Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ असोज २ आइतबार ०९:०४:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

कैलालीमा बाढी र डुबानबाट १५ सय परिवार प्रभावित, बाढीमा एक बेपत्ता 

Read Time : > 2 मिनेट
२०७९ असोज २ आइतबार ०९:०४:००

कञ्चनपुरमा २१० घर डुबानमा, दोदाको बाढीले झोलुङे पुल बगायो

बाढीले बगाउँदा धनगढी उपमहानगरपालिका– १३ की २० वर्षीया नवीना चौधरी बेपत्ता भएकी छिन् । स्थानीय झलारी नालामा माछा मार्न गएकी उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार कैलालीमा विभिन्न नदी र खोला बस्ती पस्दा १५ सय परिवार प्रभावित भएका छन् । डुबानबाट विस्थापित एक सय ३० परिवारलाई सुरक्षित स्थानमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । 

घरमा पानी पसेपछि टीकापुर नगरपालिकामा ८० परिवार र जानकी गाउँपालिका– ४ बेलपुर, मनुवा र गिरधरपुरका ६० परिवार विस्थापित भए । त्यस्तै, भजनी नगरपालिका– ८ मा पथरैया नदीको बाढीका कारण सोनाफाँटा, दैलेखी टोल, भरतान टोल, जनकपुर र छहवाका एक सय ६० घर डुबानमा परेका छन् । भजनीकै वडा नं. ५ को मिलनपुर टोल, लालबोझी, पुलियापुरका दुई सय ५० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नं. ७ को शिविर टोल, गणेशमान टोल, दक्षिणपुरवा टोलका करिब दुई सय ५० घरमा कान्द्रा नदीको पानी पसेको बताइएको छ । त्यस्तै, वडा नं. १ भजनी बजारमा करिब २५ पसलमा र वडा नं. ३ स्थित पडियामा २५ घर डुबानमा परेका नगरपालिकाले जनाएको छ । भजनी नगरपालिका वडा नं. ५ र ८ का केही प्रभावित हुलाकी सडकमा आएर बसेको स्थानीय जयप्रसाद ढुंगानाले जानकारी दिए । 

जोशीपुर गाउँपालिका– ३ स्थित भगरैया, झबही, खैरेनी, बन्जरिया, हस्नापुरमा काँढा नदीको बाढी पसेर करिब तीन सय ९० घर डुबानमा परेका छन् । त्यस्तै, कैलारी गाउँपालिकाका वडा नं. ५ र ८ स्थित बन्दरगौढी, मनिकापुर, बंगालीपुर, खल्लाटोलका गरी एक सय २५ घर स्थानीय कटइनी नदीको बाढी पस्दा डुबानमा परेको सूचना अधिकारी जोशीले जानकारी दिए । घर डुबानमा परेपछि घरमै फसेका मनिकापुर गाउँका प्रभावितको सशस्त्र प्रहरीले उद्धार गरेको थियो । कैलारीकै छटकपुर वसन्ता र रामपुरमा करिब पाँच दर्जन घर डुबानमा परेका छन् । टीकापुर नगरपालिकाका विभिन्न स्थानमा ८० घरधुरी र लम्कीमा एक सय २५ घर डुबानमा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही पालिकाको वडा नम्बर ९ स्थित वनवर्षा र सोहनपुरका १५–२० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

डुबान प्रभावित क्षेत्रमा खोज, उद्धारका लागि बिहानैदेखि सुरक्षाकर्मी टोली खटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार घरमा पानी पसे पनि धेरैजसो परिवार घरभित्रै बसेका छन् भने कतिपय विस्थापित भएका छन् ।

कञ्चनपुरमा २१० घर डुबानमा, दोदाको बाढीले झोलुङे पुल बगायो 
बिहीबारदेखिको अविरल वर्षाका कारण कञ्चनपुरका साना–ठूला नदी तथा खहरे खोलामा आएको बाढीले तटीय क्षेत्रदेखि गाउँबस्तीसम्म डुबान गरेको छ । जिल्लामा सिमसिमे मात्रै वर्षा भए पनि पहाडी भेग तथा नदी–खोलाको मुहान क्षेत्रमा उच्च वर्ष भएकाले शनिबार बिहानदेखि तल्लो क्षेत्रमा असर देखिएको हो । 

