मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असोज ३ सोमबार ०८:१२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकालाई पोषणयुक्त आहार : के खुवाउने, के नखुवाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असोज ३ सोमबार ०८:१२:००

बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि पोषणयुक्त खानपान निकै महत्वपूर्ण हुन्छ । दिमागको पूर्ण विकास पाँच वर्षसम्ममा भइसक्ने भएकाले पाँच वर्षमुनिका बालबालिकालाई झनै महत्वपूर्ण हुन्छ । बच्चाको शरीर र दिमागलाई स्वस्थ राख्न प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिड एकदमै आवश्यक हुन्छ । 

फलफूल र तरकारी
-फलफूल र सागसब्जीको माध्यमबाट शरीरमा चाहिने आवश्यक प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, फाइबर र पानीको परिपूर्ति हुन्छ । यसले शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै सम्भावित रोगबाट समेत बचाउँछ । त्यसैले खानेकुरामा फलफूल र सागपात समावेश गर्न सिकाउन आवश्यक छ । यसले बालबालिकामा ठूलो भइसकेपछि पनि  स्वस्थ खानेकुरा खाने बानीको विकास गर्छ । 
-केमिकल फर्टिलाइजर प्रयोग नगरी उत्पादन गरिएका सागसब्जी तथा अर्गानिक फलफूल खान उपयुक्त हुन्छ ।  
अन्न
बच्चाको वृद्धि विकासका लागि अन्न अपरिहार्य खाद्यवस्तु हो । चामल, गहुँ, मकै, जौ र कोदो आदिजस्ता अन्नबाट बनेका विभिन्न खानेकुरा बच्चाको नियमित भोजनमा समावेश गर्नुपर्छ । यसले लामो समयसम्म ऊर्जा दिने र शारीरिक विकास छिटो हुने हुन्छ । साथै, सिकाइको विकास गराउँछ । अन्न खाँदा लामो समयसम्म भोक नलाग्ने भएकाले समेत स्वास्थ्यका लागि लाभदायी छ । यसबाहेक घरमा पकाइएको स्वस्थ खानेकुरामा जहिले पनि जोड दिनुपर्छ ।  बजारबाट किनेर जंकफुड खुवाउनु हुँदैन । 

दूधजन्य पदार्थ
बच्चाको दिमागी विकासका लागि दूधजन्य खाद्यवस्तु एकदमै लाभदायी हुन्छन् । दहीले दिमागको कोषलाई लचिलो बनाउँछ, जसबाट दिमागले छिटो संकेत लिने र तत्काल प्रतिक्रिया जनाउने क्षमता बढाउँछ । यसमा प्रोटिन र क्याल्सियम प्रशस्त मात्रामा पाइने भएकाले हड्डी र दाँत बलियो बनाउँछ ।

प्रोटिन
बच्चाहरूलाई प्रोटिनयुक्त खानेकुरा जस्तै, माछा, मासु, अन्डा, दाल तथा गेडागुडी नियमित खुवाउनुपर्छ । यसले मांसपेशी बलियो बनाउँछ । यस्ता खानेकुरामा भिटामिन, खनिज, ओमेगा ३ र फ्याटी एसिडजस्ता उपयोगी तत्व पाइन्छन् । जसले बच्चाको दिमागी विकासका साथै सिकाइ र भौतिक विकास अर्थात् उचाइ बढाउँछ । त्यस्तै, पानी प्रशस्त पिलाउनुपर्छ ।

के नखुवाउने ?
-खासगरी, बच्चाहरू फास्टफुड र जंकफुड खान रुचाउँछन् । तर, यस्ता खानेकुराबाट बच्चालाई टाढा राख्नुपर्छ । किनकि, यस्ता खाद्यान्नमा अत्यधिक नुन, स्याचुरेटेड फ्याट, चिनी, कम मात्रामा मात्र फाइबर र पौष्टिक तत्व पाइने भएकाले बच्चाको वृद्धि विकासमा असर पुग्छ । 
-कोल्डड्रिंक्स र बजारमा किनिएको चिनी मिसिएको जुसले बच्चाको स्वास्थ्यमा असर गरिरहेको हुन्छ ।  
-बढी चकलेट, जंकफुड तथा अस्वस्थ खानाले दाँतमा किरा र आन्द्राको रोग लाग्ने सम्भावना हुन्छ । यसमा अभिभावकले विशेष ध्यान दिनुपर्छ । सानैदेखि स्वस्थ खानेकुरा मात्रै लिने बानीको विकास बच्चामा गराउनका लागि अभिभावकको मार्गनिर्देशन निकै महत्वपूर्ण रहन्छ ।