मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७९ भदौ २९ बुधबार ०९:४८:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

नागोर्नाे–काराबाख क्षेत्रमा तनाव : अजरबैजानले ४९ सैनिक मारेको अर्मेनियाको आरोप 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७९ भदौ २९ बुधबार ०९:४८:००

सन् २०२० मा ६ हप्ताभन्दा कम समय चलेको नागोर्नाे–काराबाख युद्धमा साढे ६ हजारभन्दा धेरैको ज्यान गएको थियो 

दक्षिणी ककेसियन मुलुक अर्मेनिया र अजरबैजानबीच विवादित नागोर्ने–काराबाख क्षेत्रमा हिंसात्मक झडप भएको छ । यही साता भएको भिडन्तमा अर्मेनियाका ४९ सैनिक मारिएपछि उनीहरूबीच ठूलो स्तरमा युद्ध भड्किन सक्ने खतरा बढेको छ । तर, यो क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्र मान्ने रुसले अर्मेनिया र अजरबैजानबीच मध्यस्थता गरेर युद्धविराम गराएको दाबी गरेको छ । तत्कालका लागि यी मुलुक युद्धबाट पछि हटेकोजस्तो देखिएको छ । 

नागोर्नाे–काराबाख क्षेत्रमा अर्मेनिया र अजरबैजानबीच लामो समयदेखि सीमा विवाद थाती छ । सन् १९८८ यता उनीहरू सीमा विवादलाई लिएर थुप्रैपटक युद्ध र हिंसात्मक झडपमा पुगेका छन् । सीमा विवादलाई लिएर सन् २०२० मा भएको युद्धमा सो क्षेत्रमा दसौँ हजारको ज्यान गएको आकलन गरिन्छ । ६ हप्ताभन्दा कम समय चलेको सो युद्धमा साढे ६ हजारभन्दा धेरै सैनिकको हताहती भएको थियो । युद्ध चर्किंदै गएपछि अर्मेनियामा सैन्य आधार शिविर भएको रुसले यी दुई मुलुकबीच शान्ति सम्झौता गराएको थियो । तनाव बढ्न नदिन रुसले सो क्षेत्रमा दुई हजारभन्दा धेरै शान्तिकर्मी पनि तैनाथ गरेको थियो । त्यसयता यी दुई मुलुकबीच वेलावेलामा छिटपुट हिंसाका घटना भइरहेकै थिए ।

पछिल्लो सीमा संकट भने अजरबैजानका सेनाले सन् २०२१ देखि अर्मेनियाको सुइनिक तथा गेघारकुनिक प्रान्तको ४१ वर्गकिलोमिटर भूभागमा कब्जा जमाएपछि थप चर्किएको हो । अमेरिका, इयू, फ्रान्सलगायतको आग्रहका बाबजुद अजरबैजानले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त अर्मेनियाली भूभागबाट आफ्नो सेना हटाएको छैन । दुवै पक्षले युद्ध भड्काएको दोष एकअर्कालाई लगाएका छन् । अजरबैजानले पछिल्लो उक्साहटको दोष अर्मेनियालाई लगाएको छ भने अर्मेनियाले अजरबैजानलाई दोष थोपरेको छ । अजरबैजानका राष्ट्रपति इल्हाम इलियभको कार्यालयले सीमा क्षेत्रमा अर्मेनियाली सेनाको उक्साहटपूर्ण हर्कतलाई आफ्नो सेनाले रोकेको दाबी गरेको छ ।

अजरबैजानले ठूलो स्तरको आक्रमण गर्‍यो : अर्मेनिया
अर्मेनियाका सहायक विदेशमन्त्री भेहे जेभोरग्यानले अजरबैजानले अर्मेनियाको सीमाक्षेत्र र भित्री भूभागमा समेत ठूलो स्तरको सैन्य कारबाही सुरुवात गरेको आरोप लगाएको छ । ‘अजरबैजानले अर्मेनियाली सैन्य संरचनाका साथै गैरसैन्य पूर्वाधारलाई पनि निसाना बनाएको छ,’ जेभोरग्यानले भनेका छन् ।

क्रेमलिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजान र अर्मेनियाबीचको तनाव बढ्न नदिन हरसम्भव प्रयास गरेको र युद्धविराम गराउन सफल भएको भनेको छ । मस्को यतिखेर यो क्षेत्रमा तनाव बढेको हेर्न चाहँदैन । सन् २०२० को युद्धलाई पनि मस्कोले नै मत्थर बनाएको थियो । अजरबैजानको मित्र एवं छिमेकी मुलुक टर्कीले भने अर्मेनियालाई अजरबैजानसँग जोरी नखोज्न चेतावनी दिएको छ ।