मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २ आइतबार १२:११:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाम पहिरो : बेपत्ता २२ जनाकै शव भेटियो

Read Time : > 1 मिनेट
२०७९ असोज २ आइतबार १२:११:००

अछाममा पहिरोमा परी बेपत्ता सबै २२ जनाकै शव भेटिएको छ। आइतबार बिहान तुर्माखाँदका १३ वर्षीय सुन्दर शाहीको शव भेटिएपछि बेपत्ता सबै २२ जनाको शव भेटिएको हो। यसअघि शनिबार राति अबेर सुन्दरसँगै बेपत्ता भएका रितबहादुर शाही (रिठे)की दुई नातिनी नेलिना र करिश्मा शाहीको शव भेटिएको थियो।

तुर्माखाँद वडा नम्बर ५ नाडाको काँडाचौर गाउँमाथिबाट आएको पहिरोले दुई घर पुरिँदा स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती मनीषा र छोरी विमलाको मृत्यु भएको थियो। मीनबहादुर शाहीकी छोरी जानकीको पनि मृत्यु भएको छ । विमला र जानकी नाडाकै कालिकेश्वरी माविको कक्षा १० मा अध्ययनरत थिए।

त्यस्तै, आइतबार बिहान शव भेटिएका सुन्दर शाहीका दुई भाउजू भावना र कल्पना शाहीको पनि पहिरोमा च्यापिएर मृत्यु भएको छ। कालिकेश्वरी माविका शिक्षक टोपेन्द्र शाहीका अनुसार मानवीय क्षति भएका दुवै घर पूर्ण रूपमा पहिरोले बगाएको छ। अन्य करिब डेढ दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् । काँडाचौर र त्यस वरपारका टोलका १५ भन्दा बढी परिवारलाई शनिबारदेखि नै वडा कार्यालयमा राखिएको छ। उनीहरूका घर पनि पहिरोको जोखिममा रहेकाले थप क्षति हुन नदिन उनीहरूलाई सुरक्षित स्थानमा राखिएको हो।

शुक्रबार राति तुर्माखाँदको नाडासँगै जिल्लाका अन्य तीन ठाउँमा पनि पहिरो गएको थियो। निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार तुर्माखाँदमा तीन परिवारका नाैजनासँगै कमलबजार नगरपालिकामा १२ र ढकारी गाउँपालिकामा एकको मृत्यु भएको हो।

कमलबजार नगरपालिकाको वडा नम्बर ६ ठाँटीखाँदमा सबैभन्दा धेरै सातजनाको मृत्यु भएको छ। स्थानीय इन्द्र जनालाको घरमाथि पहिरो खस्दा तीन छोरीहरू सरिता, सञ्जिता र मैनकलाको मृत्यु भएको छ। त्यस्तै, इन्द्रकै भाइ नमबहादुर जनालाकी श्रीमती सिर्जना, छोरा ईश्वर, बुहारी गीता र छोरी धनाको पनि घटनास्थलमै मृत्यु भएको छ। अन्य पाँचजना सामान्य घाइते भएका छन्।

कमलबजारकै वडा नं. ८ डुंगालास्थित कुन्टागडेन टोलमा पहिरोले घर पुरिँदा २६ वर्षीय गम्भीर दमाईं, उनकी श्रीमती २३ वर्षीया भाना, छोरीहरू  डिग्रा, पाँच वर्षीया कल्पना र तीन वर्षीया सृष्टिको मृत्यु भएको हो। पहिरोमा पुरिएका खड्के दमाईंको भने जीवितै उद्धार गरिएको स्थानीय हिक्मत नेपालीले बताए।

ढकारी गाउँपालिका– ६ ढुंगाचाल्नाको सिमाने गाउँका हर्कबहादुर बुढा (बैदार)का दुई वर्षीय नाति नवीनको पनि पहिरोमा परेर ज्यान गएको छ । ६५ वर्षीय हर्कबहादुर, बुहारी २५ वर्षीया चन्द्रादेवी र नाति ११ वर्षीय धर्म घाइते छन्। उनीहरूको सुर्खेत र नेपालगन्जमा उपचार भइरहेको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। त्यहाँ उपचार सम्भव नदेखिएपछि हर्कबहादुरलाई नेपालगन्ज लगिएको उनका आफन्तले बताएका छन्।

पहिरोमा बेपत्ता सबैको शव भेटिएपनि खोलाले बगाएर बेपत्ता भएका ढकारी गाउँपालिका–१ का एक वृद्धको भने अवस्था अज्ञात छ। उनको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी रिजालले बताए।