मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ भदौ २७ सोमबार १२:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

झुन्डिएको अवस्थामा विद्यार्थीको शव फेला, हत्या गरेर झुन्ड्याइएको आफन्तको आशंका

Read Time : > 1 मिनेट
२०७९ भदौ २७ सोमबार १२:२४:००

सिराहाको लहान नगरपालिका– ६ श्रीराम कोलोनीस्थित भाडाको घरमा सञ्चालन गरिएको होस्टेलमा बस्दै आएका विद्यार्थीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर कक्षा १२ मा पढ्दै आएका राजन पासवानको शव सोमबार बिहान होस्टेलमै झुन्डिएको अवस्थामा भेटिएको हो।

उनी करिब १० महिनादेखि होस्टेलमा बस्दै आएका थिए। पासवान सप्तरीको कल्याणपुर नगरपालिका– ७ कल्याणपुरका अशोक पासवानका जेठा छोरा हुन्। पढाइमा अब्बल रहेकाले हत्या गरेर झुन्ड्याइएको हुन सक्ने मृतक राजनका ठूलोबुबा विलेक्षण पासवानको आशंका छ।

सप्तरीको शम्भुनाथ नगरपालिका– १२ का करिब २१ वर्षीय मुकेश यादवले ताहिर अन्सारीको घरको भुइँ र पहिलो तला भाडामा लिएर करिब तीन वर्षदेखि होस्टेल सञ्चालन गर्दै आएका थिए। पासवानसहित आफूहरू तीनजना कुराकानी गरेर रातको करिब १२ बजे सुत्न गएको यादवको भनाइ छ। ‘बिहान छिमेकीहरूले होहल्ला गरेपछि बाहिर हेर्दा होस्टेल रहेकै घरको छतबाट नाइलनको डोरीमा करिब १५ फिट तल झुन्डिएको अवस्थामा शव भेटिएपछि होसहवास नै उड्यो,’ यादवले भने।

घर निर्माणमा बालुवा गिटी छतमा लैजान प्रयोग गरिने नाइलनको मोटो डोरीलाई दोब्बर गरेर होस्टेलको दोस्रो तलामाथि पानीट्यांकी राख्न बनाइएको छतको पिल्लरमा बाँधेको अवस्थामा पासवानको शव झुन्डिएको अवस्थामा भेटिएको हो। बच्चाले लगाउने निलो रंगको गन्जीले उनको मुख बाँधेर त्यहीमाथि एउटा र घाँटीमा अर्को डोरी कसिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाँटीमा लत्रिएको अवस्थामा सेतो रंगकाे मोबाइलको इयरफोनसमेत पाइएको छ।

होस्टेलमा सञ्चालक मुकेशससहित बोदेबर्साइन नगरपालिका– ६ घर भएका करिब २१ वर्षीय सनम यादव, मृतक पासवान र यादवद्वयका आफन्त पर्ने आठजना र अन्य पाँचजना गरी १६ जना बस्दै आएका थिए। सनम र मुकेश पनि त्यही क्याम्पसमा विज्ञान विषयमा स्नातक तहमा अध्ययन गरिरहेका छन्। ‘आइतबार सँगै क्याम्पस गएका थियौँ । राजनले मलाई सञ्चो भएन भनेपछि दिउँसो अटोरिक्सा चढेर होस्टेल आयौँ,’ मुकेशले भने, ‘राम्रै कुराकानी गरेर सुतेको साथी यस्ताे होला भनेर सोचेको पनि थिइनँ।’

इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक कोमल ठाकुरका अनुसार घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। ‘आफन्तले धरान पठाउने भनिरहनुभएको छ, सम्बन्धित परिवारले कहाँ पठाउने भन्ने यकिन गरेपछि प्रहरीले पोस्टमार्टमका लागि पठाउँछौँ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्र के भएको हो  यकिन भन्न सकिन्छ।’