन्य भूमिका निभाउन सकेको छैन । 

त्यस्तै, ललितपुर महानगरपालिकाले पनि डेंगु नियन्त्रणलाई प्राथमिकतामा राखेका छैन । महानगरहरू नै डेंगु नियन्त्रणमा जिम्मेवार नदेखिँदा संक्रमितको संख्या तीव्र रूपमा फैलिएको छ । यसअघि ललितपुरमा सबैभन्दा धेरै संख्यामा डेंगु भएको थियो भने अहिले त्यो संख्या काठमाडौंमा सरेको छ । स्थानीय सरकारले सहयोग नगर्दा अहिले डेंगु संक्रमितको संख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयहरूले जनाएका छन् । यसअघि काठमाडौंका कम परीक्षण भएका कारण तथ्यांक कम आएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रमुख वसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार काठमाडौं महानगरलाई परीक्षणको दायर बढाउन स्वास्थ्य कार्यालयले दबाब दिएको थियो । ‘हामीले त पहिले नै यसको परीक्षण दायरा बढाउन महानगर र स्वास्थ्य सेवा विभागलाई भनेका थियौँ, तर उहाँहरूले ढिलो गुर्नभयो,’ उनले भने, ‘स्वास्थ्य कार्यालयको सामथ्र्यले मात्रै काठमाडौंको डेंगु नियन्त्रण गर्न सक्दैन ।’ 

काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले अन्य कामसँगै डेंगु र कोभिड नियन्त्रणमा पनि लागिरहेको बताए । उनले यसअघि केही दिन डेंगुका लार्भा नष्ट गर्न महानगरले स्वयंसेवक टोलीसमेत खटाएको बताए । स्वास्थ्य कार्यालय ललितपुरले पनि ललितपुर महानगरबाट डेंगु नियन्त्रणमा पर्याप्त सहयोग नपाएको जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक सतिश विष्टले सबै स्थानीय तहको साथ मिले मात्रै डेंगु नियन्त्रण हुने बताए । ‘ललितपुरमा डेंगु अझै फैलँदो छ, स्थानीय तहको राम्रो सहयोग भयो भने मात्रै हामीले यसलाई नियन्त्रण गर्न सक्छौँ,’ उनले भने, ‘चिसो बढ्न थाल्यो भनेर यसलाई हेलचेक्र्याइँ गर्दा भयावहको रूप पनि लिन सक्छ ।’