१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ भदौ २९ बुधबार ०६:१६:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘बाह्य शक्तिहरूको प्रभाव नभएको शान्त र स्थिर नेपाल चीनको चाहना’

Read Time : > 3 मिनेट
२०७९ भदौ २९ बुधबार ०६:१६:००

शीर्ष नेतासँग चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षको भेटवार्ता

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झाङ्सुले चीन बाह्य शक्तिहरूको प्रभाव नभएको शान्त र स्थिर नेपालको पक्षमा रहेको बताएका छन् । नेपालमा बाह्य शक्तिहरूले शान्ति र स्थायित्व खलबल्याउन खोजेको संकेत गर्दै उनले नेपालको शान्ति चीनको स्थिरता र सुरक्षाका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

नेपाल भ्रमणको भोलिपल्ट मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भएका बेग्लाबेग्लै भेटवार्तामा लीले पश्चिमा प्रभुत्व नेपालले अस्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । लीसँगको भेटमा सबै शीर्ष नेताले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याएका छन् । 

अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग बेग्लै शिष्टाचार वार्ता गरेका थिए ।

अध्यक्ष लीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कार्यान्वयन नगर्ने नेपालको निर्णयको स्वागत गर्दै अमेरिकी सहायता परियोजना (एमसिसी) दुरुपयोग नहोस् भन्नेमा चिन्ता व्यक्त गरेका छन् । भेटमा सहभागी नेताहरूका अनुसार अध्यक्ष लीले एसपिपी नेपालले अस्वीकार गरेकोमा धन्यवाद दिँदै एमसिसी परियोजनाको दुरुपयोग नहोस् भन्नेमा चिन्ता जनाएका हुन् । 

उनले अमेरिकालाई लक्षित गर्दै पश्चिमा प्रभुत्व नेपालले अस्वीकार गर्नुपर्ने पनि बताए । सबै नेताहरूसँग उनले विगतमा भएका सहमतिअनुसार केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन गर्ने र टोखा–छहरे सुरुङमार्ग निर्माणलगायतका सहमति कार्यान्वयन गर्ने वचन दिएका थिए । 

लीसँगको भेटमा सहभागी माओवादी सचिव एवं भूराजनीतिका जानकार सुरेन्द्र (राम) कार्कीले यहाँको भूराजनीतिबारे चिनियाँ नेता ली कूटनीतिक रूपमा प्रस्तुत भएको बताए । ‘उहाँले यो क्षेत्रको शान्ति र स्थिरताले चीनको पनि शान्ति र स्थिरतामा असर पर्ने बताउनुभएको थियो,’ कार्कीले नयाँ पत्रिकासँग भने, ‘लीको बाह्य शक्तिहरूको प्रभाव नभएको शान्ति र स्थिरता नेपालमा कायम होस् भन्ने स्पष्ट सन्देश थियो ।’ 

सबै भेटवार्तामा जनकंग्रेसका अध्यक्ष लीले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको बताए । नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै लीले नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैँ सम्मान गर्ने बताए । ‘एक चीन नीति र चीनको सुरक्षा चासोमा नेपाल सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गर्नुभयो,’ परराष्ट्र मन्त्रालयद्वारा मंगलबार साँझ जारी विज्ञप्तिमा छ । सबै भेटवार्तामा लीले नेपाली भूमि कुनै पनि मुलुकविरुद्ध गतिविधि हुन नदिने नीतिका लागि नेपाललाई धन्यवाद दिए ।

चिनियाँ अनुदान स्वागत गर्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले जनकंग्रेस अध्यक्ष लीलाई नेपालमा चिनियाँ लगानी र अनुदानको स्वागत गर्ने बताए । दुई देशबीच परम्परागत सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री देउवाले नेपालको प्राथमिकता ऋणभन्दा पनि अनुदान भएको स्मरण गराएका थिए । 

विभिन्न परियोजना कार्यान्वयन गर्ने चिनियाँ आश्वासनपछि प्रधानमन्त्री देउवाको जवाफ थियो, ‘हामी चिनियाँ अनुदान स्वागत गर्छौँ ।’ प्रधानमन्त्री देउवाले एमसिसी आर्थिक अनुदान भएको भन्दै यसको दुरुपयोग नहुनेमा आश्वस्त हुन लीलाई आग्रह गरेका थिए । 

