मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ३० बिहीबार २२:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डाँका अभियोगमा छुटेलगत्तै ३० लाख डकैत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ३० बिहीबार २२:१२:००

भोजपुरको रामप्रसाद गाउँपालिका– १ का २९ वर्षीय योगेन्द्र तामाङ ३० लाख रुपैयाँ लुटपाट घटनामा पक्राउ परेका छन् । जेलबाट छुटेको पाँच महिनापछि उनी पुनः पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तामाङ दुई वर्षअघि चोरी तथा डाँका अभियोगमा काठमाडौंबाट पक्राउ परेका थिए । अदालतको आदेशपछि उनी पुर्पक्षका लागि जेल बसे । २७ महिनापछि अदालतले उनीसँगै पक्राउ परेका अन्य तीनजनालाई दोषी ठहर गर्याे तर उनी भने निर्दोष साबित भए । 

पाँच महिनाअघि मात्रै जेलबाट छुटेका उनले पुरानो धन्दालाई पुनः निरन्तरता दिए । ३० लाख २३ हजार दुई सय आठ रुपैयाँ लुटपाट घटनामा उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीसँगै चोरी धन्दामा संलग्न सिन्धुली मरिन गाउँपालिका– ३ का ३० वर्षीय देव लामा र रामेछापको सुनापाती गाउँपालिका– १ का २० वर्षीय मीनबहादुर तितुङलाई प्रहरीले पक्राउ गरेको छ । 

कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले तामाङ यसअघि पनि चोरी तथा डाँका अभियोगमा पक्राउ परेको अभियुक्त रहेको बताए । ‘मनी एक्सचेन्जको ३० लाख रुपैयाँ लुटपाट भएको जाहेरीपछि अनुसन्धान सुरु भयो । तीनजना पक्राउ परे । जसमध्ये योगेन्द्र यसअघि पनि पक्राउ परेको देखिन्छ । २७ महिना पुर्पक्षमा जेल बसेका उनी पाँच महिनाअघि मात्रै निर्दोष साबित भएर छुटेका रहेछन् । उनी लुटपाट घटनामा संलग्न रहेको देखिन्छ,’ उनले भने ।

प्रहरीका अनुसार उनीहरूले गत २२ भदौको साँझ ठमेलको ओरियन्टल मनी एक्सचेन्जको कर्मचारीलाई ‘प्रहरी हुँ’ भन्दै ३० लाख रुपैयाँ लुटेका थिए । लुट्नुअघि उनीहरूले सूचना लिने उद्देश्यले एक्सचेन्जको ‘रेकी’ गरेका थिए । तीन दिनको निरन्तर ‘रेकी’पछि उनीहरूले २२ भदौ साँझ एक्सचेन्जका कर्मचारी पछ्याउँदै म्हैपी पुगेका थिए । 

मोटरसाइल रोकी डेरा जाने क्रममा उनीहरूले ‘अनुसन्धान गर्न’ भन्दै कर्मचारीलाई नियन्त्रणमा लिएका थिए । शोभाभगवती पुलमुनि पुगेपछि रकम बोकेको झोला लुटेर उनीहरू फरार भएका थिए । प्रहरीका अनुसार लुटपाटमा अन्य तीन अभियुक्त पनि संलग्न भएको तर उनीहरू फरार छन् । प्रहरीले लुटपाटमा प्रयोग भएका तीनवटा मोटरसाइकलसहित केही रकम बरामद गरेको छ । 

‘लुटपाटको अनुसन्धान गर्ने क्रममा घटनास्थलआसपासका निजी प्रयोजनमा राखिएका सबै सिसिटिभी फुटेज नियन्त्रणमा लिइयो । घटनामा ६ जना संलग्न भएको देखिन्छ । तीनजना पक्राउ परेका छन् । बाँकीको खोजीकार्य जारी छ । लुटपाट गर्नुअघि उनीहरूले पटक–पटक घटनास्थलको ‘रेकी’ गरेको देखिन्छ,’ उनले भने ।

प्रहरीका अनुसार तामाङको कोठाबाट मोटरसाइकलको फर्जी नम्बर प्लेट पनि बरामद भएको छ । तामाङ समूहले चोरी वा डकैत गर्नुअघि मोटरसाइकलमा फर्जी नम्बर प्लेट लगाउने र काम सकेपछि कोठामा लगेर थन्क्याउने गरेको खुलेको छ ।