दोदाको बाढीले शुक्लाफाँटा नगरपालिका– १२ र लालझाडी गाउँपालिका– ४ जोड्ने झोलुङे पुल पनि बगाएको छ । यो क्षेत्रमा दोदालाई तिलकी वनहरा नदीको नाम दिने गरिएको छ । स्थानीय पदम रानाले चार वर्षअघि मात्रै निर्माण भएको झोलुङे पुल बगाएको र दुईतर्फी सम्बन्ध–विच्छेद भएको बताए । 

कञ्चनपुरको पूर्वी चुरे क्षेत्र हुँदै दक्षिणी भूभागसम्म बग्ने दोदा नदीले सबैभन्दा धेरै क्षति निम्त्याएको छ । नदीआसपासका बस्ती र घर डुबानमा परेका छन् । कृष्णपुर– २ वाणी, बेलौरी– ५ मौलियादेखि दक्षिण लालझाडी हुँदै पुनर्वास– ५ सिमरिसिमा गाउँसम्मका बस्ती डुबानमा परेका छन् । 

कृष्णपुर– २ का वडाध्यक्ष अर्जुन साउदले वनहरा नदीको सतह गएरातिदेखि एक्कासि बढेसँगै बंक, खल्ला, वाणी क्षेत्रका दर्जनौँ घर डुबानमा परेको बताए । उनका अनुसार स्थानीय जनप्रतिनिधिसहित उद्धारमा खटिएका छन् । लालझाडीका अध्यक्ष निर्मल रानाले सिंगै दोदा गाउँ पसेर पाँच सय घर डुबानमा परेको बताए । ‘अप्रत्याशित रूपमा नदीको सतह बढ्यो,’ अध्यक्ष रानाले भने, ‘गाउँपालिका कार्यालयसहित चार सय घर डुबानमा परेका छन् । खेतीयोग्य भूमिसमेत बगाउन सुरु गरेको छ । डुबानमा परेका घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।’ अति प्रभावित परिवारलाई स्थानीय विद्यालयमा स्थानान्तरण गरिएको उनले बताए । 

घर डुबानमा पर्दा लालझाडी– ३ नन्दगाउँकी २० वर्षीया प्रिनिका राना घाइते भएकी छिन् । उनको धनगढीमा उपचार भइरहेको छ । त्यस्तै, पहिरोले ढालेका रूख बिजुलीका तारमाथि खस्दा बेलौरी, बेलडाँडी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

बाढीपीडितको उद्धारमा सशस्त्र र नेपाल प्रहरी खटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले बाढीले धेरै क्षेत्रमा डुबान भए पनि ठूलो भौतिक तथा मानवीय क्षति नभएको बताए । 

पश्चिम दोधाराचाँदनी नगरपालिका– ३ जमुनाघाडी र वडा नम्बर ८ सुन्दररनगरमा झन्डै ३० घर डुबानमा परेको स्थानीय पत्रकार खडक रावलले बताए । ‘स्थानीय नदी गाउँ पसेपछि जमुनाघाडी र सुन्दरनगर डुबानमा परेका छन्,’ उनले भने, ‘पीडित नजिककै सुरक्षित स्थानमा गएका छन् ।’ 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जिल्लाभर दुई सय १० परिवार प्रभावित भएको बताए । ‘बाढीले अहिलेसम्म दोधाराचाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, लालझाडी र पुनर्वास नगरका दर्जनौँ गाउँबस्तीका दुई सय १० परिवार पूर्ण प्रभावित भएका छन्,’ उनले भने, ‘कच्ची घरमा धेरै क्षति भएको देखिन्छ । पीडितलाई नजिकैका विद्यालयमा सुरक्षित स्थानान्तरण गरिएको छ । खानपान र बसोवासका लागि स्थानीय जनप्रतिनिधि र रेडक्रसले गरेका छन् ।’