प्रधानमन्त्री देउवाले अध्यक्ष लीलाई नेपालले चीनबाट ऋण नभएर अनुदानको अपेक्षा नगरेको सन्देश दिएका थिए । नेपालले परम्परागत रूपमा एक चीन नीति अपनाएकोमा देउवाको लीले प्रश्ांसा गरेका थिए । भेटमा सहभागी परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले नयाँ पत्रिकासँग भने, ‘करिब एक घन्टा लामो कुराकानीमा द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा नेपाली विद्यार्थी फिर्ता गर्ने, दुई देशबीच उडान सुचारु गर्ने, सीमा बन्दरगाह सुचारुलगायत दुई देशबीचका समसामयिक मुद्दामा गहन छलफल भएको छ ।’ 

परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्षले एक चीन नीतिप्रति नेपालको अडान र नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धताको प्रशंसा गरेको छ । अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड– १९ को संक्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा बन्दरगाहहरू खोल्ने आश्वासन दिएका छन् । चीनले चाहेर नभई महामारीको बाध्यताका कारण सीमानाका बन्द गर्नुपरेको लीको जवाफ थियो । 

सहमति कार्यान्वयनमा ओलीको जोड 

अध्यक्ष ओली नेतृत्वको सरकारका वेला चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भएको उल्लेख गर्दै लीले त्यसवेला भएका सम्झौता कार्यान्वयनमा चीन प्रतिबद्ध रहेको बताए । उनले बिआरआई कार्यान्वयनमा पनि प्रतिबद्धता जनाएका थिए । ओलीले विगतमा भएका सम्झौता र सहमति कार्यान्वयनमा जोड दिएका थिए । 

एमाले विदेश विभागका उपप्रमुख कृष्णबहादुर केसीका अनुसार अध्यक्ष लीले चिनियाँ राष्ट्रपति सीद्वारा अध्यक्ष ओलीलाई पठाइएको शुभकामना सन्देश सुनाएका थिए । ‘लीले चिनियाँ कम्युनिस्ट पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष ओलीलाई निमन्त्रणा गर्नुभएको छ, ओलीले राष्ट्रपति सीलाई शुभकामना व्यक्त गर्नुभयो,’ भेटवार्तामा सहभागी केसीले नयाँ पत्रिकासँग भने । 

ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिमा मित्रराष्ट्रविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाए । केसीका अनुसार अध्यक्ष ओलीले स्वतन्त्र र सार्वभौम मुलुक नेपालको परराष्ट्र नीतिको आधार असंलग्नता रहेको स्पष्ट पारेका थिए । उनले चीनको विकास र प्रगतिमा खुसी व्यक्त गर्दै यसको प्रतिफल नेपाललाई पनि प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । 

अध्यक्ष ओलीले नेपाल र चीनबीचका सीमानाका खोल्ने निर्णयप्रति खुसी व्यक्त गर्दै छिटो कार्यान्वयनमा लैजान आग्रह गरे । अध्यक्ष ओलीले चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई छिट्टै स्वदेश फर्काउन सहयोगका लागि आग्रह गरे । 

व्यापार घाटामा प्रचण्डको चासो 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनीतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानीका लागि चिनियाँ नेता लीसँग आग्रह गरे । उनले नेपालमा चीनसँग व्यापार घाटा असन्तुलित भएकोमा पनि चासो राखेका थिए । 

बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उनको भनाइ थियो । प्रचण्डले बिआरआईलगायतका परियोजनामार्फत भइरहेका आयोजनाहरूको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका थिए । 

अध्यक्ष लीले नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न आफ्नातर्फबाट सरकारलाई ध्यानाकर्षण गर्ने आश्वासन दिएका छन् । प्रचण्डले माओवादी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध कूटनीतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको उनको भनाइ थियो । प्रचण्डले सिपिसीको २० राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे ।

बिहीबारदेखि केरुङ नाका खुल्ने
चीनले बिहीबारदेखि रसुवागढी–केरुङ सीमानाका खोल्ने भएको छ । तिब्बतमा कोभिड– १९ महामारीका कारण रोकिएका कन्टेनर बिहीबारदेखि केरुङ नाकाबाट नेपाल पठाउन लागिएको हो । चीनले २५ भदौबाट सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट सीमित संख्यामा कन्टेनर नेपालतर्फ पठाउन थालेको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झाङ्सुले सोमबार सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डलसित सीमानाका दसैँअघि नै जतिसक्दो छिटो खुला गर्ने र नेपाली सामान चीनबाट पठाइदिने आश्वासन दिएका थिए । ‘सबै पक्षको सकारात्मक प्रयासबाट चीन सरकारले बिहीबारदेखि केरुङ नाका खोल्ने निर्णय गरेको जानकारी दिएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले नयाँ पत्रिकासँग भन्यो ।