मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज २ आइतबार १८:४०:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

डा. केसीको स्वास्थ्य थप जटिल

Read Time : > 2 मिनेट
२०७९ असोज २ आइतबार १८:४०:००

स्वास्थ्य र चिकित्सा क्षेत्र सुधारसँग सम्बन्धित सातबुँदे माग गर्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिलता बढ्दै गएको छ। 

अनशन सुरु गरेको सातौँ दिन आइतबार उनको शारीरिक अवस्था निकै कमजोर देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनमा टाउको दुख्ने, रिंगटा लाग्ने, स्वास फेर्न गाह्राे हुने, पेट दुख्ने, शरीरका मांशपेशी दुख्नेजस्ता समस्या देखिएका छन्।

मुटुको धड्कनमा गडबड हुनुका साथै श्वास–प्रश्वास दर बढ्दै गएको केसीको उपचारमा संलग्न डा. शेरबहादुर कमरले जानकारी दिए। 

श्वास फेर्न समस्या हुन थालेपछि आइतबारबाट उनलाई अक्सिजनको सपोर्ट दिइएको डा. कमरले बताए। उपचारमा संलग्न चिकित्सकका अनुसार केसीको शरीरमा अक्सिनको मात्रा घटेर ९०–९२ पुगेको छ।

‘रिंगटा लाग्ने, टाउको र छाती दुख्ने, पेट पोल्ने, मांशपेशी बाउँडिनेजस्ता समस्या देखिएका छन्। उहाँको (डा. केसीको) शरीरमा न्युट्रेसनको कमी छ। ग्लुकोज लिन मान्नुभएको छैन।’ डा. कमरले भने, ‘पोषण तत्त्व र पानीको मात्रा कम भएर जटिलता निम्तिएको छ। यस्तो वेला जे पनि हुन सक्छ।’ 

उनको मुटुको धड्कनमा पनि गडबडी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। डा. केसीको शरीरमा रक्तचापसँगै सुगरको मात्रा घटेर ४४ एमजी पुगेको अस्पतालले जनाएको छ। 

केसीको स्वास्थ्य अवस्थाबारे जानकारीसहित विज्ञप्ति जारी गर्दै अस्पतालले शरीरमा पोषण तत्त्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने, रोगसँग लड्ने क्षमता कम भई विभिन्न संक्रमण हुन सक्ने, मुटुको धड्कन, श्वास-प्रश्वास र रक्तचाप गडबड भई अंग वा प्रणालीमा खराबी हुन सक्ने र ज्यान जोखिममा पर्न सक्ने’ भनेको छ।

डा. केसी गत सोमबारबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनशन बसेका थिए । अनशन बसेको तेस्रो दिन स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। 

अस्पतालका अनुसार सात दिनको अवधिमा केसीको तौल दुई किलो घटेको छ। डा. केसीले मुखबाट पानी र नशाबाट रिङ्गर ल्याक्टेटबाहेक कुनै पनि पदार्थ लिन अस्वीकार गरेको छन् । उनले लिखित रूपमै पानी र नशाबाट रिङ्गर ल्याक्टेटबाहेक अन्य पदार्थ निषेध गरेका उपचारमा संलग्न डा. कमरले बताए।

सरकारले विगतमा आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने, सबै सरकारी अस्पतालमा शय्याअनुसार चिकित्सकको दरबन्दी बढाउनुपर्ने, सरकारले तोकेको सूचीअनुसार सबै प्रकारका निःशुल्क औषधी सबै स्वास्थ्य संस्थाबाट उपलब्ध गराउनुपर्ने माग उनले गरेका छन्। 

त्यस्तै, स्वास्थ्य प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, दाङलगायत मधेस र गण्डकी प्रदेशमा सरकारी मेडिकल शिक्षण संस्था तुरुन्त निर्माण सुरु गरिनुपर्ने माग केसीले राखेका छन्।

स्थानीय तहको कम्तीमा आधा बजेट स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न पनि उनको माग छ । २२औँपटक अनशन बस्नुअघि धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भागबन्डामा गरिएको नियुक्ति सच्याउन र प्रतिष्ठानका उपकुलपतिलगायत भ्रष्ट पदाधिकारीलाई बर्खास्त गरी कारबाही गर्न माग गरेका थिए। कैलालीको गेटामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने पनि उनको माग छ।

केसीलाई नागरिक समाजको साथ

डा. केसीका मागप्रति यहाँका नागरिकले अस्पतालमै पुगेर ऐक्यबद्धता जनाउने गरेका छन्। धनगढीको नागरिक समाजका अगुवाले धनगढीको पार्कमोडमा आइतबार मौन प्रदर्शन गर्दै केसीको सत्याग्रहमा ऐक्यबद्धता जाहेर गरेका छन् । केसीका मागको सुनुवाइका लागि सरकारलाई दबाब दिन नागरिक अगुवाहरू हातहातमा प्लेकार्डसहित प्रदर्शनमा सहभागी भए। 

उनीहरूले केसीको जीवनरक्षा गर्न र उनले उठाएका चिकित्सा सुधारका काम गर्न सरकारसँग आग्रह गरे। ‘जनताको स्वास्थ्यमाथि खेलबाड कहिलेसम्म सरकार ? सरकार ! यी गोविन्द केसीका माग होइनन् हाम्रा माग हुन्’ भन्दै प्रदर्शन गरिएको हो।

आन्दोलनमा सहभागी प्रा.डा. हेमराज पन्तले केसीले उठाएका प्रमुख मागहरू सरकारले तत्काल पूरा गर्नुपर्ने बताए। आमनागरिकको पक्षमा केसीले उठाएका मागप्रति राज्यले बेवास्ता गर्न नहुने पन्तले बताए। ‘केसीले उठाएको स्वास्थ्य क्षेत्र सुधारको विषय हो। 

स्वास्थ्य उपचार र चिकित्सा अध्ययनमा आमनागरिकको सहज पहुँच पुगोस् भन्ने हो।’ पन्तले भने, ‘उहाँका मागप्रति हाम्रो ऐक्यबद्धता छ।’ गेटामा मेडिकल कलेज वा प्रतिष्ठान सञ्चालनको विषय पनि केसीले उठाएकाले उनका मागप्रति प्रदेशका बासिन्दाको ऐक्यबद्धता रहेको नागरिक अगुवा प्रमोद पाठकले बताए।