मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असोज १ शनिबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा दुई वर्षपछि सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण

Read Time : < 1 मिनेट
२०७९ असोज १ शनिबार १९:११:००

लमजुङमा दुई वर्षपछि सार्वजनिक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ। जिल्लास्तरीय ग्रामीण अस्थायी मार्ग तथा भाडा निर्धारण समितिले लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको हो। 

समितिको बैठकले असोज १ गते शनिबारदेखि लागू हुने गरी एक सय ३३ स्थानका विभिन्न रूटमा चल्ने गाडीको नयाँ भाडादर निर्धारण गरेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले जानकारी दिए। 

यातायात सञ्चालन भइरहेका कतिपय सडकहरूमा भाडादर निर्धारण हुन नसकेपछि बढी भाडा लिइरहेको गुनासो बढेको थियो। गुनासो आएपछि स्थानीय प्रशासनले सरोकारवालाहरूसँग समन्वय गरी नयाँ भाडादर कायम गरेको हो। 

बैठकले सदरमुकाम बेँसीसहरदेखि राजधानी काठमाडौंलगायत पोखरा, चितवन, वीरगन्ज, सुनौलीलगायत लामो दुरीका सार्वजनिक यातायात र जिल्लाभित्रका ग्रामीण सडकहरूमा समेत नयाँ भाडादर निर्धारण गरेको छ। 

नयाँ भाडादरअनुसार न्यूनतम २५ रुपैयाँदेखि जिल्लाभित्रका लागि ७ सय ६० रुपैयाँसम्म भाडादर कायम गरिएको छ। जिल्लाभित्र सबैभन्दा बढी भाडा पाउदीदेखि दुधपोखरीको भुम्लीचोकसम्म सात सय ६० रुपैयाँ कायम भएको छ। जिल्लाबाहिर मनाङ सदरमुकाम चामेसम्म एक हजार पाँच सय र सुनौलीसम्मका लागि ९ सय, वीरगन्जका लागि ८ सय ५० कायम भएको छ। 

त्यसैगरी, काठमाडौंका लागि माइक्रोमा ७ सय १०, बसमा ६ सय ५० रुपैयाँ कायम गरिएको छ। पोखराको लागि पाँच सय रुपैयाँ, नारायणगढका लागि माइक्रोमा ४ सय  ७५  र बसमा चार सय रुपैयाँ कायम भएको छ। जिल्लाकै पुरानो सदरमुकाम कुन्छादेखि काठमाडौंसम्मको माइक्रो भाडा भने ८ सय रुपैयाँ कायम गरिएको छ।