१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ३१ शुक्रबार ०८:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुम्बिनीदेखि पश्चिमी क्षेत्रमा आज र भोलि भीषण वर्षाको सम्भावना, सुदूरपश्चिममा अझ बढी जोखिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ३१ शुक्रबार ०८:०७:००

पछिल्लो एक सातादेखि सक्रिय बनेको मनसुनी वर्षा थप सक्रिय बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनीदेखि पश्चिम क्षेत्रका प्रदेशमा शुक्रबार र शनिबार भीषण वर्षाको सम्भावना छ । 

‘मनसुन सक्रिय नै थियो । तर, भारतको उत्तर प्रदेश आसपासमा न्यूनचापीय क्षेत्र पनि बनेपछि त्यसको असर पश्चिम नेपालमा परेको हो,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले भने, ‘वर्षा त देशभर नै हुने देखिन्छ । तर, आज र भोलि पश्चिमी तराईमा अझ बढी वर्षाको सम्भावना छ ।’ न्यूनचापीय क्षेत्र उत्तर प्रदेश आसपास रहेकाले सुदूरपश्चिमका तराई क्षेत्रमा अझ बढी वर्षाको सम्भावना रहेको उनले बताए ।

मनसुनको न्यूनचापीय रेखा पनि पश्चिमी (नेपालको) भूभागमा सरदर स्थानमा छ । आज देशभर वर्षाको सम्भावना रहे पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी (भीषण) देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने ठानिएको छ ।

शनिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने ठानिएको छ । सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबारबाट भने मौसममा केही सुधार हुने सम्भावना रहेको मौसमविद् भट्टराईले बताए । ‘वर्षा नै नहुने होइन,’ उनले भने । आइतबार देशका केही स्थानमा वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।