१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७९ असोज ३ सोमबार ०६:२०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एमालेले टुंग्यायो समानुपातिकको प्रारम्भिक सूची, शतप्रतिशत नयाँ

Read Time : > 1 मिनेट
२०७९ असोज ३ सोमबार ०६:२०:००
  • ०६४ देखि ०७४ सम्मको तीन निर्वाचनमा एकपटक सांसद भइसकेका सबैलाई बाहिर राखेर एमालेको बन्दसूची तयार 
  • १९ पदाधिकारीबाट सूचीमा शून्य उम्मेदवार 
  • प्रतिनिधिसभामा ५२% र प्रदेश सभामा ५४% नयाँ महिलालाई अवसर 

एमालेले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि शतप्रतिशत नयाँ अनुहार राखेर समानुपातिकतर्फको प्रारम्भिक सूची तयार पारेको छ । सोमबार सूची बुझाउने एमालेको तयारी छ । तर, १६ असोजसम्म सूची परिमार्जनको समय रहेकाले केही नाम हेरफेरको सम्भावना पनि कायमै छ । समानुपातिक–समावेशी कोटातर्फको उम्मेदवार चयनमा नयाँ मापदण्ड प्रयोग गर्दै एमालेले ०६४ यताका तीन निर्वाचनबाट कम्तीमा एकपटक सांसद भइसकेका सबैलाई बाहिर राखेर बन्दसूची तयार गरेको हो । आइतबार केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवार बन्ने चर्चामा रहेका नेतालाई समेत बाहिर राखेर सूची बनाएको छ । 

बैठकले सोमबार बेलुकी ५ बजेभित्र बन्दसूची बुझाउने गरी उम्मेदवारहरूको नामावली पारित गरेको छ । समानुपातिकतर्फ उम्मेदवार बन्ने चर्चामा रहेका उपाध्यक्षहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र उपमहासचिव विष्णु रिमालको नाम बन्दसूचीमा समावेश छैन । उनीहरू यसअघि समानुपातिक कोटाबाट सांसद भइसकेका छन् । ‘पहिलो संविधानसभा ९०६४०देखि दोस्रो संविधानसभा ९०७०० र ०७४ सहित तीनवटा निर्वाचनमा समानुपातिकबाट प्रतिनिधित्व गरिसकेका महिला–पुरुष कसैलाई पनि बन्दसूचीमा समावेश गरेका छैनौँ,’ बैठकपछि उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले नयाँ पत्रिकासँग भने ।

उनका अनुसार विगतको निर्वाचनमा उम्मेदवार भएर पराजित भएका पनि सूचीमा छैनन् । त्यसबाहेक गाउँपालिका अध्यक्ष, नगरप्रमुख, उपप्रमुख भएर निर्वाचित पनि उम्मेदवारको सूचीमा नरहेको गुरुङले बताए । यद्यपि, विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाको हकमा भने लचिलो नीति लिँदै कतिपय योग्य व्यक्तित्वलाई समावेश गरिएको गुरुङले संकेत गरे । ‘विभिन्न पार्टीबाट प्रवेश गरेका नयाँ व्यक्तित्वको हकमा लचिलो भएर निर्णय गरेका छौँ,’ उनले भने ।

प्रत्यक्षतर्फको उम्मेदवार चयनका क्रममा देखिने सम्भावित असन्तुष्टि सम्बोधनका लागि बन्दसूची हेरफेरको विकल्प खुला राखेको छ । एमालेले विशिष्ट अवस्थामा बाहेक समानुपातिकतर्फबाट सांसद भइसकेकाका लागि बन्दसूचीको ढोका बन्द गरे पनि प्रत्यक्षतर्फ असन्तुष्टि सम्बोधनका लागि एकाध नाम हेरफेर गर्ने ढोका खुला राखेको छ । 

‘यो निर्वाचन आयोगमा बुझाइने प्रारम्भिक सूची हो, १६ असोजसम्म अन्तिम निर्णय गर्ने समय रहेकाले नाम तलमाथि हुन सक्ने भएकाले सबै सूची डिस्क्लोज्ड नगरेको हो,’ उपमहासचिव गुरुङले भने, ‘प्रत्यक्षतर्फको उम्मेदवार तय भइसकेपछि एकाध नाम तलमाथि हुन पनि सक्छ या अहिलेकै सूची सार्वजनिक गरेर पनि चुनावमा लैजान पनि सक्छौँ । तर, उता ९प्रत्यक्षतर्फ सिफारिस भएकामध्ये०बाट यता ल्याउनुपर्ने हुँदा एकाध नाम हेरफेर हुन सक्ने भए पनि आमरूपमा हेरफेर हुने सम्भावना कम छ ।’ 

बैठकले बन्दसूची बुझाउने जिम्मेवारी निर्वाचन विभाग प्रमुखसमेत रहेका उपमहासचिव विष्णु रिमालसहितलाई दिएको छ । एमालेले समानुपातिकतर्फ प्रतिनिधिसभामा ५२ प्रतिशत र प्रदेश सभामा ५४ प्रतिशत महिला उम्मेदवार बनाएको छ । यसरी बन्दसूचीमा परेका सबै महिला नयाँ अनुहार हुन् । प्रतिनिधिसभाको एक सय १० जना उम्मेदवारमध्ये ५७ जना महिला छन् भने ५३ जना पुरुष उम्मेदवार छन् ।